अन्योलपूर्ण हालतमा पनि विकास बैंकका शेयरधनीलाई खुसीको खबर, पोहोरभन्दा धेरै वितरणयोग्य नाफा
काठमाडौँ । धेरैलाई लाग्न सक्छ, नाम चलेका ठूला ‘वाणिज्य बैंक’ हरू नै नेपाली अर्थतन्त्रका असली खम्बा हुन्। तर, विगतदेखि नै हाम्रो वित्तीय प्रणालीको तथ्याङ्कले एउटा रोचक कथा सुनाइरहेको छ- जहाँ साना भनिएका ‘विकास बैंक’ हरूका अगाडि ठूला वित्तीय हात्तीहरू पनि थकाइ मारिरहेको आभाष हुन्छ।
सामान्य अर्थमा बुझ्दा बैंकले कमाउने सबै पैसा उसका मालिक अर्थात् शेयरधनीको खल्तिमा जाने होइन । एउटा किराना पसलेले दाल, चामलदेखि अण्डा र चाउचाउसम्म बेचेर कमाएको पैसाले भोलिको लागि सामान किन्ने पुँजी, सटर (पसल) को भाडा र राज्यले लगाउने विभिन्न किसिमका राजस्व तिरेपछि जुन रकम घर लैजान्छ, त्यो नै उसको ‘नाफा’ हो।
तर, बैंकहरुलाई किराना पसलको जसरी नाफाको सबै पैसा मालिकको घर लैजान वा अन्यत्र खर्च गर्न छुट छैन । उनीहरुलाई विभिन्न किसिमका हिसाबहरु देखाउनुपर्ने र नाफाको केही हिस्सा सुरक्षार्थ राखिएका कोषहरुमा जम्मा गर्नुपर्ने निर्देशन राष्ट्र बैंकले दिएको छ । यी सबै नियामकीय व्यवस्थाको पालना गरेर बाँकी बच्ने नाफालाई बैंकले चाहेको अवस्थामा शेयरधनीमा बाँड्न सकिन्छ– त्यो चाहीँ ‘वितरणयोग्य मुनाफा’ हो ।
नेपालका राष्ट्रिय स्तरका ८ वटा विकास बैंकहरूले यस वर्षको ९ महिनामा जुन प्रगति देखाएका छन्, त्यसले ठूला वाणिज्य बैंकहरूलाई पनि सोच्न बाध्य तुल्याएको छ। जहाँ देशका २० वटा ठूला वाणिज्य बैंकमध्ये ६ वटाको ढुकुटी रित्तिएर यस प्रकारको ‘वितरणयोग्य मुनाफा’ ‘ऋणात्मक’ अवस्थामा पुगेको छ, त्यहाँ विकास बैंकहरू भने उत्साहका साथ अगाडि बढेका छन्।
लामो समयदेखिको आर्थिक सुस्तता र अनेकौं प्रतिकुलताका बाबजुद आठमध्ये सातवटा विकास बैंकले नाफाको सुन्दर फल प्राप्त छन्, जुन आफैँमा एउटा ठूलो सफलता हो।
गरिमा र लुम्बिनीको असाधारण दौड
यस कथाका दुई मुख्य पात्र हुन्- गरिमा र लुम्बिनी विकास बैंक। यी दुई बैंकले त झन् ठूला वाणिज्य बैंकहरूलाई नै ऐना देखाइदिएका छन्। लक्ष्मी सनराइज, नेपाल बैंक, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, सिटिजन, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभू, हिमालयन र एनआईसी एसियाजस्ता बैंकहरुले वितरणयोग्य नाफाको प्रतिस्पर्धामा यी दुई बैंकलाई जित्न सकेनन् ।
गरिमा विकास बैंकको वितरण योग्य मुनाफा ६२ करोड ७२ लाख रुपैयाँभन्दा माथि पुग्नु भनेको सामान्य कुरा होइन। यसले आधाआधि वाणिज्य बैंकहरूको नाफालाई उछिनेको छ। त्यस्तै लुम्बिनी विकास बैंकको अवस्था पनि उस्तै लोभलाग्दो छ। उसले प्रतिशेयर साढे १७ रुपैयाँ हाराहारी कमाएको छ, जुन स्ट्याण्डर्ड चार्टर्डकै करीब बराबर हो ।
