७० करोड ऋणभार बोकेको अन्नपूर्ण हेलिकप्टर अझै घाटामा, सञ्चालन खर्च धान्नै मुस्किल - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

७० करोड ऋणभार बोकेको अन्नपूर्ण हेलिकप्टर अझै घाटामा, सञ्चालन खर्च धान्नै मुस्किल



काठमाडौं । अन्नपूर्ण हेलिकप्टर प्रालिको व्यावसायिक कारोबारमा संकुचन आएको छ। कम्पनीको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०२४ को तुलनामा अन्नपूर्ण हेलिकप्टरको आम्दानी १० लाख रुपैयाँले घटेको हो ।

सन् २०२४ मा ४ करोड ८० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले गत आर्थिक वर्ष २०२५ मा ४ करोड ७० लाख रुपैयाँको मात्रै व्यापार गर्न सफल भएको छ । सन् २०२३ मा भने कम्पनीको कारोबार ३ करोड १० लाख रुपैयाँमा सीमित थियो ।

सन् २०१७ मा स्थापना भई २०२२ देखि व्यावसायिक उडान सुरु गरेको यस कम्पनीले हालसम्म नाफा कमाउन सकेको छैन । प्रतिवेदन अनुसार कम्पनीले हेलिकप्टर सञ्चालनमा ल्याएदेखि नै निरन्तर नगद घाटा व्यहोरिरहेको छ । उच्च निश्चित सञ्चालन खर्च, विमानको मर्मत सम्भारमा हुने ठूलो खर्च र न्यून उडानका कारण कम्पनीको सञ्चालन नाफा मार्जिन र ब्याज कभरेज अनुपात लगातार ऋणात्मक रहँदै आएको छ ।

कम्पनीले आफ्नो सेवा विस्तारका लागि हेलिकप्टरको संख्या थपे पनि त्यसले आम्दानीमा ठोस योगदान दिन सकेको देखिँदैन । सन् २०२५ मे देखि दोस्रो र सन् २०२६ अप्रिल देखि तेस्रो हेलिकप्टर सञ्चालनमा ल्याएको कम्पनीले नयाँ विमान खरिदका लागि ठूलो वैदेशिक ऋण लिएको छ । सन् २०२४ मा कुल ऋण र पुँजीको अनुपात ०.३० गुणा रहेकोमा सन् २०२५ मा यो बढेर १.४२ गुणा पुगेको छ ।

हाल कम्पनीले विभिन्न बैंकहरूबाट लिएको कुल ७० करोड ७२ लाख ३० हजार रुपैयाँ बराबरको ऋणका लागि रेटिङ गराएको छ । यस अन्तर्गत ७० करोड २२ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि ‘बी’ र ५० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘एफाेर’ रेटिङ पुनः पुष्टि गरिएको छ । ७० करोडभन्दा बढीको ऋणभार र वार्षिक ४ करोड ७० लाखको मात्रै व्यापारले कम्पनीको ऋण तिर्न सक्ने क्षमतामा ठूलो चुनौती देखिएको छ ।

पर्यटन क्षेत्रमा हुने मौसमी उतारचढाव, नागरिक उड्डयन प्राधिकरणको कडा नियामक प्रावधान र बैंकको अस्थिर ब्याजदर कम्पनीका लागि थप जोखिमका विषय बनेका छन् ।

यद्यपि, ज्ञानेन्द्र श्रेष्ठको नेतृत्वमा रहेको अनुभवी व्यवस्थापन टोली र सरकारले घोषणा गरेको ‘पर्यटन दशक (२०२३-२०३३)’ ले आगामी दिनमा व्यावसायिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । कम्पनीले हाल चार्टर, रेस्क्यू र तीर्थयात्रा उडानका सेवा दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्