वैश्विक यौन बजारमा अर्बौं डलरको साम्राज्य कसरी बन्यो भन्ने तपाइँलाई थाहा छ ?
डिजिटल प्रविधिको विस्तारसँगै विश्वव्यापी वयस्क मनोरञ्जन उद्योग भौतिक कोठाबाट खुम्चिएर स्मार्टफोनको स्क्रिनमा अर्बौँ डलरको संस्थागत साम्राज्य बन्न पुगेको छ। तथ्याङ्कहरूले के देखाउँछन् भने, यो बजारको विस्तार र संकुचन नैतिक मूल्यभन्दा बढी देशको आर्थिक विपन्नता, प्रविधि र कानुनी नियमनको संरचनामा निर्भर गर्दछ।
काठमाडौं । डिजिटल प्रविधिको अभूतपूर्व विकाससँगै वयस्क मनोरञ्जन अर्थात् ‘पोर्नोग्राफी’ संसारकै सबैभन्दा बढी नाफा कमाउने अनलाइन उद्योगहरूमध्ये एक बनेर उभिएको छ।
बजार अनुसन्धान संस्था द बिजनेस रिसर्च कम्पनीको बैंकिङ तथा वित्तीय विश्लेषण प्रतिवेदन ‘एडल्ट इन्टरटेनमेन्ट ग्लोबल मार्केट रिपोर्ट २०२६’ अनुसार, विश्वव्यापी ‘पोर्नोग्राफी’ बजारको आकार सन् २०२५ मा ७१.६३ अर्ब अमेरिकी डलर पुगेको थियो, जुन सन् २०२६ मा बढेर करिब ७८.१० अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ।
यो उद्योग वार्षिक ८.९ प्रतिशतको दरले वृद्धि हुँदै सन् २०३० सम्ममा १०९.८३ अर्ब डलर पुग्ने प्रक्षेपणले यसभित्र लुकेको विशाल डिजिटल साम्राज्यको हैसियतलाई दर्शाउँछ।
विगत एक दशकमा यो बजारमा ठूलो संरचनात्मक परिवर्तन आएको छ, जहाँ सन् २०१५ सम्म स्थापित प्रडक्सन हाउस र भीसीआर क्यासेट वा डीभीडी बिक्रीमा निर्भर रहेको यो व्यवसाय अहिले पूर्ण रूपमा ‘डाइरेक्ट-टु-कन्जुमर’ मोडेल र डिजिटल सब्सक्रिप्सनमा रूपान्तरण भएको छ।
पोर्नहब, एक्सभिडियोज्, एक्सएनएक्सएक्स जस्ता संस्थागत वित्तीय कम्पनीहरूको स्वामित्वमा रहेका नि:शुल्क भिडियो स्ट्रिमिङ प्लेटफर्महरूले अनलाइन विज्ञापन र प्रिमियम मेम्बरसिपमार्फत अर्बौँको राजस्व संकलन गरिरहेका छन् ।
पछिल्लो समय अन्ली-फ्यान्स र फ्यान्स्ली जस्ता क्रिएटर-आधारित सब्सक्रिप्सन प्लेटफर्महरूले परम्परागत स्टुडियो प्रणालीलाई विस्थापित गरिदिएका छन्। केवल एउटै यस्तो प्लेटफर्मले वार्षिक ५ अर्ब डलरभन्दा बढीको वित्तीय कारोबार रेकर्ड गर्नुले उपभोक्ताहरू सिधै सिर्जनाकर्तालाई मासिक शुल्क भुक्तानी गरेर विशेष सामग्री हेर्न बढी आकर्षित भइरहेको देखाउँछ।
भौगोलिक हिसाबले उत्तर अमेरिका यो बजारको सबैभन्दा ठूलो हिस्सा ओगट्ने क्षेत्र हो भने एशिया-प्यासिफिक क्षेत्र, विशेष गरी भारत, जापान र दक्षिण कोरिया, इन्टरनेट र स्मार्टफोनको तीव्र पहुँचका कारण सबैभन्दा द्रुत गतिमा बढिरहेको बजारका रूपमा पहिचान गरिएको छ।
कसरी तयार पारिन्छ भिडियो ?
