‘आमाको मुख हेर्ने’ पर्व धर्तिका अरु कुनाहरूमा कसरी मनाइन्छ ? « Arthapath.com
३० जेष्ठ २०८३, शनिबार

‘आमाको मुख हेर्ने’ पर्व धर्तिका अरु कुनाहरूमा कसरी मनाइन्छ ?



काठमाडौँ । नेपाली समाजमा मातातीर्थ औँशी वा आमाको मुख हेर्ने दिन एउटा रोचक पर्व हो । नयाँ वर्षको सुरुआतमै मनाइने यो पर्वले आफ्नी जननीप्रति कृतज्ञता दर्शाउनमा हामी कति विनम्र छौँ भन्ने देखाउँछ ।

झ्वाट्ट देख्दा काठमाडौँ उपत्यकाको पर्वजस्तो लाग्ने यो चाड अब देशभरी फैलिएको छ । हिमाल, पहाड, तराईमात्रै होइन, संसारभर छरिएर रहेका नेपालीहरुले यो पर्वलाई विशेष महत्व दिने गर्छन् । खासगरी विवाहित छोरीले माइतमा गएर आमाको मुख हेर्ने चलन छ ।

तर ‘मातृ सम्मान’मा आधारित पर्व हामी नेपालीहरुले मात्रै मनाउने चाहीँ होइनौँ । संसारका भिन्न भिन्न सभ्यता र समाजमा आमाप्रति कृतज्ञता जनाउने अनेकौँ यस्ता उत्सव र पर्वहरु छन् । रिति र परम्पराहरु छन् । त्यस्ता पर्व र उत्सव मनाउने तौरतरिकाहरु भने हरेक समाजले आफ्नो अनुकुलतामा विकास गरेका छन् ।

आज हामी नेपालमा मनाइने ‘मातातिर्थे औँशी’ जस्तै संसारका कुनाकुनामा कसरी कसरी आमाको सम्मान र सेवा गरेर पर्व मनाइने रहेछ भन्ने जानकारी खोज्छौँ र तपाइँमाझ साझा गर्छौँ । यसले हाम्रो पर्वप्रतिको गर्व त बढ्छ नै, संसारले आमालाई कसरी सम्झने रहेछ भन्ने नयाँ र पहिले नसुनिएका कथाहरु पनि थाहा हुने छ ।

एउटा अर्को रोचक कुरा चाहीँ आमाको सम्झना र सम्मानमा मनाइने संसारका अधिकतर पर्वहरु मे महिना अर्थात् वैशाख–जेठकै आसपासमा मनाइन्छ ।

जापानको ‘हाहा नो हि’

जापानमा आमाको मुख हेर्ने पर्वलाई ‘हाहा नो हि’ भनिन्छ। यो अहिले मे महिनाको दोस्रो आइतबार (यो साल वैशाख २७ मा पर्छ) मनाइन्छ । जापानी समाजमा आमालाई ‘घरको जग’ मानिन्छ। त्यसैले यो पर्वको अवसरमा सन्तानहरूले आमालाई विशेष गरी रातो कार्नेसन फूल दिन्छन्। यो फूललाई त्यहाँ आमाको पवित्र प्रेम, दया, शुद्धता र सहनशीलताको प्रतीक मानिन्छ ।

अरु दिन सधैँभरी आमाले पकाएको खाएर बाँच्ने छोराछोरीले पनि यस दिन घरको भान्छाबाट आमालाई बिदा दिन्छन् । सन्तानहरू मिलेखर आफ्नै हातले खाना पकाउँछन् र आमालाई खुवाउँछन्। यो पर्वले वर्षभरि कामैकाम गरेर थकित भएकी आमालाई विश्राम दिने र सम्मान गर्ने गरेको छ ।

थाइल्याण्डको ‘मदर्स डे’

अचेलको युवा पुस्तामा घुमफिर गर्ने लोकप्रिय गन्तव्यमध्ये एक थाइल्याण्ड बनेको छ । त्यहाँको यौन पर्यटनले संसारको ध्यान खिचेको छ । पट्टयाका गल्लिहरु घुमेका नेपालीलाई त्यो देशमा नारीको अस्मिताको सम्मान हुन्छ भन्नेमा शंका पनि लाग्न सक्ला । तर त्यसो होइन ।

