सिटिजन्स बैंकले २ अर्बको अग्राधिकार शेयर जारी गर्दै, विशेष साधारणसभाबाट प्रस्ताव पारित
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पूँजीगत संरचना सुदृढ गर्ने उद्देश्यका साथ २ अर्ब रुपैयाँ बराबरको विशेष प्रकृतिको अग्राधिकार शेयर बजारमा ल्याउने भएको छ ।
बैंकको आषाढ ३ गते (बुधबार) सम्पन्न भएको आठौँ विशेष साधारणसभाले सञ्चालक समितिद्वारा अघि सारिएको उक्त सम्बन्धी विशेष प्रस्तावलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।
विशेष साधारणसभाबाट प्रस्ताव पारित भएसँगै बैंकले नियामक निकाय नेपाल राष्ट्र बैंकको विद्यमान निर्देशन तथा नीतिगत व्यवस्थाको अधीनमा रही प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल २ करोड कित्ता शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ ।
बैंकले जारी गर्न लागेको यस नयाँ वित्तीय उपकरणको नाम “७.५ प्रतिशत सिटिजन्स अविमोच्य असञ्चिति अग्राधिकार शेयर” राखिएको छ । यसको अर्थ यस शेयरमा लगानी गर्ने शेयरधनीहरूले वार्षिक ७.५ प्रतिशतका दरले लाभांश प्राप्त गर्नेछन् ।
यद्यपि, यो ‘अविमोच्य र असञ्चिति’ प्रकृतिको हुने भएकाले बैंकलाई नाफा भएको वर्षमा मात्रै तोकिएको लाभांश वितरण गरिने छ र कुनै वर्ष लाभांश दिन नसकिएमा उक्त रकम आगामी वर्षहरूमा सञ्चित नहुने बैंकले स्पष्ट पारेकाे छ।