यसको रमाइलो पक्ष के हो भने, ‘पोन भिडियो’ हेर्ने आम उपभोक्ता वा दर्शकलाई यी भिडियोहरु एकै शटमा वा प्राकृतिक रूपमा खिचिन्छन् भन्ने गहिरो भ्रम छ । तर वास्तविकता त्यस्तो हुँदैन । यस्ता भिडियोहरु निर्माण गर्ने प्राविधिक यथार्थ चाहीँ सामान्य कलिउड वा हलिउड सिनेमा निर्माण जस्तै जटिल, नियन्त्रित र सम्पादित हुन्छ।
वयस्क विधाका चलचित्रहरू तयार पार्न पूर्व–निर्धारित पटकथा बनाइएको हुन्छ । धेरैवटा क्यामेराहरु सेटअप गरिएको हुन्छ । अत्याधुनिक प्रकाश प्रणाली (लाइटिङ सिस्टम) हुन्छ । भिडियो खिचिसकेपछि पनि त्यसमाथि निकै धेरै काम हुन्छ । कठोर पोस्ट–प्रडक्सन सम्पादनको लामो प्रक्रिया अपनाइन्छ ।
धेरै पल्ट खिचिएका भिन्न भिन्न भिडियोलाई काँटछाँट गरेर जोडिन्छ । स्क्रिनमा देखिने केवल २० देखि ३० मिनेटको एउटा दृश्यका लागि सेटमा कलाकार र प्राविधिकहरूले कम्तीमा ४ देखि ८ घण्टासम्म निरन्तर र कठिन शारीरिक श्रम गर्नुपर्ने हुन्छ।
क्यामेराको कोण परिवर्तन गर्न, प्रकाश मिलाउन र कलाकारहरूलाई शारीरिक एवं मानसिक रूपमा सहज बनाउन निर्देशकले सेटमा पटक-पटक छायांकन रोक्दै ‘टेक र कट’ को सहारा लिने गर्छन्।
कसलाई कति पारिश्रमिक ?
यो बजारको सबैभन्दा रोचक पाटो पारिश्रमिकमा देखिने अनौठो लैंगिक खाडल हो। सामान्य व्यावसायिक उद्योगहरू र व्यावसायिक फिल्मी क्षेत्रमा पनि पुरुषको तुलनामा महिलालाई कम पारिश्रमिक दिइन्छ।
तर ‘पोर्नोग्राफी’ एउटा त्यस्तो विशेष बजार हो जहाँ महिला कलाकारहरूको बजार मूल्य पुरुषको तुलनामा निकै (सामान्यतया दोब्बर) बढी छ। एउटा व्यावसायिक भिडियो सुटका लागि महिला अभिनेत्रीहरूले औषत १ हजार देखि ३ हजार अमेरिकी डलर प्राप्त गर्दा पुरुष अभिनेताहरूले केवल ५ सय देखि १५ सय डलर मात्र पाउँछन्।
यद्यपि, प्रिमियम एस्कर्ट र व्यक्तिगत डिजिटल प्लेटफर्महरूमा स्थापित भइसकेका शीर्ष स्टारहरूको मासिक आम्दानी भने ५० हजार डलरदेखि ५ लाख डलरसम्म पुग्ने वित्तीय प्रतिवेदनहरूले देखाउँछन्।
विस्तारित बजार
यस विशाल साम्राज्यलाई टिकाउने र बढाउने मुख्य कडी भनेको उपभोक्ता मनोविज्ञान र जनसांख्यिकी हो। अन्तर्राष्ट्रिय वेब-ट्राफिक मापन संस्था सिमिलरवेबको पछिल्लो डेटा विश्लेषण अनुसार, संसारका शीर्ष २० लोकप्रिय वेबसाइटहरूको सूचीमा सधैँ दुईदेखि तीनवटा वयस्क मनोरञ्जनका साइटहरू निरन्तर परिरहन्छन्।
विश्वव्यापी रूपमा यस्ता सामग्री उपभोग गर्ने दर्शकहरूमा ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेको तथ्याङ्क छ, जसमा पछिल्लो पाँच वर्षमा महिला दर्शकहरूको ग्राफमा ५ प्रतिशतको वृद्धि देखिएको छ र महिलाहरूले खोज्ने सामग्रीको विधा तुलनात्मक रूपमा बढी भावनात्मक र रोमान्टिक प्रकृतिको हुने गरेको छ।
उपभोक्ता व्यवहार सम्बन्धी अध्ययनले के देखाउँछ भने, हप्ताको अन्य दिनको तुलनामा आइतबार र सोमबार राति यस्ता साइटहरूमा ट्राफिक सबैभन्दा उच्च हुन्छ । त्यसमा पनि राति १० बजेदेखि २ बजेको बीचमा पोर्न साइटहरुमा सबैभन्दा धेरै दर्शक झुम्मिएको देखिन्छ ।
जबकि शुक्रबार र शनिबार राति मानिसहरू भेटघाट, पार्टी जस्ता सामाजिक गतिविधिमा व्यस्त हुने हुँदा ट्राफिक ३० प्रतिशतसम्मले घट्ने गर्दछ।
को हुन्छन् कलाकार ?
