होलीको ऐतिहासिक प्रमाण र किम्बदन्तीबारे हामीलाई के थाहा छ ?
काठमाडौं । रंग, उमङ्ग र वसन्तको आगमनसँगै मनाइने होली पर्व केवल रङ खेल्ने उत्सव मात्र होइन, हजारौँ वर्ष पुरानो धार्मिक, सांस्कृतिक र ऐतिहासिक परम्परासँग जोडिएको पर्व हो।
इतिहासले देखाउँछ कि होली केवल धार्मिक आस्थाको पर्व मात्र होइन, सामाजिक समन्वय र सामूहिक उत्सवको प्रतीक पनि हो। वसन्त ऋतुको आगमनसँगै पुराना मनमुटाव बिर्सेर सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा होलीलाई लिइँदै आएको छ।
रङ, संगीत र उत्सवको आवरणभित्र लुकेको होलीको ऐतिहासिक यात्रा आज पनि समाजमा सांस्कृतिक निरन्तरता र परम्पराको जीवन्त प्रतीक बनेको छ।
होलीको इतिहास प्राचीन ग्रन्थहरूमा विभिन्न रूपमा उल्लेख छ:
होलाका: पूर्व मिमांसा दर्शनका रचयिता जैमिनी र शबरका अनुसार यसको सुरुवाती नाम ‘होलाका’ थियो। ‘काठकगृह्य’ नामक पुस्तकमा ‘राका होला के’ भनेर उल्लेख गरिएको छ । भारतीय टीकाकार देवपालले यस सूत्रको व्याख्या गर्दै भनेका छन्, ‘स्त्रीहरुको सौभाग्यका निम्ति राका (पूर्णचन्द्र वा चन्द्रदेव)को नाममा मनाइने उत्सव नै होलाका हो ।’
साहित्यिक सन्दर्भ: सातौँ शताब्दीका राजा हर्षवर्धनका नाटक (रत्नावली र प्रियदर्शिका), महाकवि कालिदासका कृतिहरू (ऋतुसंहार र कुमारसंभवम्) मा वसन्तोत्सवको व्यापक वर्णन छ।
वात्स्यायनले आफ्नो पुस्तक कामसूत्रमा लेखेका छन्, ‘पुरा भारत (उपमहाद्वीप)मा प्रचलित २० खेल (क्रिडा)मध्ये एक होलिका हो ।’
कामसूत्र एवम् भविष्योत्तर पुराणले यस पर्वलाई वसन्त ऋतुसँग जोडेका छन् । चन्द्रमास क्यालेन्डरमा फाल्गुन पूर्णिमा वर्षकै अन्तिम पूर्णिमा हो । त्यसैले प्रेम र यौवनको ऋतु मानिने वसन्तलाई स्वागत गर्ने उत्सवका रुपमा पनि यसलाई व्याख्या गर्ने गरिन्छ ।
धार्मिक ग्रन्थ: लिंग पुराणले यसलाई ‘फाल्गुनिका’ र वराह पुराणले ‘पटवास–विलासिनी’ (अबीरको पर्व) भनेका छन्।
फाल्गुने पौणमासी च सदा बालविकासिनीज्ञेया फाल्गुनिका सा च ज्ञेया लोकर्विभूतये ।। –लिंगपुराण
अर्थात्, फागुन पूर्णिमाको यो पर्वले बालबालिकाले खेल्ने र मानिसहरुलाई यसले विभूति (ऐश्वर्य) प्रदान गर्छ । वराह पुराणमा यसै पर्वलाई ‘पटवास–विलासिनी’ भनिएको छ ।
फाल्गुने पौर्णिमास्यां तु पटवासविलासिनीज्ञेया सा फाल्गुनी लोके कार्या लोकसमृद्धये ।। –वराहपुराण