त्यो देशले अगस्ट १२ मा ‘मदर्स डे’ मनाउँछ । भलै यो उत्सव त्यहाँकी एक जना पूर्व महारानीको जन्मदिनको मौकामा जुराइएको हो । तर यो चाडको मुख्य स्वरूप भनेको सन्तानले आफ्नी जननीको पूजा गर्ने नै हो।

यो उत्सवका दिन थाइल्याण्डका विद्यालयहरूमा एउटा भावुक र अनुकरणीय समारोह हुन्छ। प्रत्यक छोराछोरीहरू आफ्नी आमाको अगाडि घुँडा टेक्छन् र आमाको गोडामा शिर राखेर ढोग्छन्। उनीहरूले आमालाई सेतो चमेलीको फूल चढाउँछन् । यो फूललाई त्यहाँ आमाको निस्वार्थ मायाको प्रतीक मानिन्छ।

आमाले पनि सन्तानलाई आशीर्वाद दिन्छिन्। यो दृश्य हाम्रो समाजमा आमाको गोडा ढोग्ने चलनसँग मिल्दोजुल्दो छ। भलै हाम्रातिर (तराई र सुदुरपश्चिमका केही स्थान छाडेर) छोरीले आमाको पाउ छुन मिल्दैन, आमाले छोरीको खुट्टा ढोग्नुपर्छ ।

भियतनामको ‘भु लान’

भियतनामी बौद्ध धर्मावलम्बीहरूले मनाउने यो पर्व पूर्णत: ‘आमाको ऋण’ तिर्ने भावनामा आधारित छ। हामीले नेपालमा ‘आमाको दूधको भारा तिर्न’ मुख हेर्ने भनेजस्तै कथा त्यहाँ पनि पाइन्छ । यस दिन सन्तानहरूले आमालाई घरमा विशेष आदरका साथ राख्छन्, उपहार दिन्छन् र आमाको सुस्वास्थ्यको कामना गर्छन्।

यो पर्वको अर्को आकर्षण चाहीँ गुलाफ फूल हो । यस दिन मानिसहरू छातीमा गुलाफको फूल टाँसेर हिँड्छन्। तर त्यो गुलाफको रङ्ग भिन्न हुनसक्छ । जसको आमा जीवित छिन्, उनीहरूले रातो गुलाफ टाँस्छन् । जसको आमा बितिसकिन्, उनीहरूले सेतो गुलाफ टाँस्छन्।

काठमाडौंको अर्को पर्व गाईजात्रासँग पनि मेल खाने जस्तो देखिने यो पर्व नेपालको मातातीर्थमा मुख हेर्ने प्रचलनसँग ज्यादा मिल्दोजुल्दो छ ।

कोरियाको ‘अबोइनाल’

दक्षिण कोरियामा आमा र बुबाका लागि छुट्टाछुट्टै दिन नछुट्याई मे ८ मा संयुक्त रूपमा ‘अबोइनाल’ मनाइन्छ। त्यहाँको समाज खानपान र लत्ताकपडाबाट अघि बढिसकेको छ । आधुनिक समयमा कोरियालीहरूले आमालाई उपहारस्वरूप कुनै सर सामान वा खानेकुरा नभएर सिधै ‘नगद’ पैसा नै दिने चलन निकै बढेको छ । यसलाई उनीहरूले आमाको व्यक्तिगत स्वतन्त्रता र खुसीको रूपमा लिन्छन्।

जापानमा जस्तै यहाँ पनि कार्नेसन फूलको ठूलो महत्व छ। छोराछोरीले आफ्नै हातले बनाएका फूलहरू पनि आमाबुबाको छातीमा टाँसिदिन्छन्। मातापिताको एकसाथ सम्मान ।

मेक्सिकोको ‘डिया दे ला माद्रे’

मेक्सिकोमा आमालाई परिवारको ‘सुपर हिरो’ मानिन्छ। त्यसैले उनीहरु आमाको सम्मानमा हरेक वर्ष मे १० तारिखमा यो पर्व ‘डिया दे ला माद्रे’ मनाउँछन् । यसको नेपाली अनुवाद गर्दा ‘आमाको दिन’ भन्ने हुन्छ । आमाका नाममा मनाइने पर्वहरुमध्ये संसारकै सबैभन्दा धेरै होहल्ला र उत्साहका साथ मनाइने एउटा पर्व हो यो।

