सर्वोत्तम सिमेन्टको नाफामा ५० प्रतिशतको छलाङः ९ महिनामा ७ अर्ब ७९ लाख आम्दानी, ईपीएस कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सर्वोत्तम सिमेन्टको नाफामा ५० प्रतिशतको छलाङः ९ महिनामा ७ अर्ब ७९ लाख आम्दानी, ईपीएस कति ?



काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडको खुद नाफामा उल्लेख्य सुधार आएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ५०.२० प्रतिशतले बढेर ९० करोड ५८ लाख १३ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६० करोड ३० लाख ३६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार समिक्षा अवधिमा सञ्चालन आम्दानीमा पनि सकारात्मक वृद्धि देखिएको छ। चैत मसान्तसम्म कम्पनीले ७ अर्ब ७९ लाख ७८ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको ६ अर्ब ८१ करोड १४ लाख १० हजार रुपैयाँको तुलनामा बढी हो।

समिक्षा अवधिमा कम्पनीको कुल खर्च ८५ करोड ६१ लाख ८४ हजार रुपैयाँ रहेको छ। जसमा प्रशासनिक खर्च २० करोड ३५ लाख, बिक्री तथा वितरण खर्च ४६ करोड ६३ लाख र वित्तीय खर्च १८ करोड ६३ लाख रुपैयाँ रहेको देखिन्छ। नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) २३.१२ रुपैयाँ कायम भएको छ।

कम्पनीको वित्तीय अवस्था निकै सुदृढ देखिएको छ। हाल ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ६७ करोड ६१ लाख ४८ हजार रुपैयाँ सञ्चित छ। कम्पनीको कुल सम्पत्ति १६ अर्ब ५५ करोड ७ लाख १० हजार रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १९५.९६ रुपैयाँ रहेको छ।

कम्पनीले आफ्नो व्यवस्थापकीय विश्लेषणमा उद्योगको उत्पादन क्षमताको उपयोग वृद्धि गर्दै सञ्चालन र उत्पादन लागत घटाउने रणनीति लिएको उल्लेख गरेको छ। कम्पनीले नेपाली र भारतीय बजारमा उच्च गुणस्तरको सिमेन्ट आपूर्ति गर्ने लक्ष्यका साथ बजार विस्तार गरिरहेको जनाएको छ।

यद्यपि, कम्पनीले केही बाह्य चुनौतीहरू पनि सामना गरिरहेको छ। विश्वको भू-राजनीतिक अवस्थाका कारण कोइला तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा कच्चा पदार्थ उत्खनन र ढुवानी लागत बढेको छ। साथै, आयातित वस्तुको मूल्यमा हुने उतारचढावले उत्पादन लागतमा थप चुनौती थपेको वित्तीय विवरणमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्