आईएमई ग्रुपकाे लगानीमा बनेकाे नेपालकै ठूलो कागज उद्योगको लोभलाग्दो व्यापार: साढे ३ महिनामै ३० करोड माथि आम्दानी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आईएमई ग्रुपकाे लगानीमा बनेकाे नेपालकै ठूलो कागज उद्योगको लोभलाग्दो व्यापार: साढे ३ महिनामै ३० करोड माथि आम्दानी



काठमाडौँ । नेपालको वित्तीय क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएको आईएमई ग्रुप र उत्पादनमूलक क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभवी एभरेष्ट ग्रुपको संयुक्त लगानीमा स्थापित ‘नेपाल पल्प एन्ड पेपर इन्ड्रस्ट्रिज’ ले परीक्षण उत्पादनको छोटो अवधिमै ३० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ।

सन् २०२१ जनवरी २० मा दर्ता भएको यस कम्पनीले सन् २०२५ जुलाई (२०८२ असार/साउन) देखि प्रिन्टिङ पेपरको पूर्ण व्यावसायिक उत्पादन सुरु गरेको हो।

यसअघि सन् २०२५ अप्रिल १ देखि करिब साढे तीन महिना चलेको परीक्षण उत्पादनका क्रममा कम्पनीले ५० प्रतिशत क्षमता उपयोग गर्दै उत्साहजनक सुरुवात गरेको थियो। सो छोटो अवधिमा भएको ३० करोड २० लाखको व्यापारले उद्योगको व्यावसायिक सम्भावनालाई बलियो देखाएको छ।

परीक्षण उत्पादनको उक्त अवधिमा कम्पनीको सञ्चालन मुनाफा ७.१ प्रतिशत कायम भएको रिपोर्टमा उल्लेख छ। वार्षिक २१ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको यस उद्योगले आगामी दिनमा विभिन्न बैंक, अस्पताल र सरकारी निकायहरूसँग समन्वय गरी आफ्नो बजार विस्तार गर्ने लक्ष्य राखेको छ।

सुरुवाती चरणमा उत्साहजनक देखिए पनि कम्पनीले गम्भीर वित्तीय भार र परियोजना लागत वृद्धिको चुनौती सामना गरिरहेको छ। सुरुमा १ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएकोमा नयाँ मेसिनरी थप र निर्माण अवधि लम्बिँदा परियोजनाको कुल लागत ५६ प्रतिशतले बढेर २ अर्ब २० करोड रुपैयाँ पुगेको छ। परियोजना सम्पन्न हुन भएको ढिलाइले निर्माण अवधिको ब्याज (आईडीसी) समेत बढाएको प्रतिवेदनले देखाएको छ।

पुँजीप्रधान यस परियोजनामा ८० प्रतिशत हिस्सा ऋण र २० प्रतिशत मात्र स्वपुँजी रहेकाले कम्पनीको ऋणको भार निकै उच्च देखिएको छ। सन् २०२५ जुलाईको मध्यसम्मको तथ्यांक अनुसार कम्पनीको ऋण र नेटवर्थको अनुपात (गियरिङ रेसियो) ४.३ गुणा पुगेको छ, जसले गर्दा सञ्चालनको सुरुवाती वर्षहरूमा ऋणको किस्ता र ब्याज तिर्न कम्पनीलाई दबाब पर्न सक्ने देखिएको छ। व्यापार र नाफा स्थिर नभएसम्म ऋण भुक्तानी क्षमतामा दबाब रहिरहने विश्लेषण गरिएको छ।

नेपाल पल्प एन्ड पेपरका लागि विदेशी स्थापित ब्रान्डका कागजहरूको आयात र बजारमा रहेको तीव्र प्रतिस्पर्धा अर्को ठूलो चुनौती बनेको छ। सरकारले आर्थिक वर्ष २०२६ का लागि प्रिन्टिङ पेपरको आयात शुल्क २० प्रतिशतबाट घटाएर १५ प्रतिशत कायम गरेपछि स्वदेशी उद्योगले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न थप कठिन हुने देखिएको छ।

साथै, कागज बनाउन आवश्यक पर्ने पुराना कागज, पल्प र रसायन जस्ता कच्चा पदार्थको मूल्यमा हुने उतारचढावले कम्पनीको नाफालाई प्रभावित पार्न सक्ने जोखिम छ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको ऋणको रेटिङमा स्तरोन्नति गरेको छ। पछिल्लो एक वर्ष (सन् २०२६ अप्रिल मध्यसम्म) कम्पनीले आफ्नो वित्तीय दायित्व समयमै पुरा गरेपछि यसको १ अर्ब ५६ करोड १० लाखको दीर्घकालीन कर्जा रेटिङ ‘एलबी’ बाट बढाएर ‘एलबी प्लस’ कायम गरिएको छ।

त्यस्तै ४३ करोड ६० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘एफोर’ रेटिङलाई पुनः पुष्टि गरिएको छ। यसअघिको रेटिङका क्रममा ऋण भुक्तानीमा ३० दिनसम्मको ढिलाइ देखिएकोमा हाल कम्पनीले वित्तीय अनुशासनमा उल्लेख्य सुधार देखाएको रिपोर्टमा उल्लेख छ।

कम्पनीको व्यापारिक आकार बढ्दै जाँदा अनुभवी प्रवर्द्धकहरूको साथले ठूलो राहत मिलेको छ। एभरेष्ट ग्रुपको कागज उद्योगमा रहेको दशकौँ लामो अनुभव र आईएमई ग्रुपको स्थापित छविका कारण कम्पनीको सञ्चालन पक्ष बलियो हुने इक्रा नेपालको विश्लेषण छ।

कम्पनीको अध्यक्षमा चन्द्रप्रसाद ढकाल रहेका छन् भने मुख्य प्रवर्द्धकहरूमा वन क्यापिटल होल्डिङ्स (३६ प्रतिशत), सुलोचना देवी सर्राफ (२० प्रतिशत), होमनाथ ज्ञवाली (१६ प्रतिशत) र सुनील गोपाल श्रेष्ठ (१५ प्रतिशत) रहेका छन्।


प्रतिक्रिया दिनुहोस्