जगदम्बा अटोको लोभलाग्दो वित्तीय प्रगति, करिव ७ अर्बको वार्षिक व्यापार
काठमाडौँ । शंकर समूह अन्तर्गतको जगदम्बा अटो ग्रुप प्रालीको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ। विगत चार वर्षको तथ्याङ्क अनुसार कम्पनीको सञ्चालन आम्दानीमा निरन्तर सुधार देखिएको छ।
आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा कम्पनीले ४ अर्ब ४२ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ।
आर्थिक वर्ष २०२५ मा कम्पनीको व्यापार करिब ४४ प्रतिशतले बढेर ६ अर्ब ९९ करोड ९० लाख रुपैयाँ पुगेको थियो।
अघिल्ला वर्षहरू २०२३ मा २ अर्ब ७३ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीले २०२४ मा ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो।
व्यापारसँगै कम्पनीको नाफामा पनि उल्लेख्य सुधार आएको छ। आर्थिक वर्ष २०२४ मा ६.०२ प्रतिशत रहेको खुद नाफा मार्जिन आर्थिक वर्ष २०२५ मा बढेर ७.०९ प्रतिशत र २०२६ को पहिलो ६ महिनामा ८.१५ प्रतिशत पुगेको छ।
कुल ऋण र सञ्चालन नाफाको अनुपातमा उल्लेख्य सुधार आएको देखिन्छ, जुन आर्थिक वर्ष २०२३ को ३.१४ बाट घटेर २०२५ मा ०.९२ मा झरेको छ। त्यस्तै, कम्पनीको कुल पूँजी-ऋण अनुपात पनि आर्थिक वर्ष २०२३ मा २.०१ रहेकोमा सन् २०२६ को पहिलो ६ महिनासम्म आइपुग्दा घटेर ०.६८ कायम भएको छ, जसले कम्पनीमा ऋणको भार कम हुँदै गएको देखाउँछ।
यसका साथै कुल बाह्य दायित्व र वास्तविक सम्पत्तिको अनुपात पनि आर्थिक वर्ष २०२५ को १.८४ बाट घटेर चालू आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा ०.९३ मा झरेको छ। यस्तै कम्पनीको नगद प्रवाह र ऋण भुक्तानी क्षमतामा पनि निकै बलियो सुधार देखिएको छ।
अल्पकालीन दायित्व पुरा गर्ने क्षमता दर्शाउने तरलता अनुपात आर्थिक वर्ष २०२५ को १.२८ बाट बढेर सन् २०२६ को पहिलो ६ महिनामा १.७५ पुगेको छ। कम्पनीको ऋण सेवा कभरेज अनुपात आर्थिक वर्ष २०२३ मा १.४३ रहेकोमा आर्थिक वर्ष २०२५ मा ७.३४ र सन् २०२६ को पहिलो ६ महिनामा थप सुधार भई ९.४२ कायम भएको छ। त्यस्तै, ब्याज तिर्न सक्ने क्षमता पनि आर्थिक वर्ष २०२५ को ११.३२ गुणाबाट बढेर ११.५७ गुणा पुगेको छ।
यही सबल वित्तीय सूचकाङ्कहरूका कारण इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले जगदम्बा अटोको साख मूल्याङ्कनमा स्तरोन्नति गरेको छ। एजेन्सीले कम्पनीको ४ करोड रुपैयाँ बराबरको दीर्घकालीन बैंक सुविधाहरूको रेटिङ ‘ट्रीपल बी’ र २ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको अल्पकालीन बैंक सुविधाहरूको रेटिङ ‘ए थ्रि प्लस’ मा स्तरवृद्धि गरेको छ।
सन् २०१४ मा स्थापित जगदम्बा अटो ग्रुप नेपालमा टीभीएस ब्रान्डका सवारी साधनको आधिकारिक एसेम्बली एकाइ हो। कम्पनीले भारतको टीभीएस मोटर कम्पनीबाट सवारीका पाटपुर्जाहरू आयात गरी नेपालमा एसेम्बल गर्दछ। यो कम्पनीको नेतृत्व शंकर ग्रुपका साहिल अग्रवालले गरिरहेका छन्, जो कम्पनीका एकमात्र सञ्चालक हुन्।
कम्पनीले एसेम्बल गरेका सवारी साधनहरू यसकै भगिनी संस्था जगदम्बा मोटर्स प्राइभेट लिमिटेडमार्फत देशभर बिक्री हुने गर्दछन्। जगदम्बा मोटर्स दुई पाङ्ग्रे सवारी साधनको बजारमा ठूलो हिस्सा ओगट्ने आधिकारिक वितरक हो, जसले जगदम्बा अटोको व्यापारमा स्थिरता र निश्चितता प्रदान गरेको छ।
यद्यपि, कम्पनी पूर्ण रूपमा एउटै आपूर्तिकर्ता र एउटै ग्राहकमा निर्भर रहनुलाई मुख्य व्यावसायिक जोखिमको रूपमा हेरिएको छ। बजारमा होण्डा, बजाज, हिरो र यामाहा जस्ता स्थापित ब्रान्डहरूसँगको तीव्र प्रतिस्पर्धा र आर्थिक उतारचढाव मुख्य चुनौती हुन्।
तर, नेपाल सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न अन्तःशुल्कमा ५० प्रतिशत र कच्चा पदार्थको आयात शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेकोले यसले कम्पनीलाई प्रतिस्पर्धी रहन र नाफा जोगाउन ठूलो मद्दत पुर्याएको छ।
