यस दिन बिहानै छोराछोरीहरू परम्परागत संगीत टोली (जसलाई स्थानीय भाषामा ‘मारियाची’ भनिन्छ) लिएर आमाको झ्यालमुनि जान्छन् र ‘लास मान्यानितस’ नामको गीत गाएर आमालाई उठाउँछन्। स्पेनिस भाषाको यो शब्दलाई नेपालीमा उल्था गर्दा ‘बिहानीको सुन्दर समय’ भन्ने अर्थ लाग्छ ।

यो गीत मेक्सिकोमा परम्परागत रूपमा जन्मदिन, आमाको मुख हेर्ने दिन र अन्य विशेष उत्सवहरूमा बिहानै उठ्ने वित्तिकै गाउने गरिन्छ। जापानमा जस्तै त्यहाा पनि यस दिन आमालाई कुनै पनि काम गर्न दिइँदैन। पूरै परिवार रेस्टुरेन्टमा जान्छन् वा घरमै भव्य व्यञ्जनहरु बनाएर भोज गर्छन्।

इथियोपियाको ‘एन्ट्रोस्ट’

यो इथियोपियाली सभ्यतामा आमाको सम्मानमा मनाइने सबैभन्दा ठूलो र महत्वपूर्ण पर्व हो। तर यो पर्व अलि भिन्न छ । यसको समय पनि फरक छ । नेपालमा कात्तिक महिनातिर यो पर्व मनाइन्छ । जब आकाश खुल्छ र धर्ती हरियाली हुन्छ, तब उनीहरू आमाको उत्सव मनाउँछन्। यो उत्सव तीन दिनसम्म चल्छ ।

यसको मुख्य आकर्षण भने मासुको परिकार हो । त्यो पर्वमा घरका छोरीहरुले तरकारी, मसला, नौनी घिउ र फलफूल जुटाउँछन् । छोराहरुको जिम्मेवारी चाही मासु ल्याउनु हुन्छ । भेडा, बाख्रा र अन्य आफ्नो परिवारको इच्छा अनुसारको मासु जुटाइन्छ । थरिथरिका तरकारी, अन्न र मासुलाई एउटै भाँडामा हालेर धेरैबेरसम्म पकाइन्छ । यसलाई ‘हाश’ वा यस्तै नाम दिइन्छ ।

‘हाश’लाई त्यसै पनि खाइँदैन। यसलाई इथियोपियाको राष्ट्रिय परिकार ‘इन्जेरा’ सँग पस्किने चलन छ । ‘इन्जेरा’ भनेको चाहीँ हाम्रातिर पाइने कोदोजस्तै देखिने ‘तेफ’ नामक अन्नबाट बनेको ठूलो र नरम रोटी हो । कोदोको गिलो रोटी जस्तै । एउटा ठूलो थालमा त्यो रोटी (इन्जेरा) पस्किइन्छ र माथिबाट लेदो भएको मासु (हाश) राखिन्छ । त्यसपछि परिवारका सबै मान्छेले त्यही एउटै थाल (नाङ्लो जत्रो)बाट हातैले झिकेर खान्छन् ।

यसको अर्को पाटो चाहीँ भोजसँगै नाचगान र कथा हुन् । भोज तयार भएपछि परिवारका सबै सदस्यहरू कर्मी माहुरीले रानी माहुरी घेरेजसरी आमाको वरिपरि भेला हुन्छन्। उनीहरू आमाको सम्मानमा गीत गाउँछन् र पुर्खाहरूका कथा सुनाउँछन्। यसले रमाइलोमात्रै होइन, आफ्ना पूर्खाको गाथा पुस्ता–पुस्तामा सार्दै लाने ज्ञान हस्तान्तरणको मौका पनि दिन्छ ।

झ्वाट्ट हेर्दा यो पर्व आमाको मुख हेर्ने चाडमा दशैँलाई नै मिसाइदिएजस्तो देखिन्छ ।

इन्डोनेसियाको ‘हारी इबु’

राजनीतिक आन्दोलनबाट सुरु भएको इन्डोनेसियाको पर्व ‘हारी इबु’ हरेक साल डिसेम्बर २२ मा मनाइन्छ । यस दिन त्यहाँका धेरैजसो घरमा ‘नासी कुनिङ’ भनिने पहेँलो चामलको विशेष परिकार पाक्ने गर्छ । यो परिकार घरकी मूल महिला (आमा)को लागि उनका छोराछोरी र श्रीमान् मिलेर पकाउँछन् । धेरै ठाउँमा त छोराछोरीले सार्वजनिक रूपमा आमाको गोडा धोएर आफ्नो श्रद्धा व्यक्त गर्छन्।

