वित्तीय संकटमा जगदम्बा इन्टरप्राइजेज: झण्डै १६ अर्बको ऋण भारका बीच साढे १४ अर्बमा खुम्चियो व्यापार
काठमाडाैं । नेपालमा स्टिलजन्य तथा निर्माण सामग्रीहरू उत्पादन र बिक्री गर्दै आएको जगदम्बा इन्टरप्राइजेज प्रालिको व्यावसायिक प्रदर्शन पछिल्लो तीन वर्षदेखि लगातार खस्किँदो क्रममा देखिएको छ ।
निर्माण क्षेत्रमा आएको सुस्तता र मागमा भएको कमीका कारण कम्पनीको कुल सञ्चालन आम्दानीमा क्रमिक गिरावट आएको हो ।
सन् २०२३ मा १५ अर्ब ४६ करोड रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको कम्पनीको व्यापार सन् २०२४ मा करिब ४.९८ प्रतिशतले घटेर १४ अर्ब ६९ करोड रुपैयाँमा सीमित भएको थियो । त्यस्तै सन् २०२५ मा पनि व्यापारमा सुधार देखिन सकेको छैन, जहाँ कुल सञ्चालन आम्दानी थप ०.६५ प्रतिशतले ओरालो लाग्दै १४ अर्ब ५९ करोड ४० लाख रुपैयाँमा झरेको छ । तीन वर्षको अन्तरालमा कम्पनीको कुल व्यापारमा करिब ५.६० प्रतिशतको गिरावट देखिएको छ ।
व्यापार घट्नुका साथै कम्पनीको सञ्चालन नाफा दरमा पनि उतारचढाव आएको छ। सन् २०२४ मा ९.०५ प्रतिशत रहेको नाफा दर सन् २०२५ मा घटेर ६.४२ प्रतिशतमा खुम्चिएको छ । कम्पनीको ब्याज भुक्तानी गर्न सक्ने क्षमता सन् २०२४ मा १.३५ गुणा रहेकोमा सन् २०२५ मा सामान्य घटेर १.३२ गुणा कायम भएको छ ।
कम्पनीको ऋण र पुँजीको अनुपात हेर्दा यो निकै उच्च अर्थात् ४.६४ गुणा रहेको छ । नयाँ प्लान्टहरू स्थापनाका लागि लिइएको ऋणका कारण पुँजी संरचनामा ऋणको हिस्सा बढी देखिएको हो ।
यस्तै, कम्पनीको कुल ऋण र नगद प्रवाहको अनुपात सन् २०२४ मा ३४.७२ गुणा रहेकोमा सन् २०२५ मा उल्लेख्य रूपमा बढेर ५२.२७ गुणा पुगेको छ । यसले कम्पनीको ऋण चुक्ता गर्ने क्षमतामा दबाब बढ्दै गएको देखाउँछ ।
यिनै वित्तीय दबाबका बीच केयर रेटिङ्स नेपालले कम्पनीलाइ लङ ट्रम कर्जा १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँका लागि ‘केयर एनपी बीबी ’ रेटिङ दिएको छ । त्यस्तै, १३ अर्ब ९२ करोड बराबरको सर्ट ट्रम लोनका लागि भने यसले ‘केयर एनपी ए ४ प्लस’ रेटिङ दिएको छ ।
कम्पनीले कच्चा पदार्थ आयातमा हुने विदेशी मुद्रा विनिमय जोखिमका कारण सन् २०२५ मा ३ करोड ४० लाख रुपैयाँ नोक्सानी बेहोरेको छ। हाल बजारमा देखिएको सुस्त माग, उच्च कार्यशील पुँजीको आवश्यकता र कच्चा पदार्थमा बढ्दो खर्च कम्पनीका लागि मुख्य चुनौती हुन्। यद्यपि, कम्पनीले सञ्चालनमा ल्याएको नयाँ उत्पादन प्रणालीले भविष्यमा लागत घटाउन र नाफा बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्योगले डन्डी तथा इस्पातजन्य सामग्री उत्पादन गर्दै आएको छ जसमा जगदम्बा र जगशक्ति ब्रान्डका विभिन्न उत्पादनहरू समावेश छन् । टीएमटी डन्डी, एमएस कालो पाइप, जस्तापाता पाइप, तातो रोल गरिएको स्ट्रिप, शटर प्रोफाइल, शटर गाइड, शटर स्प्रिङ, लक प्लेट, प्रिफेब्रिकेटेड भवनका संरचना तथा विभिन्न स्टिल पोलहरू यसका प्रमुख उत्पादन हुन् ।













