तीन महिनामा ४६ वटा घट्यो बैंकको शाखा, एटीएम बूथ पनि घटाउँदै
काठमाडौँ । एक समय व्यापक रफ्तारमा वित्तीय पहूँच बढाउने दौड चलेको नेपाली बैंकिङ क्षेत्रले अब आफ्नो सञ्जाललाई एकीकृत र संकुचित गर्न थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले यस्तो देखाएको हो ।
फागुन मसान्तसम्मको वित्तीय पहूँचको विवरणहरुले पछिल्ला चार महिनामा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ४६ वटा कम भइसकेको जनाएको छ । गत कात्तिकसम्म ६ हजार ५२९ शाखाहरु रहेको अवस्था थियो । तर कात्तिकपछि बैंक तथा वित्तीय संस्थाले शाखाको संख्या घटाउन थालेका छन् ।
मंसिरमा २, पुसमा १६, माघमा ९ र फागुनमा १९ शाखा घटाइएको राष्ट्र बैंकको तथ्यांक छ । केन्द्रिय बैंकले महानगरपालिकाहरुमा भएका शाखा गाभ्ने वा स्थानान्तरण गर्ने वा बन्द गर्ने सुविधा बैंकलाई दिएपछि चैतमा पनि यस्ता शाखाहरु बन्द हुने सिलसिला चलिरहेको थियो ।
बैंकका शाखामात्रै होइन, एटीएम बूथहरु पनि घट्न थालेका छन् । अझै यस्ता बूथहरु गत भदौपछि नै घट्न शुरु भएको देखिन्छ । भदौ मसान्तमा ५ हजार २९२ वटा एटीएम बूथहरु थिए, जुन हालसम्मकै सर्वाधिक हो । त्यसपछिका ६ महिनामा ३० वटा एटीएम बूथ घटेको राष्ट्र बैंकको आँकडा छ ।
डिजिटल कारोबार मौलाएको र शहरी क्षेत्रहरुमा क्यूआर भुक्तानी निकै सहज भएपछि अब नगदको कारोबारमा उल्लेख्य कमी आएको छ । फलस्वरुप नगद निकाल्न प्रयोग गरिने प्लास्टिक मनीको उपयोगिता खुम्चिएपछि बैंकहरुले पनि आफ्ना एटीएम बूथहरु घटाउँदै लान थालेका छन् ।
लामो समयसम्म खासै प्रयोगमा नआउने बूथहरु विग्रिन थालेपछि मर्मत गर्नुको साटो हटाइदिने रणनीतिमा लागेको बैंकरले बताए । यसको रमाइलो कुरा चाहीँ शाखा र एटीएमको संख्यामा देखिएको आँकडा पनि हो ।
कोभीड सुरु भएको बेला अर्थात् २०७६ फागुनमा बैंकका एटीएम बूथको तुलनामा शाखाको संख्या असाध्यै धेरै भएको थियो । त्यतिबेला ५६ सयभन्दा धेरै शाखा भएको बैंकिङ सञ्जालसँग ३६ सय हाराहारीमात्रै एटीएम बूथ थिए । अर्थात् शाखा र एटीएम बूथको संख्यामा २ हजारभन्दा पनि ज्यादाको अन्तर थियो ।
तर त्यसपछिको ६७ महिनामा बैंकहरुको एटीएम बूथको संख्या १६३० वटा थपियो र गत भदौमा ५३०० नजिक पुग्यो । तर कोभीड सुरु भएयताका ६९ महिनामा बैंक तथा वित्तीइ संस्थाका शाखाहरुको संख्या ८५८ वटामात्रै बढ्यो ।
गत फागुन मसान्तमा त यी दुबै खाले सञ्जाल संकुचित भएका छन् । अहिले शाखाको संख्या ६४८३ र एटीएम बूथको संख्या ५२६२ मा झरेको छ ।
ओहो, अर्को चाखलाग्दो कुरा चाहीँ बाँकी नै रहेछ । भूकम्पयता बैंक तथा वित्तीय संस्थाहरुको शाखा र एटीएम बूथबीचको संख्या सबैभन्दा नजिकको दूरीमा आएको कहिलो हो त ? राष्ट्र बैंकको आँकडाले भन्छ, त्यो समय २०७४ सालको पुसमा थियो । त्यतिबेला शाखाभन्दा केवल ८३५ वटामात्रै कम एटीएम बूथहरु थिए । उक्त समयको तथ्यांक अनुसार देशैभरी वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको गरेर ३४७३ वटा शाखा र २६३८ वटा एटीएम बूथ थिए ।
त्यसपछि केन्द्रिय बैंकले वित्तीय संघीयतालाई सघाउन भनेर हरेक स्थानीय तहमा बैंकको शाखा विस्तार गर्ने रणनीति लियो । भूकम्प पछिको पून:निर्माण, सामाजिक सुरक्षा भत्ताको बैंकिङ प्रणालीबाट भुक्तानी र स्थानीय तहको कारोबारजस्ता गतिविधीले दुर्गमका वस्तीहरुमा बैंकको शाखा व्यापक विस्तार गरियो । विभिन्न दातृ निकायले पनि सयौँ शाखाहरुको सञ्चालन खर्च धान्न भनेर अनुदान दिने परियोजना चलाए ।
यही आक्रामक शाखा विस्तार रणनीतिले एटीएम र शाखाको संख्यामा देखिएको तालमेल फेरी विगारिदिएको थियो ।
पछिल्ला दुई वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या :

अझ रोचक कुरा त, २०७५ वैशाखमा एक महिनामै बैंकका २२१ वटा नयाँ शाखाहरु खुलेका थिए । अघिल्लो साल पुसमा २०० वटा नयाँ शाखा थपिएका थिए । २०७६ जेठमा पनि १९४ वटा शाखा थपिएका थिए । तर २०७९ पुसमा यस्ता शाखाहरु एकै महिनामा ६५ वटा घट्यो । २०८० वैशाखमा ६३ वटा शाखा घटे । यस्ता घटवढ हुँदै हुँदै आउँदा पछिल्ला चार महिनादेखि भने शाखाको संख्या लगातार ओरालो लागिरहेको छ ।
एटीएम बूथहरुको हिसाब पनि त्यस्तै नै छ । २०७४ पुसमा एकै महिनामा ३५१ वटा नयाँ एटीएम बूथहरु सञ्चालनमा आएका थिए । २०७६ चैतमा २८३ वटा एटीएम बूथ थपिए । २०७४ असोज र २०७६ असोजमा पनि एकै महिनामा २ सयभन्दा ज्यादा नयाँ एटीएमहरु सञ्चालन भए । यसरी ब्यापक रफ्तारमा बढेको एटीएमको संख्या सर्वाधिक ठूलो कटौति चाहीँ हालैका महिनामा परेको होइन ।
२०७९ पुसमा एक महिनामा एटीएम बूथको संख्या ९१ वटा घटेको थियो । २०७५ माघमा पनि ६० वटा एटीएम बूथ कम भएको थियो । ‘प्लस’ र ‘माइनस’को यही खेल खेल्दै खेल्दै आउँदा अब भने बैंकहरु आफ्ना सञ्जाललाई क्रमश: खुम्च्याउने रणनीतिमै लागेको देखिएको छ ।