नाइजेरियाको ‘ओमुगा’

नाइजेरियाको इग्बो र योरुवा समुदायमा आमालाई ‘सुन’ सँग तुलना गरिन्छ। उनीहरूको एउटा प्रसिद्ध उखान छ– ‘ल्या नि वुरा, बाबा नि जिगी’ अर्थात् आमा सुन हुन् र बुबा ऐना हुन् ।

ती समुदायमा प्रचलित ‘ओमुगा’ चाहीँ हाम्रोजस्तो पर्व होइन, परम्परा हो । यो परम्परा वर्षेनी मनाइँदैन । जब कुनै महिलाले सुत्केरी हुन्छिन्, तब उनकी आमा केही महिनाका लागि छोरीको घरमा आएर बस्छिन्। नेपालमा छोरी नै ‘सुत्केरी बस्न’ माइत जाने चलनको ठीक उल्टो परम्परा हो यो ।

त्यो समयमा सुत्केरी छोरीले आमाको गोडा धोइदिने, आमालाई आराम गराउने र आमाको ममताको बदलामा उनको सेवा गर्ने गरिन्छ। आमाको ‘मुख हेर्ने’ र ‘ऋण तिर्ने’ भनेर अन्यत्र मनाइने उत्सवजस्तै त्यहाँ चाहीँ आमाको सम्मान गर्न सबैभन्दा उपयुक्त समय यही बेलालाई मानिन्छ।

सर्बियाको ‘मातेरिसे’

सर्बिया र बाल्कन क्षेत्रमा क्रिसमस (डिसेम्बर २५) आउनुभन्दा केही दिनअघि ‘मातेरिसे’ नामक अनौठो र रमाइलो उत्सव मनाइन्छ। यो पर्व बडो अचम्मको छ । त्यहाँ छोरीहरुले आमाको स्याहार गर्ने वा गोडा ढोग्ने गर्दैनन् । उल्टै बिहान उठ्ने वित्तिकै छोराछोरीले आफ्नी आमाको गोडा डोरीले बाँधिदिन्छन् । तर यो दण्ड दिनका लागि ‘पाता कसेको’ चाहीँ होइन, रमाइलोका लागि हो।

आमाले आफूलाई त्यो ‘पास’बाट ‘मुक्त’ गराउनका लागि छोराछोरीलाई लुकाएर राखेका मिठाई, फलफूल वा साना उपहारहरू दिनुपर्छ। हाम्रातिर वा अरु धेरै मुलुकमाजस्तो छोराछोरीले आमालाई ख्वाउने होयन । यो एउटा यस्तो खेल हो, जहाँ आमा र सन्तानबीचको प्रेम र ठट्टालाई उत्सवको रूप दिइन्छ।

मादागास्करको ‘फेटिन’नी रेनी’

अफ्रिकाको छुट्टै टापु राष्ट्र मादागास्करमा मे महिनाको अन्तिम आइतबार (यो साल जेठ १० मा) यो पर्व मनाइन्छ । कहिलेकाहीँ ‘पेन्टेकोस्ट’ भनिने इसाईहरुको अर्को पर्वसँग जुध्यो भने यसलाई जुनको पहिलो आइतबार मनाउने चलन छ । यस दिन टाढा–टाढा रहेका सन्तानहरू आफ्नो जन्मघर फर्कन्छन्।

धेरैजसो परिवारहरू बिहानै चर्चमा गएर आमाको सुस्वास्थ्य र दीर्घायुको लागि सामूहिक प्रार्थना गर्छन्। यस दिन आमालाई भान्छाको कामबाट पूर्ण रुपमा छुट्टी दिइन्छ। छोराछोरी र घरका अन्य सदस्यहरू मिलेर मासुका विशेष परिकार र भात पकाउँछन्। मादागास्करमा भातलाई शक्ति र समृद्धिको प्रतीक मानिने हुनाले भोजमा भात अनिवार्य छ।

त्यहाँको समाजमा आमालाई ‘ट्यान्डी’ अर्थात् परिवारलाई जोड्ने ‘केन्द्रबिन्दु’ मानिन्छ । ‘फेटिन’नी रेनी’ को दिन आमाले आफ्ना सन्तानलाई आशीर्वाद दिने र सन्तानले आमाको कदर गर्ने परम्परा छ । तर भान्छामा छुट्टी पाएका छोराछोरीले आमाको हातको खाना खान्छन् र आमाको वरिपरि पूरै परिवार जम्मा हुन्छन् ।