यो सफलतालाई हेर्दा यस्तो लाग्छ, मानौँ एउटा सानो साइकलले तीव्र गतिमा दौडिरहेको ठूलो ट्रकलाई सजिलै ओभरटेक गरिदियो। यी बैंकहरूले देखाएको यो चमकको अर्को अर्थ के हो भने, ठूलो हुनु मात्र पर्याप्त छैन, सही व्यवस्थापन र ग्राहकसँगको निकटताले नै कठिन समयमा पनि नाफा कमाउन सकिन्छ।
ज्योति र चुनौतीका रङ्गहरू
सफलताका धेरै कथाहरूका बीचमा केही चुनौतीका रङ्गहरू पनि मिसिएका छन्। ज्योति विकास बैंकका लागि यो समय अलि कठिन देखिएको छ। अरु बैंकहरूले नाफाको मिठो स्वाद चाखिरहँदा ज्योतिको वितरण योग्य मुनाफा भने ऋणात्मक देखिएको छ।
यसको अर्थ यो होइन कि बैंक डुब्न लागेको छ, बरु यसको अर्थ यो हो कि उसले आफ्नो किराना पसलको पुरानो ऋण तिर्न वा भविष्यका लागि केही रकम जोगाएर राख्नुपर्ने भएकाले यसपटक शेयरधनीलाई बाँड्ने पैसा पुगेको छैन।
त्यस्तै मुक्तिनाथ र सांग्रिला जस्ता स्थापित नामहरूले पनि अघिल्लो वर्षको तुलनामा आफ्नो नाफामा केही संकुचन महसुस गरेका छन्। यो उकाली-ओराली वित्तीय बजारको एउटा स्वभाविक नियम जस्तै हो, जहाँ कहिले घाम लाग्छ त कहिले बादल मडारिन्छ।
वित्तीय स्वास्थ्य र भविष्यको संकेत
नेपालमा अहिले कुल १७ विकास बैंकमध्ये राष्ट्रिय स्तरमा सञ्चालनमा रहेका विकास बैंकहरुको संख्या ८ छ । यी विकास बैंकहरुले देशका ठूला वाणिज्य बैंकहरुसँग व्यावसायिक प्रतिस्पर्धा गर्ने कोसिस गर्छन् ।
ती विकास बैंकहरूले अहिले एउटा बलियो सन्देश दिएका छन्। उनीहरूले सञ्चालन खर्च, सरकारी राजस्व र राष्ट्र बैंकको कडा नियमहरूको घेराभित्र रहेर पनि आफ्नो अस्तित्व मात्र जोगाएका छैनन्, बरु आफूलाई वाणिज्य बैंकहरूभन्दा स्वस्थ सावित गरिदिएका छन्।
ठूला बैंकहरू सुस्त देखिएको बेला यी विकास बैंकहरूले अर्थतन्त्रको इन्जिनलाई तेल दिने काम गरिरहेका छन्।
लाभको रेखा एकोहोरो पनि छैन । यो परिश्रमको फल तिनै बैंकका शेयरधनीले पनि चाख्न पाउने भएका छन् । औसतमै राष्ट्रिय स्तरका विकास बैंकहरुले १०.७६ प्रतिशत हाराहारी वितरणयोग्य नाफा कमाएको देखिन्छ । जुन, पोहोर साल ८.५ प्रतिशतमात्रै थियो । यसले अहिलेको विकट समयमा पनि विकास बैंकहरु आफ्नो वासलातलाई चुस्त राख्न र शेयरधनिको गोजि अझ बाक्लो पार्न सक्षम रहेको देखाउँछ ।
गरिमा र लुम्बिनीसँगै कामना सेवा र साइन रेसुङ्गाले पनि दोहोरो अंकमा लाभांश बाँड्ने क्षमता बनाएका छन् ।