यस उद्योगमा आबद्ध कलाकारहरूको भौगोलिक र सामाजिक बनोट कुनै धार्मिक वा जातीय पहिचानभन्दा बढी भौगोलिक र आर्थिक अवसरहरूसँग जोडिएको छ। अन्तर्राष्ट्रिय यौन स्वास्थ्य तथा पेसागत अधिकार समूहहरूको तथ्याङ्कले यो उद्योग बहुसांस्कृतिक रहेको देखाए पनि कुल दर्ता भएका विश्वव्यापी वयस्क कलाकारहरूमध्ये ६० प्रतिशतभन्दा बढी अमेरिकाको क्यालिफोर्निया राज्यका मात्रै छन्।
दोस्रो ठूलो हिस्सा पूर्वी युरोपेली मुलुकहरू जस्तै रुस, युक्रेन, रोमानिया र चेक गणतन्त्रका कलाकारहरूको छ, जहाँ सोभियत संघको विघटनपछि सिर्जना भएको आर्थिक मन्दीका कारण ठूलो संख्यामा महिलाहरू यस क्षेत्रमा प्रवेश गरे।
एशियाको सन्दर्भमा जापान यस बजारको छुट्टै र विशाल केन्द्र हो, जसलाई ‘एभी उद्योग’ भनिन्छ र यसको वार्षिक अर्थतन्त्र मात्रै अर्बौँ डलरको छ। धार्मिक पृष्ठभूमिका हिसाबले कलाकारहरू मुख्यतः पश्चिमा इसाई र पूर्वी एशियाली बौद्ध वा शिन्तो समाजको देखिन्छन् ।
कडा सामाजिक र कानुनी प्रतिबन्ध भएका इस्लामिक वा हिन्दू बहुल समाजका कलाकारहरूको उपस्थिति यस उद्योगमा १ प्रतिशतभन्दा कम छ । यदि कोही संलग्न भइहालेमा पनि उनीहरूले सामाजिक सुरक्षाका कारण पश्चिमी मुलुकको नागरिकता लिने वा पूर्ण रूपमा आफ्नो नाम र पहिचान परिवर्तन गरेर काम गर्ने गरेको पाइन्छ।
‘यौन बजार’ को अर्को पाटो
संसारमा यौन बजारलाई मूलत: दुई भागमा बाँडेर हेर्न सकिन्छ । पोर्नोग्राफी एउटा हो भने त्योभन्दा ठूलो, प्राचीन र विस्तारित बजार चाहीँ वेश्यावृत्ती हो । प्रत्यक्ष वेश्यावृत्ति एक भौतिक सेवा हो, जहाँ ग्राहक र यौनकर्मीबीच प्रत्यक्ष शारीरिक सम्पर्क र लेनदेन हुन्छ।
अन्तर्राष्ट्रिय श्रम संगठन र संयुक्त राष्ट्र संघीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयको तथ्याङ्कलाई तुलना गर्दा प्रत्यक्ष बजारको आकार डिजिटल बजारको तुलनामा निकै ठूलो र भयावह छ। सन् २०२४ मा सार्वजनिक भएको आईएलओको विशेष प्रतिवेदन अनुसार विश्वभर जबरजस्ती श्रम र व्यावसायिक यौन शोषणबाट मात्रै वार्षिक २३६ अर्ब अमेरिकी डलर अवैध नाफा आर्जन हुन्छ ।
यसमा झण्डै तीन-चौथाई अर्थात् १७३ अर्ब डलर हिस्सा जबरजस्ती गराइएको यौन कार्यबाट मात्र निस्कन्छ, जसले बेश्यावृत्तिलाई संसारकै सबैभन्दा ठूलो ‘भूमिगत अर्थतन्त्र’मध्ये एक बनाएको छ।
कोभीडले ल्याएको त्यो ‘टर्निङ’
सन् २०१५ देखि २०२० को अवधिमा स्मार्टफोन र सस्तो इन्टरनेटका कारण डिजिटल (पोर्न) बजार तीव्र गतिमा विस्तारित भयो । कोभिड-१९ महामारीका बेला भौतिक बजार पूर्ण रूपमा संकुचित हुँदा डिजिटल बजारले आफ्नो इतिहासकै सबैभन्दा ठूलो नाफा कमायो।
