रुपैयाँ भन्दा डलरमा सवारी कर निर्धारण गर्न नाडाको माग, भन्यो बजेट महत्वकाक्षी « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

रुपैयाँ भन्दा डलरमा सवारी कर निर्धारण गर्न नाडाको माग, भन्यो बजेट महत्वकाक्षी



काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सरकारले ल्याएको बजेट महत्वकाक्षी रहेको जनाएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जेठ १५ गते सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेट महत्वकांक्षी रहेको तर प्रभावकारी कार्यान्वयन हुन सके मात्र अर्थतन्त्र सबल बन्ने जनाएको छ । 

नाडाले हालै विद्युतीय सवारीमा सरकारले अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउने व्यवस्था गरेको छ। सरकारको वर्तमान कर नीतिले विद्युतीय लगायत इन्धनबाट चल्ने सवारी साधनहरू समेतको मूल्य बढ्ने देखिएको छ। 

नाडाले सवारी साधनहरूको मूल्य स्थिरताको लागि सरकारले नेपाली रुपियाँमा भन्दा डलरका आधारमा कर निर्धारण गर्नु थप व्यावहारिक हुने जनाएको छ । 

नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएको दुई दशक भइसकेको र नेपाल कम विकसित राष्ट्रबाट स्तरोन्नति भएर विकाशशील राष्ट्रमा परिणत हुँदै गरेको सन्दर्भमा नाडाले न्यूनतम रूपमा सवारी साधनहरूमा सरकारले थप कर वृद्धि नगर्ने अपेक्षा राख्दै आएको थियो। 

सरकारले मोटर पिक पावरको आधारमा महशुल दर कायम राख्दै आएकोमा यस बजेटले कारोबार मूल्यको आधारमा महसुल लगाउने व्यवस्था गरेको छ। 

यस बजेटले सभवतः नेपालको इतिहासमा झन्डै ३ खर्व रुपियाँ सडक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्दे अधुरा रहेका सबै सडक र राजमार्गहरू यथा समयमै पूरा गर्ने प्रतिबद्धता समेत जनाएको छ। यसले सरकार पूर्वाधार निर्माणमा कटीबद्ध छ भन्ने स्पष्ट हुन्छ। 

द्रुतगतिको सडक पूर्वाधार निर्माणले नेपालको समग्र अटोमोवाइल व्यवसाय पनि गतिशील हुने अपेक्षा राखिएको छ। बजेट केही महत्वकाक्षी देखिए पनि यसको कार्यान्वयन प्रभावकारी हुन सके देशको अर्थतन्त्र नै गतिशील हुनेमा कुनै सन्देह छैन। यो बजेट समग्रमा सन्तुलित र भविष्य निर्माणमुखी देखिएको छ।


प्रतिक्रिया दिनुहोस्