हिलटेक प्लास्टिक एन्ड पाइप इन्ड्रस्ट्रिजको व्यापारमा २१ प्रतिशतकाे वृद्धि, ऋणको भारले खुम्चियाे नाफा
काठमाडौँ । नेपालको पाइप तथा फिटिंग्स बजारमा स्थापित ब्रान्ड ‘हिलटेक’ उत्पादक कम्पनी हिलटेक प्लास्टिक एन्ड पाइप इन्ड्रस्ट्रिजको व्यापारिक ग्राफ पछिल्लो चार वर्षयता निरन्तर उकालो लागिरहेको छ।
क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिण नेपालका अनुसार प्रतिकूल आर्थिक वातावरणका बाबजुद कम्पनीले आफ्नो बजार हिस्सा र कारोबार रकममा उल्लेख्य वृद्धि गर्न सफल भएको छ।
कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा कम्पनीको व्यापार २०.५७ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०२४ मा ३५ करोड रुपैयाँ बराबरको कारोबार गरेको कम्पनीले आर्थिक वर्ष २०२५ मा कुल ४२ करोड २० लाख रुपैयाँको व्यापार गर्न सफल भएको हो।
यसअघि आर्थिक वर्ष २०२२ मा ३३ करोड २० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२३ मा ४४ करोड ४० लाख पुर्याएको थियो।
कम्पनीले विशेषगरी नयाँ प्रविधिको ‘पीभीसीओ’ पाइप उत्पादनमा हात हालेपछि यसको व्यावसायिक सम्भावना अझ बलियो बनेको छ। नेपालमा यस्ता पाइप उत्पादन गर्ने सीमित उद्योगहरूमध्ये एक हुनुले हिलटेकलाई बजारमा प्रतिस्पर्धात्मक लाभ मिलेको रिपोर्टमा उल्लेख छ।
पूर्वाधार निर्माण र सरकारी खानेपानी आयोजनाहरूमा पीभीसीओ र एचडीपीई पाइपको माग बढ्दै जाँदा कम्पनीको बिक्री परिमाण र सञ्चालन मुनाफामा पनि सुधार आएको छ। आव २०२४ मा २६.७७ प्रतिशत रहेको सञ्चालन मुनाफा २०२५ मा बढेर ३१.२६ प्रतिशत (१३ करोड २० लाख रुपैयाँ) पुगेको छ।
कम्पनीको व्यापारिक आकार बढे पनि ऋणको भार र उच्च सञ्चालन खर्चका कारण पुँजीगत संरचना कमजोर बन्दै गएको देखिन्छ। विवरण अनुसार कम्पनीको वार्षिक आम्दानीभन्दा बैंक ऋणको सीमा करिब १७ करोड रुपैयाँले बढी छ। विशेषगरी नयाँ प्लान्ट स्थापनाका लागि ठूलो मात्रामा थप ऋण लिइएका कारण कम्पनीको ऋण र स्वपुँजीको अनुपात असन्तुलित बनेको छ।
सन् २०२४ मा १.६४ गुणा रहेको ‘ओभरअल गियरिङ रेसियो’ २०२५ मा चुलिएर ३.१३ गुणा पुगेको छ। यसको अर्थ कम्पनीमा सेयरधनीको १ रुपैयाँ लगानी हुँदा बैंकको ऋण ३ रुपैयाँभन्दा बढी छ।
व्यापारको तुलनामा ऋणको भार बढी हुँदा यसको प्रत्यक्ष असर कम्पनीको खुद नाफामा देखिएको छ। आर्थिक वर्ष २०२५ मा व्यापार २१ प्रतिशतले बढे पनि खुद नाफामा भने झन्डै ९६ प्रतिशतको गिरावट आएको छ। २०२४ मा २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको हिलटेकले २०२५ मा मात्र १० लाख रुपैयाँ नाफा कमाउन सकेको छ।
कम्पनीको ब्याज तिर्न सक्ने क्षमता २०२४ मा ४.३६ गुणा रहेकोमा २०२५ मा ३.७८ गुणामा झरेको छ। त्यस्तै, तत्कालको दायित्व पुरा गर्ने ‘चालु अनुपात’ २.७८ गुणाबाट झरेर १.८३ गुणामा आइपुगेको छ। कुल बाह्य दायित्व र नेटवर्थको अनुपात ३.५३ गुणा पुग्नुले कम्पनीको आम्दानीको ठूलो हिस्सा बैंकको ब्याज र किस्ता तिर्नमै खर्च भइरहेको र यसले आन्तरिक पुँजी निर्माण प्रक्रियालाई चुनौतीपूर्ण बनाएको रिपोर्टले देखाउँछ।
कम्पनीले ७९ करोड रुपैयाँ बराबरको बैंक ऋण सुविधा सीमा राखेर रेटिङ गराएको थियो, जसलाई घटाएर इन्फोमेरिक्सले ५९ करोड २३ लाख रुपैयाँ कायम गरेको छ। रेटिङ एजेन्सीले ४३ करोड २३ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि ‘आईएनआर डबल बी’ र १६ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘आईएनआर एफोर’ रेटिङ पुनः पुष्टि गरेको छ।
इन्फोमेरिक्स नेपालले हिलटेकका अगाडि केही गम्भीर चुनौतीहरू रहेको उल्लेख गरेको छ। कम्पनी कच्चा पदार्थका लागि करिब ८६ प्रतिशत आयातमा निर्भर छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव र डलरको विनिमय दरमा हुने परिवर्तनले कम्पनीको लागत बढाइरहेको छ।
यस्तै कम्पनीको कार्यगत पुँजीको चक्र २९९ दिनसम्म लम्बिएको छ। बजारबाट उधारो उठाउन समय लाग्ने र स्टक धेरै राख्नुपर्ने बाध्यताले नगद प्रवाहमा समस्या देखिन सक्ने चुनौती छ।