तर, पछिल्लो तीन वर्षमा अर्थात् २०२३ देखि २०२६ को अवधिमा मा भने डिजिटल बजारको वृद्धिदर केही हदसम्म स्थिर वा संकुचित हुन थालेको छ । यसमा दुईटा मुख्य कारण छन् । पहिलो अमेरिकाका धेरै राज्यहरू र युरोपेली युनियनले कडा ‘उमेर प्रमाणिकरण कानून’ लागू गर्नु; र दोस्रो अनलाइन बैंकिङ च्यानलहरूले वयस्क सामग्रीको भुक्तानीमा कडाइ गरिनु हो ।
कानुनी दायराका हिसाबले पनि यी दुई भिन्न छन्; थाइल्याण्ड जस्ता देशमा पटाया वा ब्याङ्ककका रेड-लाइट एरियाहरूमा प्रत्यक्ष यौन पर्यटन अनौपचारिक रूपमा फस्टाए पनि त्यहाँ डिजिटल पोर्नोग्राफी उत्पादन वा वितरण गर्नु कडा रूपमा गैरकानुनी मानिन्छ।
‘रेट’का कुरा
प्रत्यक्ष यौन कार्यको बजार दर भौगोलिक अवस्थिति, कानुनी वैधानिकता र सुरक्षा जोखिमका आधारमा तय हुन्छ। अन्तर्राष्ट्रिय बजार मूल्य ट्र्याक गर्ने संस्था ह्याभोकस्कोपको तथ्याङ्क अनुसार नेदरल्याण्ड्सको आम्स्टर्डमस्थित चर्चित ‘रेड लाइट डिस्ट्रिक्ट’का कोठीहरूमा हरेक १५ मिनेटको औसत ५० युरो सम्म पर्छ ।
उच्च-स्तरका एस्कर्टहरूको दर प्रतिघण्टा ३०० देखि ६०० युरोभन्दा बढी हुन्छ। जर्मनीको फ्रान्कफर्ट वा बर्लिनमा सडक बजारको दर ३० देखि ५० युरो हुँदा कानुनी क्लबहरूमा प्रतिघण्टा ८० देखि १५० युरो तिर्नुपर्छ । उच्च स्तरका यौनकर्मीहरुले चाहीँ त्यही एक घण्टाका लागि २५० देखि ५०० युरो सम्म लिन्छन् ।
अमेरिकाको न्युयोर्क वा नेभाडाका कानुनी ब्रोथेल(कोठी)हरूमा १५० देखि ३०० डलर शुल्क लाग्छ भने हाइ-एन्ड एस्कर्टहरूले प्रतिघण्टा ५०० देखि १५०० डलरसम्म लिने गर्छन्।
थाइल्याण्डमा सडक बजारको दर ५०० देखि १ हजार थाई भाट हुँदा गोगो बार वा मसाजमा १५०० देखि ३ हजार भाटका दरले ग्राहकले पैसा तिर्नुपर्ने हुन्छ । त्यहाँ उच्च स्तरका यौनकर्मीहरु एक रातको ५ हजार भाटभन्दा बढी लिन्छन् ।
यता नेपाल र भारत सहितको दक्षिण एशियाली भूमिगत बजारमा सडक दर भारु २०० देखि ५०० सम्मको न्यून स्तरमा रहेको भनेर विभिन्न अध्ययनहरुले देखाएका छन् । होटल वा गेष्टहाउसमा चाहीँ १ हजारदेखि ३ हजार तिर्नुपर्ने बताइन्छ ।
उच्च स्तरका एजेन्सीहरू मार्फत यौनकर्मीको खोजि गर्ने ग्राहकले भने एक रातका लागि १० हजार देखि ३५ हजार रुपैयाँभन्दा बढी बढी पनि तिर्ने गरेको तथ्याङ्कले देखाउँछ।
ओझेलको पाटो : पुरुष वेश्यावृत्ति
विश्वव्यापी बजार अनुसन्धानले के देखाउँछ भने, कुल भौतिक यौन बजारमा पुरुषहरूको हिस्सेदारी १० देखि १५ प्रतिशत रहेको अध्ययनहरुले देखाएका छन् । अर्थात् विश्वभर करिब ४० देखि ५० लाख पुरुष यो पेशामा संलग्न छन्।
पुरुष वेश्यावृत्तिको बजार महिलाको जस्तो सडक वा खुला रेड-लाइट क्षेत्रमा नभई ९५ प्रतिशतभन्दा बढी डिजिटल एप्लिकेसन, अनलाइन क्लासिफाइड र एस्कर्ट एजेन्सीहरू मार्फत मात्र अत्यन्तै गोप्य रूपमा सञ्चालन हुन्छ, जसको मुख्य वित्तीय केन्द्र उत्तर अमेरिका र पश्चिमी युरोपका लण्डन, बर्लिन, पेरिस र न्युयोर्क जस्ता महानगरहरू हुन्।
