झापामा पाँच तारे होटल सञ्चालन गरिरहेको भेगास सिटीको व्यापारमा उछाल, एक वर्षमै गर्‍यो साढे ४४ करोड आम्दानी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

झापामा पाँच तारे होटल सञ्चालन गरिरहेको भेगास सिटीको व्यापारमा उछाल, एक वर्षमै गर्‍यो साढे ४४ करोड आम्दानी



काठमाडौं । पूर्वी नेपालको झापामा सञ्चालित पहिलो पाँचतारे क्यासिनो एकीकृत रिसोर्ट ‘होटल मेची क्राउन’ (भेगास सिटी इन्टरटेनमेन्ट प्रालि) को व्यवसायमा उत्साहजनक वृद्धि देखिएको छ।

कम्पनीले आर्थिक वर्ष २०२५ मा ४४ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गर्न सफल भएको छ, जुन अघिल्लो वर्ष २०२४ को २९ करोड ३० लाख रुपैयाँको तुलनामा झन्डै ५२ प्रतिशतको वृद्धि हो ।

पछिल्लो चार वर्षको तथ्याङ्क हेर्दा सन् २०२२ मा १८ करोड ७० लाख र २०२३ मा २७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको यस होटलको व्यापारिक ग्राफ निरन्तर उकालो लागिरहेको देखिन्छ ।

व्यवसायको आकार बढेसँगै कम्पनीले आफ्नो नाफाको मार्जिनलाई पनि सन्तोषजनक रूपमा कायम राखेको छ। कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा ५७ प्रतिशत रहेको छ ।

यद्यपि यो अघिल्लो वर्षको ५९ प्रतिशत र सन् २०२३ को ६१ प्रतिशतको तुलनामा सामान्य कम देखिए पनि आम्दानीको ठूलो हिस्सा नाफाका रूपमा सुरक्षित राख्न कम्पनी सफल भएको छ ।

होटलले कोठा विस्तार गरेपछि सञ्चालन खर्चमा केही वृद्धि भए तापनि क्यासिनो र कोठा भाडाबाट हुने आम्दानीले नाफालाई सन्तुलनमा राखेको छ ।

कम्पनीको ऋण तिर्न सक्ने क्षमतामा पनि यस वर्ष उल्लेख्य सुधार आएको छ। बैंकको ब्याज भुक्तानी गर्ने क्षमता सन् २०२५ मा २.५ गुणा पुगेको छ । यो सूचक सन् २०२४ मा १.६ गुणा र २०२३ मा १.४ गुणा मात्रै थियो । ब्याजदरमा आएको गिरावट र व्यवसायमा भएको वृद्धिले गर्दा ब्याज तिर्ने क्षमता बलियो भएको हो ।

ब्याजका साथै बैंकको साँवा समेत भुक्तानी गर्न सक्ने क्षमतामा पनि सकारात्मक सुधार देखिएको छ। सन् २०२३ र २०२४ मा १.३ गुणा रहेको यस्तो क्षमता सन् २०२५ मा बढेर १.८ गुणा पुगेको छ । यसले होटल मेची क्राउनले बैंकको नियमित किस्ता (साँवा र ब्याज दुवै) तिर्नका लागि पर्याप्त नगद प्रवाह गरिरहेको पुष्टि गर्दछ।

त्यस्तै, कम्पनीको कुल ऋण र सञ्चालन मुनाफाको अनुपात पनि सन् २०२२ को ११.४ गुणाबाट घटेर सन् २०२५ मा ४.२ गुणामा झरेको छ, जसले कम्पनीको ऋणको जोखिम स्तर कम हुँदै गएको संकेत गरेकाे छ ।

होटलले हालै आफ्नो क्षमता विस्तार गरी कुल कोठा संख्या २०५ पुर्‍याएको छ । प्रति कोठा करिब १ करोड ५ लाख रुपैयाँ लागत लागेको यस परियोजनामा प्रति कोठा ऋण भार ५९ लाख रुपैयाँ रहेको छ ।

पछिल्लो तीन वर्षमा कम्पनीको औसत वार्षिक आम्दानी वृद्धिदर ३३ प्रतिशत रहनु र यस वर्ष सञ्चालन आम्दानीमा ५२ प्रतिशतको उछाल आउनुले पनि रेटिङलाई सकारात्मक बल पुर्‍याएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले भेगास सिटी इन्टरटेनमेन्ट प्रालिलाई ‘एल डबल बी’ रेटिङ प्रदान गरेको छ ।

भारतीय सीमाबाट नजिक हुनु र क्यासिनो सेवा उपलब्ध हुनुले गर्दा यो होटल सीमावर्ती भारतीय शहरहरूको रोजाइमा परेको छ।


प्रतिक्रिया दिनुहोस्