रिलायबल समृद्धि योजना–२: साना लगानीकर्ताका लागि सुरक्षित र आकर्षक प्रतिफलको आधार
नेपालको पुँजी बजार र मर्चेन्ट बैंकिङ क्षेत्रमा चार दशकभन्दा लामो अनुभव सँगालेका भीष्मराज चालिसे एक सुपरिचित र स्थापित नाम हो। बैंकिङ र वित्तीय क्षेत्रको नेतृत्वदायी भूमिकामा रहेर ४० वर्षभन्दा लामो समय व्यतीत गर्नुभएका चालिसेसँग सानिमा क्यापिटल, बिओके क्यापिटल र सिभिल क्यापिटल जस्ता प्रतिष्ठित संस्थाहरूको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडको प्रमुख पदका लागिसमेत सिफारिसमा परेका चालिसे हाल रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडको नेतृत्व गरिरहेका छन् ।
रिलायबल क्यापिटलले अहिले आफ्नो दोस्रो बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना–२’ सार्वजनिक निष्कासन (वैशाख २९ गतेदेखि) सुरु गर्दैछ। बजारमा तरलताको अवस्था र शेयर बजारको उतारचढावका बीच यो नयाँ म्युचुअल फण्डले लगानीकर्तालाई कस्तो प्रतिफल देला? साना लगानीकर्ताका लागि सामूहिक लगानी कोष किन सुरक्षित मानिन्छ?
यिनै समसामयिक र प्राविधिक विषयमा केन्द्रित रहेर सिइओ चालिसेसँग अर्थपथले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ:

बजारमा ‘रिलायबल समृद्धि योजना–२’ आउँदैछ। यो म्युचुअल फण्ड विशेष गरी कस्ता लगानीकर्तालाई लक्षित गरेर ल्याइएको हो?
सबैभन्दा पहिले हामीले म्युचुअल फण्ड (सामूहिक लगानी कोष) को मर्म बुझ्न जरुरी छ। यो भनेको छरिएर रहेको स–सानो पुँजीलाई एकत्रित गरी एउटा ठुलो कोष निर्माण गर्ने र त्यसलाई विशेषज्ञहरूको निगरानीमा परिचालन गर्ने माध्यम हो।
विशेष गरी, जोसँग सानो पुँजी छ र शेयर बजारको प्राविधिक ज्ञान वा बजार विश्लेषण गर्ने समय छैन, उहाँहरूका लागि यो सबैभन्दा उपयुक्त प्लेटफर्म हो।
कुन कम्पनीको शेयर कहिले किन्ने वा बेच्ने भन्ने अन्योलमा रहनुभन्दा विज्ञ टोलीलाई आफ्नो पुँजी सुम्पनु बुद्धिमानी हुन्छ। हाम्रो टोलीले कुनै पनि कम्पनीमा लगानी गर्नुअघि त्यसको प्राविधिक पक्ष र ऐतिहासिक लाभांशको सूक्ष्म अध्ययन गर्छ। यसले जोखिम न्यूनीकरण गरी लगानी सुरक्षित र प्रतिफलमुखी बनाउँछ।
’रिलायबल समृद्धि योजना–२’ निष्कासन गर्नुको मुख्य उद्देश्य के हो?