समाजशास्त्रीय प्रतिवेदनहरूका अनुसार, यस बजारमा एउटा ठूलो विरोधाभास के छ भने, व्यावसायिक रूपमा यौन सेवा प्रदान गर्ने पुरुषहरूमध्ये अधिकांश वास्तविक जीवनमा विषमलिंगी भए तापनि उनीहरूका ८० प्रतिशतभन्दा बढी ग्राहकहरू समलिंगी वा द्विलिंगी पुरुष हुन्छन्।
जबकि धनी महिला ग्राहक अर्थात् ‘सुगर ममीज’ ले पुरुष एस्कर्ट सेवा किन्ने दर विश्वव्यापी रूपमा केवल १० देखि १५ प्रतिशतमा मात्र सीमित रहेको प्रमाणित भएको छ। विकसित मुलुकहरूमा यस्ता पुरुष एस्कर्टहरूले सजिलै प्रतिघण्टा १५० देखि ४०० अमेरिकी डलरसम्म शुल्क प्राप्त गर्छन् ।
ऐतिहासिक पेशा
मानव सभ्यताको इतिहासमा वेश्यावृत्तिलाई सबैभन्दा पुरानो अनौपचारिक पेसाहरूमध्ये एक मानिन्छ, जसको जरा पुरातन मेसोपोटामिया, ग्रीस र रोमन साम्राज्यसम्म जोडिएको छ । प्राचीन सभ्यताहरुमा धार्मिक वा राज्यकोषका लागि यौन सेवाको विनिमय गरिन्थ्यो।
मध्ययुगमा यसलाई धार्मिक र नैतिक आधारमा प्रतिबन्ध लगाउने प्रयास गरिए पनि औद्योगिक क्रान्ति र शहरीकरणसँगै १९ औँ शताब्दीमा यसले संगठित ‘ब्रोथेल’ को रूप लियो भने आज यो एआई र भर्चुअल रियालिटीको डिजिटल युगमा प्रवेश गरिसकेको छ।
अन्त्यमा
हालको विश्वव्यापी परिदृश्यमा वेश्यावृत्तिको अर्थतन्त्रलाई तीनवटा मोडलमा वर्गीकरण गरिएको छ: जर्मनी र नेदरल्याण्ड्सको पूर्ण वैधानिक मोडल एउटा छ । स्वीडेन, फ्रान्स र क्यानडाको नोर्डिक मोडल (जहाँ सेवा किन्ने ग्राहक अपराधी मानिन्छन् तर बेच्ने होइन) अर्को छ ।
अनि नेपाल, भारत, चीन तथा अधिकांश मध्यपूर्वी देशहरूको पूर्ण प्रतिबन्धित वा गैरकानुनी मोडल छ । जहाँ यो पूर्ण रूपमा अवैध भए तापनि भूमिगत रूपमा विशाल आकारमा सञ्चालनमा छ।
यस बजारमा जतिसुकै अर्बौँ डलरको प्रवाह भए तापनि कानुनी नियमन र कडा सरकारी नीति नभएका देशहरूमा यसको ८० प्रतिशतभन्दा बढी हिस्सा दलाल, बिचौलिया र मानव तस्करहरूको नियन्त्रणमा रहने गरेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरू र श्रम संगठनहरूको साझा निष्कर्ष छ ।
जर्मनी वा नेदरल्याण्ड्स जस्ता देशहरूले यसलाई कानुनी श्रमको दायरामा ल्याएर, कर उठाएर, कलाकार र कामदारको स्वास्थ्य एवं सुरक्षा ग्यारेन्टी गर्ने प्रयास गरेका छन्।
तर, दक्षिण एशियाली मुलुकहरू जस्ता पूर्ण प्रतिबन्धित समाजमा यो व्यवसाय भूमिगत रूपमा मात्र सञ्चालन हुने हुनाले यसमा श्रम शोषण, चरम आर्थिक जबरजस्ती, बाल यौन शोषण र अन्तरदेशीय मानव बेचबिखनको गम्भीर जोखिम सधैँ उच्च रहने गरेको नमीठो यथार्थ हाम्रोसामु छ।













