लुम्बिनी केवलकारको आम्दानीमा धक्का, पूँजी बढाउन हकप्रद र आईपीओ जारी गर्ने तयारी
काठमाडौं । लुम्बिनी केवलकार लिमिटेडको पछिल्लो चार वर्षको व्यापारिक ग्राफ उतारचढावपूर्ण देखिएको छ।
सन् २०२३ मे २९ बाट सञ्चालनमा आएको यस केवलकारले आर्थिक वर्ष २०२३ मा २ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२६ को मध्य जनवरीसम्म पुग्दा कम्पनीले ५ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन वार्षिक रूपमा विश्लेषण गर्दा अघिल्लो वर्षको तुलनामा करिब १४ प्रतिशतको गिरावट हो ।
वर्ष सन् २०२५ मा भने कम्पनीले १२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेकाे थियाे । यस्तै अघिल्लो वर्ष सन् २०२४ मा कम्पनीकाे आम्दानी आम्दानी उल्लेख्य बढेर १३ करोड ३० लाख रुपैयाँ पुगेको थियो ।
कम्पनीको आम्दानी घटे पनि सञ्चालन नाफाको मार्जिन भने करिब ५० प्रतिशतमा स्थिर रहनु सकारात्मक पक्ष हो । यद्यपि, ऋणको भार र सञ्चालन खर्चका कारण कम्पनी अझै खुद नोक्सानीमै छ। सन् २०२६ को मध्य जनवरीसम्ममा कम्पनीको सञ्चित नोक्सानी चुक्ता पुँजीको करिब १० प्रतिशत पुगेको छ ।
कम्पनीकाे ऋण तिर्ने क्षमता सन् २०२४ र २०२५ मा ०.७ देखि ०.८ गुणाको बीचमा कमजोर अवस्थामा रहेको छ ।
यता कुल वैदेशिक ऋण र नेटवर्थको अनुपात सन् २०२५ मा ०.९ गुणा रहेकोमा सन् २०२६ को सुरुवाती ६ महिनामा ०.६ गुणामा झरेको छ ।
इक्रा नेपालले लुम्बिनी केवलकार लिमिटेडको ‘इश्यूअर रेटिङ’ लाई बी प्लस र इक्रा नेपालले लुम्बिनी केवलकार लिमिटेडको ‘इश्यूअर रेटिङ’ लाई एल बी प्लसमा स्थिर राखेकाे छ।
कम्पनीका अगाडि केवलकार क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र घट्दो यात्रु संख्याका कारण आम्दानीलाई स्थिर राख्नु मुख्य चुनौती देखिएको छ । प्रस्तावित पाँचतारे होटल परियोजना अझै डिजाइन चरणमा रहेकाले यसको निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्ने र बढ्दो लागत व्यवस्थापन गर्नुपर्ने जोखिम रहेको छ ।
होटल परियोजनाका लागि आवश्यक ऋणको अझै पूर्ण व्यवस्थापन भइनसकेकाले थप वित्तीय स्रोत जुटाउनु अर्को कठिन कार्य बनेको छ ।
साथै, पर्यटन क्षेत्रमा हुने मौसमी उतारचढाव र यस क्षेत्रमा रहेका अन्य स्थापित होटलहरूसँगको प्रतिस्पर्धाले भविष्यको नाफामा दबाब पर्न सक्ने देखिएको छ ।
कम्पनीको नेतृत्वमा चन्द्रागिरि र मौलाकाली केवलकार जस्ता ठूला आयोजनाहरू सफल रूपमा सञ्चालन गरिसकेका आइएमई समूहका अनुभवी प्रवर्द्धकहरू रहनलाई यसकाे सबल पक्ष मानिएकाे छ।
यस्तै कम्पनीले हकप्रद सेयरमार्फत पुँजी वृद्धि गरी २३ करोड रुपैयाँ ऋण भुक्तानी गरिएकाले कम्पनीको ऋणको भार र पुँजी संरचनामा केही सुधार आएको छ । प्रवर्द्धक समूहको बलियो वित्तीय अवस्थाका कारण आवश्यक परेको खण्डमा समयमै थप आर्थिक सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ ।
यसका साथै, भविष्यमा निष्कासन गरिने साधारण सेयरले होटल परियोजनाका लागि आवश्यक थप पूँजी जुटाउन र कम्पनीको वित्तीय अवस्थालाई थप मजबुत बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताइएकाे छ।