चालिसे: यो रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कोष प्रवर्द्धक र रिलायबल क्यापिटल योजना व्यवस्थापक भएर ल्याइएको फण्ड हो। बीमा कम्पनीहरूसँग संकलित प्रिमियमको ठुलो हिस्सा दीर्घकालीन दायित्वका रूपमा रहने हुनाले उनीहरूका लागि १५–२० वर्षको लगानी योजना आवश्यक पर्छ। यस्तो पुँजीलाई सुरक्षित रूपमा परिचालन गर्न सामूहिक लगानी कोष उत्कृष्ट माध्यम हो।
यसले दोस्रो बजारलाई स्थायित्व दिन पनि सघाउँछ। हाम्रो पहिलो फण्डको प्रदर्शन हेर्नुभयो भने, बजारको उतारचढावका बीच पनि हाम्रो ‘नेट एसेट भ्यालु’ (न्याभ) निकै स्थिर र आकर्षक छ। हामीले राम्रो प्रतिफल दिन सक्ने क्षमता प्रमाणित गरिसकेका छौँ। यो दोस्रो योजनामा पनि हामीले त्यही सफल ढाँचालाई पछ्याउँदै पूर्ण विश्लेषणका साथ लगानी गर्नेछौँ।

शेयर बजारमा कुन कम्पनीको शेयर कहिले किन्ने र कहिले बेच्ने भन्ने अन्योलमा रहनुभन्दा विज्ञ टोलीलाई आफ्नो पुँजी सुम्पनु बुद्धिमानी हुन्छ। सामूहिक लगानी कोष (म्युचुअल फण्ड) त्यसैका लागि हो।
हाम्रो लक्ष्य पहिलो वर्षदेखि नै न्यूनतम १० प्रतिशतबाट लाभांश वितरण सुरु गरेर योजनाको अन्त्यसम्ममा वार्षिक औसत १५ प्रतिशतसम्म प्रतिफल दिने रहेको छ।
सर्वसाधारण लगानीकर्ताले ‘रिलायबल समृद्धि योजना–२’ मै किन लगानी गर्ने? यसबाट कस्तो लाभको अपेक्षा गर्न सकिन्छ?
यो १० वर्षे बन्दमुखी योजना हो। प्रचलित नियमअनुसार म्युचुअल फण्डले नगद लाभांश मात्र वितरण गर्न मिल्छ; यसमा बोनस शेयरको व्यवस्था हुँदैन। हामीले दोस्रो बजारमा लगानी गरेर आर्जन गरेको मुनाफालाई इकाईधनीहरूको लगानीको अनुपातमा न्यायोचित ढंगले वितरण गर्छौँ।
योजनाको परिपक्वता अवधि सकिएपछि बाँकी रहेको सम्पूर्ण रकम पनि समानुपातिक रूपमा फिर्ता गरिन्छ। संक्षेपमा भन्नुपर्दा, विशेषज्ञमार्फत आफ्नो पुँजी परिचालन गराई ढुक्कसँग नगद मुनाफा आर्जन गर्न चाहनेका लागि यो सर्वोत्तम अवसर हो।
लगानीकर्ताले वार्षिक कति प्रतिशतसम्म प्रतिफल पाउन सक्छन्?
हाम्रो विवरणपत्र (प्रोसपेक्टस) मा हामीले स्पष्ट प्रक्षेपण प्रस्तुत गरेका छौँ। हामीले पहिलो वर्षदेखि नै न्यूनतम १० प्रतिशतबाट सुरु गरेर योजनाको अन्त्यसम्ममा २० प्रतिशतसम्म लाभांश वितरण गर्ने लक्ष्य राखेका छौँ।
विगतको अनुभव र बजारको औषत प्रदर्शनलाई आधार मान्दा, १० वर्षको अवधिमा लगानीकर्ताले वार्षिक औसत १५ प्रतिशतको हाराहारीमा प्रतिफल पाउने देखिन्छ। सुरक्षित लगानी खोजिरहेकाहरूका लागि यो निकै उत्साहजनक प्रतिफल हो।
बजारमा म्युचुअल फण्डप्रति सर्वसाधारणको उपस्थिति न्यून र संस्थागत लगानीकर्ताको वर्चस्व देखिन्छ। आम नागरिकको सहभागिता बढाउन के गर्नुपर्ला?
यसमा केही व्यावहारिक र नीतिगत पाटाहरू छन्। म्युचुअल फण्डको महत्त्वबारे नियमनकारी निकायहरूबाटै व्यापक जनचेतना फैलाउनु जरुरी छ। लगानीकर्ताले इतिहास हेर्नु आवश्यक छ; नेपालमा स्वीकृत म्युचुअल फण्डहरूले विगतमा कस्तो प्रतिफल दिएका छन्, त्यो तथ्याङ्क नै प्रमाण हो।
हामी एउटै क्षेत्र वा कम्पनीमा मात्र केन्द्रित नभई लगानी विविधीकरण गर्छौँ। यदि प्रतिफल राम्रो नहुने भए ठुला संस्थागत लगानीकर्ताले करोडौँ रुपैयाँ लगानी गर्ने थिएनन्। उनीहरूले यसको सुरक्षा र कार्यप्रणाली बुझेका छन्। अहिले पनि करिब ४० देखि ५० हजार साना लगानीकर्ता सहभागी हुनुहुन्छ, जुन सकारात्मक हो।
तर हामी चाहन्छौँ, संस्थागत लगानीकर्ताले जस्तै आम नागरिकले पनि यो विज्ञताको लाभ उठाएर आफ्नो पुँजी सुरक्षित गरून्।
अहिले बजारमा पर्याप्त तरलता छ, यसलाई लगानीकर्ताका लागि अवसर मान्न सकिन्छ?
