उत्पादन र बजार विस्तारमा आक्रामक बन्दै एशियन थाई फुड्स: ६ महिनामै सवा ३ अर्बको व्यापार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उत्पादन र बजार विस्तारमा आक्रामक बन्दै एशियन थाई फुड्स: ६ महिनामै सवा ३ अर्बको व्यापार



काठमाडौँ । नेपालमा विगत २५ वर्षभन्दा बढी समयदेखि प्रीति, रमपम र २ पि एम जस्ता लोकप्रिय ब्रान्डका चाउचाउ उत्पादन तथा बिक्री वितरण गर्दै आएको एशियन थाई फुड्स लिमिटेडले पछिल्लो पाँच वर्षमा आफ्नो व्यापारमा उल्लेख्य प्रगति गरेको छ।

सन् १९९९ मा निजी कम्पनीका रूपमा दर्ता भएको यो उद्योग सन् २०२५ जुनदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । चाउचाउका साथै कुरमकुरा, क्रेजी र मामा ब्राण्डका खाजाहरू तथा गुडलाइफ पेय पदार्थ लगायतका उत्पादनहरू उत्पादन गर्दछ।

कम्पनीको व्यापारिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०२२ मा ४ अर्ब २ करोड ९० लाख रुपैयाँ बराबरकाे व्यापार गरेकाे कम्पनीले आर्थिक वर्ष २०२३ मा बढेर ४ अर्ब ७३ करोड ६० लाख र आर्थिक वर्ष २०२४ मा ४ अर्ब ८६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

आर्थिक वर्ष २०२५ सम्म आइपुग्दा यो आम्दानी बढेर ५ अर्ब ५३ करोड ८० लाख रुपैयाँ पुगेको छ भने चालु आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामा मात्रै कम्पनीले ३ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरिसकेको छ ।

यस उद्योगले आफ्नो बजार विस्तारका लागि हालैका वर्षहरूमा भौगोलिक र उत्पादन विविधीकरणमा ठुलो लगानी गरेको छ । सुनसरीको सोनावपुरमा रहेको पहिलो कारखानापछि कम्पनीले सन् २०२५ मेदेखि पश्चिम नेपालको तौलिहवामा दोस्रो चाउचाउ उत्पादन इकाई सञ्चालनमा ल्याएको छ ।

कम्पनीको वित्तीय स्वास्थ्य र ऋण तिर्न सक्ने क्षमतालाई विश्लेषण गर्दै इक्रा नेपालले हालै नयाँ साख मूल्याङ्कन सार्वजनिक गरेको छ । कम्पनीको ४४ करोड १० लाख रुपैयाँ बराबरको दीर्घकालीन ऋणका लागि ‘एल त्रिपल बी प्लस’ रेटिङ दिइएको छ भने १ अर्ब ५४ करोड ५० लाख रुपैयाँको अल्पकालीन ऋणका लागि ‘ए टु’ रेटिङलाई निरन्तरता दिइएको छ ।

नयाँ कारखाना विस्तारका लागि लिइएको ऋणका कारण सन् २०२४ जुलाईमा शून्य दशमलव ७ गुणा रहेको ऋण र पूँजीको अनुपात सन् २०२६ जनवरीको मध्यसम्म आइपुग्दा २ दशमलव ९ गुणा पुगेको छ । यद्यपि, कम्पनीले आफ्नो पूँजी संरचना सुधार्न थप लगानी भित्र्याउने र साधारण शेयर निष्कासन गर्ने योजना बनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा हुने उतारचढावले कम्पनीको नाफामा प्रभाव पारेको देखिन्छ । मुख्य कच्चा पदार्थका रूपमा प्रयोग हुने गहुँको पिठो र पाम तेलको मूल्य बढ्दा आर्थिक वर्ष २०२५ मा सञ्चालन नाफा घटेर २ दशमलव ९ प्रतिशतमा खुम्चिएको थियो, जुन सन् २०२६ को पहिलो छ महिनामा सुधारिएर ८ दशमलव १ प्रतिशत पुगेको छ ।

नेपालका प्रतिष्ठित व्यावसायिक घराना शारडा र जाजु समूहद्वारा प्रवर्द्धित यस कम्पनीमा आनन्द जाजुको २५ प्रतिशत र महेश कुमार जाजुको करिब २४ प्रतिशत शेयर स्वामित्व रहेको छ । यस्तै श्रीनिवास शारडा, शिवरतन शारडा, राधेश्याम शारडा र पवन कुमार शारडा प्रत्येकको १० देखि ११ प्रतिशतको हाराहारीमा शेयर हिस्सा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्