एक वर्षमा डाबर नेपालले गर्यो १५ अर्ब बढीको व्यापार, ६४ प्रतिशत आम्दानी निर्यातबाटै
काठमाडौं । नेपालको स्थापित र अग्रणी बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले एक वर्षमा १५ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।
कम्पनीले सन् २०२५ मा कुल १५ अर्ब ६ करोड २० लाख रुपैयाँ बराबरको वस्तु बिक्री गरेको हो। यो व्यापार अघिल्लो वर्ष सन् २०२४ को तुलनामा १ अर्ब १० करोड ३० लाख रुपैयाँ अर्थात् ६.८२ प्रतिशतले खुम्चिएको हो।
सन् २०२४ मा कम्पनीले १६ अर्ब १६ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
पछिल्ला वर्षहरूमा बलियो व्यापार गर्दै आएको कम्पनीले सन् २०२५ मा भने निर्यात र आन्तरिक बिक्री दुवैमा केही गिरावट व्यहोरेको छ। जुस र पेय पदार्थको क्षेत्रमा बढेको प्रतिस्पर्धा, उपभोक्ताको क्रयशक्तिमा आएको शिथिलता र प्रतिकूल आर्थिक वातावरणका कारण आन्तरिक बिक्रीमा केही संकुचन आएको रेटिङ रिपोर्टमा उल्लेख छ।
यद्यपि, कम्पनीको सञ्चालन नाफा मार्जिन १५.८६ प्रतिशत कायम छ, जुन कम्पनीको ऐतिहासिक औसत १३–१४ प्रतिशतको तुलनामा निकै उत्साहजनक हो।
आर्थिक वर्ष २०२४/२५ मा कम्पनीको व्यापारमा निर्यातको हिस्सा निकै बलियो देखिएको छ। डाबर नेपालले आफ्नो कुल राजस्वको करिब ६४ प्रतिशत हिस्सा निर्यातबाटै प्राप्त गरेको छ।
कम्पनीले मुख्यतया आफ्नो अभिभावक कम्पनी डाबर इन्डिया लिमिटेडलाई मात्रै जुस र हाजमोला जस्ता उत्पादनहरू निर्यात गर्ने गर्दछ। नेपालको कुल निर्यातमा यस कम्पनीले ३.७१ प्रतिशतको योगदान दिँदै मुलुककै ठूलो निर्यातकको रूपमा आफ्नो स्थान सुरक्षित राखेको छ।
व्यापारमा केही उतारचढाव आए पनि कम्पनीको वित्तीय अवस्था अत्यन्त मजबुत छ। सन् २०२५ मा कम्पनीको ब्याज तिर्ने क्षमता ४८.६६ गुणा रहेको छ, जुन अघिल्लो वर्ष ३६.७७ गुणा थियो। कम्पनीको ओभरल गेयरिङ अनुपात मात्र ०.०६ गुणा छ र कम्पनीले हाल कुनै पनि दीर्घकालीन ऋण लिएको छैन।
कम्पनीले कुल ६ अर्ब ६० करोड रुपैयाँ बराबरको अल्पकालीन बैंकिङ कर्जा सुविधाका लागि रेटिङ गराएको छ। केयर रेटिङ्स नेपालले यस कर्जा सुविधालाई ‘केयर-एनपी ए वन प्लस’ रेटिङ पुन: पुष्टि गरेको छ।
बारामा कारखाना रहेको यस उद्योगले आफ्नो उत्पादन क्षमतालाई समेत व्यापक विस्तार गरिरहेको छ। हाल वार्षिक ९५ हजार किलोलिटर जुस उत्पादन क्षमता रहेकोमा यसलाई बढाएर साढे ४ लाख किलोलिटर पुर्याउने लक्ष्य राखिएको छ। कम्पनीले ९ अर्ब ६८ करोड रुपैयाँको थप लगानीमार्फत आफ्ना उत्पादन एकाइहरूको आधुनिकीकरण र क्षमता विस्तारको काम गरिरहेको छ।
चुनौती र जोखिम
व्यापारिक र वित्तीय रूपमा सबल देखिए पनि कम्पनीले केही गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ। कम्पनीको कुल आम्दानीको करिब ७० प्रतिशत हिस्सा खाद्य खण्डमा मात्र केन्द्रित हुनुले व्यवसायमा विविधीकरणको जोखिम देखाउँछ।
यस्तै, कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव, डलरको विनिमय दरमा हुने परिवर्तन र चर्को प्रतिस्पर्धा कम्पनीका लागि मुख्य चुनौती हुन्।
उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको ठूलो हिस्सा आयातमा निर्भर हुनुपर्ने र १०९ दिनको लामो सञ्चालन चक्रका कारण कम्पनीको व्यवसाय उच्च कार्यशील पूँजीमा आधारित छ। यसका अतिरिक्त, वैदेशिक रोजगारीका कारण युवा जनसंख्या पलायन हुँदा आन्तरिक बजारमा उपभोग घट्नु र सरकारी नीति तथा नियमनमा हुने फेरबदलले पनि कम्पनीको व्यवसायलाई प्रभावित पारेको छ।
सन् १९८९ मा स्थापित यो उद्योग भारतको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी डाबर इन्डिया लिमिटेडको ९७.५० प्रतिशत लगानी रहेको सहायक कम्पनी हो। यसले रियल, डाबर, हाजमोला र वाटिका जस्ता ब्रान्डमार्फत नेपाली र अन्तर्राष्ट्रिय बजारमा आफ्नो दरिलो उपस्थिति जनाएको छ। कम्पनीले नेपालभर ३०० भन्दा बढी वितरकमार्फत १ लाख खुद्रा पसलसम्म आफ्ना उत्पादनहरू पुर्याउँदै आएको छ।













