पाँच तारे मेरियट होटल सञ्चालन गरिरहेकाे एभरेष्ट हस्पिटालिटीको व्यापार ३ वर्षयताकै न्यून, एक वर्षमा १० प्रतिशतले खुम्चियो आम्दानी
काठमाडौँ । काठमाडौंको नक्सालस्थित पाँचतारे होटल ‘मेरियट ‘ सञ्चालन गरिरहेको एभरेष्ट हस्पिटालिटी एन्ड होटल लिमिटेडको व्यापार पछिल्लो ३ वर्षयता निरन्तर घट्दो क्रममा देखिएको छ।
आर्थिक वर्ष सन् २०२५ मा कम्पनीको व्यापार कुल १ अर्ब ६२ करोड १० लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतको गिरावट हो । सन् २०२४ मा कम्पनीले १ अर्ब ७९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो भने त्यसअघि सन् २०२३ मा भने कम्पनीको व्यापार १ अर्ब ७० करोड १० लाख रुपैयाँ रहेको थियो ।
पछिल्लो समय बजारमा बढेको तीव्र प्रतिस्पर्धाका कारण होटलको अकुपेन्सी दर र औसत कोठा दरमा कमी आउँदा आम्दानीमा केही संकुचन देखिएको हो। सन् २०२४ मा ६७ प्रतिशत रहेको अकुपेन्सी दर सन् २०२५ मा घटेर ६१ प्रतिशतमा झरेको छ । त्यस्तै, औसत कोठा दर पनि सन् २०२४ को १९,६९९ रुपैयाँबाट घटेर सन् २०२५ मा १८,१५३ रुपैयाँ कायम भएको छ ।
कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा ३२.२२ प्रतिशत कायम भएको छ। यसअघि सन् २०२४ मा यस्तो मार्जिन ३४.३९ प्रतिशत र सन् २०२३ मा ३६.९१ प्रतिशत रहेको थियो । नाफा मार्जिनमा केही गिरावट आए पनि स्थापित ब्रान्डका कारण कम्पनीले बजारमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ।
कम्पनीको वित्तीय जोखिम प्रोफाइल र पुँजीगत संरचनामा भने उल्लेख्य सुधार देखिएको छ। सन् २०२५ को अन्त्यसम्ममा कम्पनीको ओभरल गेयरिङ अनुपात सुधारिएर ०.७५ गुणा कायम भएको छ। अघिल्लो वर्ष सन् २०२४ मा यो अनुपात १.०३ गुणा र सन् २०२३ मा १.५४ गुणा रहेको थियो । नियमित रूपमा स्वपुँजी थपिनु र निर्धारित समयभन्दा अगावै बैंकको किस्ता भुक्तानी गरिएकाले ऋणको भार कम हुँदै गएको रिपोर्टमा उल्लेख छ ।
ब्याज तिर्ने क्षमताका आधारमा पनि कम्पनी मजबुत देखिएको छ। सन् २०२५ मा कम्पनीको ब्याज कभरेज अनुपात ४.२१ गुणा पुगेको छ, जुन सन् २०२४ मा ३.३४ गुणा र सन् २०२३ मा २.७३ गुणा मात्र थियो । यस्तै, कम्पनीको कुल ऋण र नगद सञ्चयको अनुपात पनि सन् २०२४ को ४.५६ गुणाबाट सुधार भएर सन् २०२५ मा ३.९५ गुणामा झरेको छ ।
कम्पनीले हाल कुल १ अर्ब ४३ करोड ४४ लाख ९० हजार रुपैयाँ बराबरको बैंक कर्जा सुविधाका लागि रेटिङ गराएको छ । केयर रेटिङ्स नेपालले कम्पनीको दीर्घकालीन कर्जालाई ‘केयर-एनपी ट्रिपल बी प्लस’ र अल्पकालीन कर्जालाई ‘केयर-एनपी ए टू’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीसँग ऋण तिर्ने पर्याप्त क्षमता रहेको र जोखिमको मात्रा मध्यम रहेको संकेत गर्दछ।
व्यापारमा संकुचन आउनुमा नयाँ होटलहरू सञ्चालनमा आएसँगै बढेको तीव्र प्रतिस्पर्धा र त्यसले कोठाको दरमा पारेको दबाब प्रमुख कारण मानिएको छ । साथै, एकल होटलमा आधारित व्यवसाय भएकाले भौगोलिक र आर्थिक उतारचढावको जोखिम कम्पनीमा उच्च देखिन्छ ।
कम्पनीका लागि चलायमान ब्याजदर र अमेरिकी डलरमा लिइएको ऋणका कारण वैदेशिक मुद्रा विनिमय दरमा हुने उतारचढाव अर्को प्रमुख चुनौतीका रूपमा रहेका छन् । यद्यपि, कम्पनीको २८ करोड ७० लाख रुपैयाँ बराबरको पर्याप्त नगद मौज्दात र प्रयोग नभएको कर्जा सीमाले तरलता व्यवस्थापनमा सहजता प्रदान गरेको छ ।
सन् २०१३ मा स्थापना भई २०१९ देखि २१४ वटा कोठासहित सञ्चालनमा आएको यस होटललाई एमएस ग्रुपको अनुभवी प्रवर्द्धक समूह र विश्वविख्यात ‘मेरियट’ ब्रान्डको साथले आगामी दिनमा व्यवसाय विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
















