ईभी अवतारमा डेब्यू गर्दै ‘टाटा सिएरा’, ब्युँतिएला ९० को दशकको क्रेज? « Arthapath.com
३१ जेष्ठ २०८३, आइतबार

ईभी अवतारमा डेब्यू गर्दै ‘टाटा सिएरा’, ब्युँतिएला ९० को दशकको क्रेज?



काठमाडौँ । भारतको नम्बर वान अटो ब्रान्ड टाटा मोटर्सको बहुप्रतिक्षामा रहेको प्रिमियम इलेक्ट्रिक एसयूभी ‘सिएरा ईभी’ यसै महिना सार्वजनिक हुने भएको छ।

कम्पनीले नेपाली तथा भारतीय बजारमा निकै उत्सुकताका साथ पर्खिएको यस गाडीको उत्पादन संस्करण (प्रडक्सन भर्सन) आगामी जुन ३० (असार १६ गते) मा विश्वव्यापी डेब्यू गर्ने आधिकारिक पुष्टि गरेको हो।

सन् १९९१ मा पहिलो पटक बजारमा आएर निकै लोकप्रिय बनेको ‘सिएरा’ ब्रान्डलाई टाटाले सन् २०२६ मा पूर्ण रूपमा आधुनिक र विद्युतीय अवतारमा बजारमा उतार्न लागेको हो।

कम्पनीले केही समयअघि मात्रै सिएराको इन्धन (आईसीई) संस्करण नयाँ फिचर र पावरट्रेनका साथ बजारमा ल्याइसकेको छ। सोही डिजाइन ल्याङ्ग्वेजमा आधारित ४.३ मिटर लामो यस ईभीको बाहिरी बनावटमा ९० को दशकको जस्तै आकर्षक बक्सी सिल्हूट, ठाडो एङ्गल (अपराइट स्टान्स) र बाक्लो बी-पिलर दिइएको छ।

टाटाका मुख्य डिजाइनर मार्टिन उल्हारिकका अनुसार यसको साइड प्रोफाइललाई पुरानो सिएराकै झल्को दिने गरी ‘र्याप-अराउन्ड’ रियर ग्लास इफेक्ट र ब्ल्याक-आउट सी-पिलरको उत्कृष्ट फ्युजन दिइएको छ।

इन्धन भर्सनमा अगाडि कालो एसेन्ट भए पनि ईभी संस्करणमा बडी-कलर्ड फ्रन्ट फेसिया, पियानो ब्ल्याक बम्पर र एउटा सिङ्गल पिस फ्रन्ट डीआरएल रहनेछ। पछाडिको भागमा भने र्याप-अराउन्ड एलईडी कनेक्टेड टेल ल्याम्प र बीचमा टाटाको लोगो रहनेछ।

गाडीको भित्री भाग (इन्टेरियर) निकै फराकिलो र विलासी छ, जहाँ पछाडिको सिटमा ३ जना यात्रुले उत्कृष्ट लेगरुम र आरामदायी यात्रा गर्न सक्नेछन्। यसको ड्यासबोर्डमा देखिने ‘ट्रिपल स्क्रिन लेआउट’ प्रमुख आकर्षण हो। जसमा चालकका लागि १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, मध्यभागमा १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र प्यासेन्जरका लागि छुट्टै १२.३ इन्चको डिस्प्ले जडान गरिएको छ।

यसबाहेक माथिल्लो भेरियन्टहरूमा ह्वाइट थिम इन्टेरियर, डान्सिङ वेलकम र डिपार्चर लाइट, फ्यान्सी मूड लाइटिङ, पानोरामिक सनरुफ, डुअल-जोन क्लाइमेट कन्ट्रोल, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, पावर्ड र भेन्टिलेटेड फ्रन्ट सिट्स, र डल्बी एट्मससहितको १२-स्पिकर जेबीएल ब्ल्याक अडियो सिस्टम र डिजिटल आईआरभीएम जस्ता अत्याधुनिक उपकरणहरू रहनेछन्। यो ईभीमा हेड्स-अप डिस्प्ले समेत पाउन सकिनेछ।

सुरक्षा र क्षमताको कुरा गर्दा, यसअघि सार्वजनिक भइसकेको सिएरा आईसीई भर्सनले भारत एनक्याप क्र्यास टेस्टमा ५-स्टार सेफ्टी रेटिङ पाइसकेकाले ईभी भर्सन पनि उत्तिकै सुरक्षित हुने विश्वास गरिएको छ। सुरक्षाका लागि यसमा लेभल २ एडीएएस, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, आईएसओफिक्स चाइल्ड सिट माउन्ट्स, एबीएस, ईबीडी र इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम (ईएसपी) जस्ता आधुनिक फिचरहरू समावेश छन्।

यो प्रिमियम एसयूभी टाटाको नयाँ ‘एक्टि.ईभी+’ आर्किटेक्चर प्लेटफर्ममा बनेको छ। यो गाडी रियर-ह्विल ड्राइभ र डुअल मोटर सेटअपसहितको अल-ह्विल ड्राइभ (एडब्लुडी) दुवै अप्सनमा उपलब्ध हुनेछ। लामो दुरी र चुनौतीपूर्ण नेपाली सडकका लागि निकै उपयुक्त हुने यस गाडीमा ६५ किलोवाट आवर र ७५ किलोवाट आवरका ब्याट्री विकल्पहरू रहनेछन्, जसले एक पटकको फुल चार्जमा ५०० देखि ६०० किलोमिटरसम्मको उत्कृष्ट रेन्ज दिने दाबी गरिएको छ।

भारतीय बजारमा यसको सुरुवाती मूल्य १५ लाख भारतिय रुपैयाँबाट सुरु हुने अनुमान गरिएको छ। बजारमा आइसकेपछि यसले महिन्द्रा बीई-६, हुन्डाई क्रेटा इलेक्ट्रिक, मारुती सुजुकी ई-भिटारा, टोयोटा अर्बन क्रुजर एबेला, एमजी विन्डसर ईभी र भिनफास्ट भिएफ६/भिएफ७ सँग कडा प्रतिस्पर्धा गर्नेछ।

यद्यपि, यसको मूल्यको दायरा टाटाकै लाइनअपमा रहेका कर्भ ईभी र ह्यारियर ईभीका केही भेरियन्टहरूसँग पनि ओभरल्याप हुन सक्ने देखिएको छ।


प्रतिक्रिया दिनुहोस्