‘पटवास–विलासिनी’को अर्थ चूर्ण अर्थात् धूलो रङ्ग वा अबीरको पर्व हो । फाल्गुन पूर्णिमामा यस्तो उत्सव मनाउँदा संसारमा समृद्धि आउने भनिएको छ ।
अरु कहानी
राजा रघुको जमाना : ईश्वीको १३ औं शताब्दीमा वर्तमान हैदरावाद इलाकामा पर्ने देवगिरिका प्रधानमन्त्री हेमाद्रिले भविष्योत्तर पुराणलाई उद्धरण दिएर एउटा कथा लेखेका छन् । युधिष्ठिर र कृष्णको सम्बाद गाँसिएको उक्त कथामा भगवान श्रीरामका अग्रज राजा रघुको जमानाबाट होलि पर्व मनाउन सुरु गरिएको उल्लेख छ ।
कृष्ण काले : कयौं कथहरु त राधाकृष्णमा पनि ठोक्किएका छन् । कथाअनुसार एक पल्ट कृष्णले आफू कालो र राधा गोरी भएको भनेर माता यशोदासँग गुनासो गरे । माताले हैरान भएर एक दिन राधालाई पनि रङ्ग दल्न भनेपछि कृष्णले राधाका साथै सबै गोपिनीलाई रङ्ग दलिदिएर मथुराबाट होलि सुरु भयो ।
पूतनाको दूध : कतैकतै चाहीँ कंसले आफ्ना भान्जा कृष्णलाई मार्न राक्षसी पूतनालाई पठाए । पूतनाले दूध चुसाइन् । कृष्णले दूध चुसेरै उनलाई मारिदिए । त्यसपछि पूतनाको शरीर गायब भयो । मथुराका गाइपालक किसानले पुत्ला बनाएर लास जलाए र उत्सव मनाए ।
कामदेव भष्म : शिव पार्वतीको कथा पनि यसमा गाँसिएको छ । सत्यदेवीको अंगपतनपछि तपस्यामा लीन रहेका शिवलाई कामदेवले कामवाण चलाए । जवाफमा शिवले कामदेवलाई नै भष्म गरिदिए । त्यसपछि शिव र पार्वतीको विवाह भयो । यसरी वासनायुक्त आकर्षणका प्रतीक कामदेव भष्म भएपछि शिव र शक्तिबीच पवित्र प्रेम फलिभूत भयो भन्ने कथा छ । त्यसै प्रसङ्गमा होली मनाउन थालिएको बताइन्छ ।
मनुको जन्मदिन : मनुस्मृतिमा संसारको पहिलो मानव ‘मनु’ यस धर्तिमा जन्मिएको नै फाल्गुपूर्णिमाका दिन रहेको उल्लेख गरेको छ । भगवान विष्णुको चौंथो अवतार भनिने ‘नरनारायण’को जन्मदिन पनि फाल्गुन पूर्णिमा नै भएको उल्लेख पाइन्छ ।
साहित्य : सातौं शताब्दीका राजा हर्षवर्धनका नाटकहरु रत्नावली र प्रियदर्शिकामा होलिका प्रसङ्ग भेटिन्छ । महाकवि कालिदासका कुमारसंभवम् तथा मालविकाग्निमित्रम् लगायत ग्रन्थमा यसका प्रसङ्ग छन् । कालिदासले अफ्नो प्रथम कृति ऋतुसंहारमा त पुरा एक सर्ग नै ‘वसन्तोत्सव’लाई समर्पित गरेका छन् । हिन्दि साहित्यको पहिलो महाकाब्य ‘पृथ्वीराज रासो’मा पनि चंदबरदाईले होलिको वर्णन गरेका छन् ।
होलिको पौराणिक इतिहास
