पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि: पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुग्यो, ग्यास कति ?
काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा पुनः ठूलो वृद्धि भएको छ। नेपाल आयल निगमले शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको हो।
पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर २५/२५ रुपैयाँ वृद्धि गरिएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर १०० रुपैयाँ र आन्तरिकतर्फकाे हवाई इन्धनमा प्रतिलिटर ६ रूपैयाँ बढेकाे छ।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेकाले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूची अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
यससँगै अब तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल) मा पेट्रोलको मूल्य २१९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २०७ रुपैयाँ कायम भएको छ। भने खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ र हवाई इन्धन (आन्तरिक) मा २५७ रुपैयाँ पुर्याइएको छ।
दोस्रो वर्ग (सुर्खेत र दाङ) क्षेत्रमा पेट्रोल प्रतिलिटर २१८ रुपैयाँ तथा डिजेल र मट्टीतेल २०६ रुपैयाँ पुगेको छ। भने पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २१६.५० रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य २०४.५० रुपैयाँ कायम गरिएको छ।
मूल्यवृद्धि पश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४.३६ रुपैयाँ, डिजेलमा १२०.५४ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६.३७ रुपैयाँ घाटा रहेको विज्ञप्तिमा उल्लेख छ। निगमले १५ दिनमा करिब १ अर्ब ७७ करोड रुपैयाँ नोक्सानी व्यहोर्नुपर्ने प्रक्षेपण गरेको छ।
यद्यपि, बढ्दो महँगीको मार कम गर्न सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। यसअघि पेट्रोलमा २५.२३ रुपैयाँ रहेको भन्सार शुल्क अहिले १२.६३ रुपैयाँमा झारिएको छ भने पूर्वाधार कर १० रुपैयाँबाट ५ रुपैयाँ कायम गरिएको छ।