तरलता हुनु सकारात्मक पक्ष हो, तर बैंक तथा वित्तीय संस्थाहरूले नीतिगत बन्देजका कारण सबै रकम एउटै क्षेत्रमा खन्याउन मिल्दैन। तर एउटा यथार्थ के हो भने, अहिलेसम्म जति पनि संस्थाहरूले म्युचुअल फण्डमा लगानी गरेका छन्, उनीहरू नतिजाबाट अत्यन्तै खुसी छन्।
दोस्रो बजारमा व्यक्तिगत रूपमा शेयर कारोबार गर्दा घाटा भयो भन्नेहरू धेरै भेटिन्छन्, तर म्युचुअल फण्डका इकाईमा लगानी गरेर डुबेको उदाहरण छैन। सधैँ बजारको अवस्था एउटै रहँदैन, तर १० वर्षको अवधिलाई हेर्ने हो भने यसले आकर्षक र सन्तुलित प्रतिफल दिने सुनिश्चितता प्रदान गर्दछ।
अस्थिर बजारमा व्यक्तिगत जोखिम लिनुभन्दा विज्ञहरूमार्फत व्यवस्थित लगानी गर्नु नै वास्तविक अवसर हो।
शेयर बजारको पछिल्लो उतारचढावका बीच नयाँ फण्ड ल्याउनु जोखिमपूर्ण कार्य होइन?
जोखिम विनाको व्यापार संसारमा कतै हुँदैन। तर व्यक्तिगत लगानी र सामूहिक लगानी कोषको जोखिम व्यवस्थापन पूर्णतः फरक हुन्छ। हामीले लगानी गर्दा कहिल्यै एउटै क्षेत्रमा ध्यान केन्द्रित गर्दैनौँ। हामीसँग ठुलो पुँजी हुने भएकाले बजारका हरेक सुरक्षित र आकर्षक क्षेत्रमा लगानी फैलाउन (विविधीकरण गर्न) सक्छौँ।
एउटा क्षेत्रमा गिरावट आउँदा अर्को क्षेत्रको वृद्धिले त्यसलाई सन्तुलनमा राख्छ। व्यक्तिगत लगानीकर्तासँग सीमित पुँजी हुने भएकाले उसले चाहेर पनि धेरै कम्पनीमा लगानी बाँड्न सक्दैन। त्यसैले, उतारचढावपूर्ण बजारमा त झन् यस्ता फण्डहरू लगानीका लागि उत्कृष्ट र सुरक्षित माध्यम हुन्।
रिलायबल क्यापिटलको आगामी योजना र बजारमा ल्याउने ‘इनोभेसन’ के हुन्?
हाम्रो दीर्घकालीन लक्ष्य बिस्तारै ‘ओपन इन्डेड’ (खुलामुखी) फण्डतर्फ अगाडि बढ्ने हो। तर त्यसअघि संस्थागत रूपमा अझ बढी दिगो हुन र लगानीकर्ताको विश्वास जित्न आवश्यक छ। केही ‘क्लोज इन्डेड’ फण्डहरू सफलतापूर्वक सञ्चालन गरेर आफ्नो कुशलता प्रमाणित गरेपछि हामी अर्को चरणमा जानेछौँ।
हामीसँग साना लगानीकर्ताहरूको ठुलो सञ्जाल छ। उहाँहरूकै हितलाई मध्यनजर गर्दै, एउटा बलियो आधार तयार भएपछि हामी निश्चित रूपमा बजारमा नवीन वित्तीय उपकरणहरू लिएर आउनेछौँ। हाम्रो मुख्य उद्देश्य लगानीकर्ताको पुँजी सुरक्षित राख्दै अधिकतम लाभ प्रदान गर्नु नै हो।
