होलीको सबैभन्दा चर्चित कथा हिरण्यकशिपु र उनका पुत्र प्रह्लादसँग जोडिएको छ। सत्य युगमा हिरण्याक्ष र हिरण्यकशिपु नामका दुई दाजुभाइ असुर थिए । ऋषि कश्यप र दितीका सन्तान यी हिरयण्याक्ष (सुनौलो आँखा भएको) दैंत्यले ब्रह्माको तपस्या गरेर ‘अजन्मा (आमाको कोखबाट नजन्मिएको) पशुका अलवा अरु कसैले मार्न नसक्ने’ वरदान प्राप्त गरे । त्यसपछि उनले स्वर्गसहित तिनै लोकमा शासन गरे ।
तिनै हिरण्याक्षले पृथ्वीलाई जलमा डुबाइदिएपछि भगवान विष्णुले वराह (बँदेल) अवतार लिएर धर्तिलाई पानीको गहिराइबाट माथि ल्याएका थिए भनिन्छ । विष्णुले सोही वराह रुपमा हिरण्याक्षलाई मारिदिए । त्यो देखेपछि उनका भाइ हिरण्यकशिपु (सुनले शरीर ढाकेको) ले विष्णुसँग बदला लिनका लागि ब्रह्माको घोर तपस्या गरे ।

दाइको पराजयबाट सिकेर उनले अझ बढी सुरक्षित हुने विकल्प खोजे । उनले ब्रह्मा जीसँग अनौठो वर मागे । ‘मेरो मृत्यु न जल, न स्थल, न आकाश कतै पनि नहोस् । न घर भित्र मरूँ, न घर बाहिर मरूँ । न दिनमा मरूँ न रातमा मरूँ । न स्त्री न पुरुष कसैको हातबाट मृत्यु नहोस् । न सुर, न असुर, न मनुष्य न पशु कसैद्वारा नमरूँ । न शस्त्रले मरूँ, न अस्त्रले मरूँ ।’
ब्रह्माजीबाट यस्तो वरदान पाएपछि उनले आफूलाई ‘अजेय’ सम्झिए । तपस्या पुरा गरेर फर्किएपछि उनकी पत्नी कयाधुलाई इन्द्र आदी देवताले हरण गरेका थिए भनेर उनले थहा पाए । हिरण्याक्ष र हिरण्यकशिपुको पराक्रमबाट त्रसित भएका देवताहरु उनको पुत्रसँग झनै तर्सिएका थिए । त्यही डरले ‘गर्भमै मारिदिने’ योजनामा गर्भवती कयाधुको अपहरण गरेका थिए ।
इन्द्रले त्यस अघि पनि हिरण्यकशिपुकी आमाको गर्भमा प्रवेश गरेर गर्भलाई ७ टुक्रा बनाइदिएका थिए । दितीको बुहारीको गर्भ पनि त्यसै गरी नास गर्ने योजनामा देवताहरु अघि बढेपछि देवऋषि नारदले उनीहरुलाई रोके । इन्द्रले मुनीको आश्रममा कयाधुलाई छाडेर गएपछि नारदले गर्भवती अवस्थामै भागवत दिक्षा दिए । गर्भमा रहेको बच्चाले त्यही ज्ञान सुन्यो जन्मेपछि पनि त्यसैलाई जीवनको आदर्श बनायो ।
उता हिरण्यकशिपुले पत्नीलाई फिर्ता ल्याए र आफ्नी पत्नीको अपहरण गर्ने इन्द्रमाथि हमला गरेर स्वर्ग विजय गरे । पुनः तिनै लोक कब्जा गरे र वैदिक व्यवस्थामा उलटफेर ल्याउन थाले । दाइको मृत्युपछि पुनः त्रिलोक कब्जा गरेका हिरण्यकशिपुले आफैंलाई ‘भगवान’ घोषित गरे । उनले लामो समय तिन लोकको शासन गरे ।