त्यही अवसरमा सन्तानहरूले आमालाई नयाँ लुगा र उपहार दिन्छन्। त्यहाँ आमालाई नगद पैसा सगुनको रुपमा चढाउने चलन निकै लोकप्रिय छ, यसलाई ‘भेला’ (हाम्रातिर दक्षिणा भनेजस्तै) भनिन्छ । यस पर्वलाई आमाप्रतिको कृतज्ञता व्यक्त गर्ने मौकाको रूपमा लिइन्छ।

अमेरिकाका आदिवासी

अमेरिकमा इरोक्वे र नभाजो जस्ता आदिवासी जनजाति समुदायमा आमाको स्थान आध्यात्मिक भन्दा पनि ज्यादा ‘व्यवहारिक’ र ‘सत्ताकेन्द्रित’ छ।

ती समुदायमा परिवारको वास्तविक ‘प्रमुख’ आमा वा हजुरआमा हुन्छिन्। उनीहरूले आमालाई जीवन दायिनीको रूपमा मात्र होइन, ‘वंश र सम्पत्तिको मालिक’को रूपमा चिन्दछन् । त्यहाँ हाम्रोजस्तो ‘पुरुष प्रधान’ होइन, ‘नारी प्रधान’ समाज छ ।

यस्तै नारीप्रधान समाज अन्यत्र पनि छन् । चीनको मोसुओ समुदायमा पनि महिलाले नै परिवार चलाउँछन् । त्यहाँ आमा वा महिलाको हातमा सम्पूर्ण सत्ता र निर्णय अधिकार हुन्छ । भारतको मेघालयका खासी र गारो समुदायमा पनि थर र सम्पत्ति आमाको नामबाट सर्ने गर्छ । विवाह गरेर पुरुष चाहीँ महिलाको घर जान्छन् । तर शासन पुरुषले गर्न सक्ने व्यवस्था त्यहाँ छ ।

अहिले कुरा अमेरिकी जनजातीको हो । ती समुदायका मानिसहरुले हाम्रोमा ‘न्वागी’ खाएजस्तै नयाँ बालीको पहिलो अंश आमालाई खुवाउँछन्।

अन्त्यमा,

यी सबै सभ्यता र समाजका कहानीहरुको सार एउटै देखिन्छ- आमा हुनुको भौतिक र भावनात्मक सुख सबैका लागि उत्तिकै ‘उत्सवमय’ छ। त्यसैले त संसारभर मानिसहरु आमाको सम्मानमा यस्ता पर्वहरु मनाउँछन् र रोचक कहानीहरु तयार पार्छन् ।

सबैका आ–आफ्नै शैली छन् । कतै गोडा धोइन्छ, कतै पहेँलो भात पकाइन्छ, कतै सुनसँग तुलना गरिन्छ, कतै भतेर लगाइन्छ, कतै नाचगान गरिन्छ त कतै डोरीले आमाका गोडा बाँधेर ठट्टा खेलिन्छ ।

फेरि पनि यी अनेक कथाहरुबीच हाम्रो मातातीर्थ औँसीले संसारको सभ्यताका यी सबै संकृतिहरुलाई एकै ठाउँमा मिसाएजस्तो देखिन्छ । हामी महादेवी भवानीको साक्षात्कार गरेजस्तै आफ्नी जननीको ‘मुख हेर्छौँ’ र सामिप्यता जोड्छौँ । लुगाफाटो र मीठामीठा खानेकुरा, चुरापोते जस्ता सौभाग्य सामग्री (मिल्ने भए) लगायतको उपहार आमालाई दिन्छौँ ।

आमाले पनि सन्तानलाई टीका लगाएर आशीर्वाद दिन्छिन् । छोरीहरुलाई दक्षिणा दिन्छिन् । सबै मिलेर रमाइलो गर्छौँ, उत्सव मनाउँछौँ ।

श्रद्धाको त कुरै नगरौँ । आमाप्रतिको श्रद्धाले नै यो पर्वको जग बसाएको छ । हाम्रा लागि यो पर्व आमाको सम्झनामात्रै होइन, श्रद्धा, उत्सव र साक्षात्कार (सामिप्यता)को त्रिवेणी हो । र यही त्रिवेणीमा हामीमात्रै होइन, सिंगो संसारले पौडी खेलिरहेको हुन्छ ।


प्रतिक्रिया दिनुहोस्