उनले अरु असुरजस्तो यज्ञ गर्न रोक लगाएनन्, बरु यज्ञमा हवन गर्दा ‘हिरण्याय नमः’ भन्न लगाए । यसले पुरा यज्ञको फल उनले प्राप्त गर्न थाले । पौराणिक इतिहासमा सबैभन्दा सशक्त रुपमा स्वर्गको शासन कब्जा गर्ने असुरमध्ये यी दाजुभाइको इतिहास उनीहरुको नामजस्तै स्वर्णिम छ । ब्रह्माण्ड पुराणका अनुसार १० करोड ७२ लाख ८० हजार वर्ष राज्य गरेका थिए ।

तर पछि उनकै छोरो प्रल्हाद विष्णुको भक्त भएर आउँछन् । उसले आफ्ना बुबालाई पनि विष्णु नै महान हुन्, उनको शरणमा जानुस् भनेर सुझाव दिन थाल्छ । आफैंलाई भगवान घोषित गरेका हिरण्यकशिपुलाई छोराको यस्तो व्यवहार सैह्य हुँदैन । उनले छोरालाई अनेक तरहले सम्झाउने कोसिस गर्छन् ।
वैदिक गुरुकुलमा गएर नराम्रो शिक्षा लियो भन्ने अन्दाजमा उनले असुर गुरु शुक्राचार्यसँग पढ्न पठाउँछन् । त्यहाँ पनि केही परिवर्तन नभएपछि उनले सैनिकलाई आफ्नै छोराको हत्या गर्न आदेश दिन्छन् ।
छोरा प्रल्हादलाई मार्न सैनिक र उनको परिवारले पनि ठूलै कोसिस गर्छ । आमा कयाधुबाहेक परिवारमा प्रल्हादको पक्षमा बोल्ने कोही हुँदैन । उनलाई कहिले भीरबाट खसाल्छन्, कहिले विष खुवाउँछन्, कहिले तान्त्रिक शक्तिद्वारा मार्न लगाउँछन् त कहिले जिउँदै चितामा जलाउँछन् । अनेकौं प्रयास गर्दा पनि मार्न नसकेपछि अन्त्यमा आफैं मार्न भनेर हिरण्यकशिपु तम्सिन्छन् ।
उनले छोरालाई प्रहार गर्नै लाग्दा दरबारको एउटा खम्बा विष्फोट हुन्छ । त्यो खम्बाभित्रबाट सिंहको टाउको र मान्छेको शरीर भएको एक प्राणी निस्कन्छ । त्यसैलाई भवगान विष्णुको नृसिंह (नरसिंह) अवतार भनिन्छ । विष्णुले यस अवतारमा ठूलो युद्ध गर्छन् । हजारौं दैंत्य सेनाको विनास गरेपछि त्यस्तो अवतराले साँझको बेला दरबारको ढोकामा शिरण्यकशिपुलाई आफ्नो काखमा राख्छन् र नंग्राले भूँडी फोरेर मुटु कलेजो निकालेर मार्छन् ।

यसरी हिरण्यकशिपु मारिनुअघि नै उनकी फुपु हुन्छिन्, होलिका । उनलाई आगोले नजलाउने वरदान प्राप्त हुन्छ । त्यसै कारण उनी हरेक दिन अग्नी स्नान गर्छिन् । एक दिन प्रल्हादलाई मार्ने योजनामै होलिकाले आफ्नै भदोलाई काखमा लिएर चितामा बस्छिन् । वरदानका कारण आफू नजल्ने, प्रल्हाद खरानी हुने उनको अनुमान हुन्छ । तर त्यस दिन प्रल्हाद सकुशल निस्कन्छन्, बरु होलिकाको वरदान विफल भएर उनी खरानी हुन्छिन् ।
त्यही होलिका दहनको घटनालाई वैदिक समुदायले उत्सवको रुपमा मनाउँछ । त्यसै दिनको सम्झनामा आज पनि होलि मनाउने गरिएको पौराणिक मान्यता छ । वैष्णवहरुले यस मान्यतालाई बढी चर्चा गरेका कारण पनि यो विषय बढी मुखरर हुँदै आएको कतिपयको बुझाइ छ ।














