११ महिनामा ६९ अर्ब २३ करोडको स्मार्टफोन र सुन मात्र आयात, टप १० मा मल, ग्यासदेखि फलामसम्म
काठमाडौं । मुलुकको खस्कँदो आन्तरिक उत्पादन र बढ्दो आयातमुखी प्रवृत्तिको जीवन्त चित्र भन्सार विभागको ताजा तथ्याङ्कले पुन: एकपटक सार्वजनिक गरिदिएको छ ।
चालू आर्थिक वर्षको ११ महिनाको आयात विवरणलाई सरसर्ती हेर्दा नेपालीहरूले हातमा बोक्ने स्मार्टफोन र कानमा लगाउने सुनमा मात्रै ६९ अर्ब २३ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।
भन्सार विभागको ११ महिनाको तथ्याङ्कअनुसार यस अवधिमा ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरका २० लाख ४१ हजार १९९ थान स्मार्टफोन आयात भएका छन् । यसैगरी, २५ अर्ब ७८ करोड ५० लाख ३६ हजार रुपैयाँ मूल्य बराबरको १३ लाख ५४ हजार ३९८ ग्राम सुन नेपाल भित्रिएको छ ।
यी दुई विलासी विधाका वस्तुहरू मात्रै जोड्दा आयातको कुल आँकडा ६९ अर्ब २३ करोड ९७ लाख ९६ हजार रुपैयाँ पुग्छ । यसले नेपाली उपभोक्ताको क्रयशक्ति र राज्यको ठूलो पूँजी अनुत्पादक क्षेत्रमा कसरी खर्च भइरहेको छ भन्ने गम्भीर सङ्केत गर्छ ।

मुलुकको आयातको अग्रपंक्तिमा सधैँझैँ पेट्रोलियम पदार्थकै वर्चस्व कायमै छ । ११ महिनामा मात्रै १ खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख ८५ हजार रुपैयाँको १२ लाख ६४ हजार ८७८ किलोलिटर डिजेल भित्रिएको छ । जसबाट सरकारले ५२ अर्ब ८१ करोड ७५ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तै, तेस्रो नम्बरमा रहेको पेट्रोल आयातमा ६८ अर्ब १७ करोड ७८ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ । इन्धनको यो विशाल आयातले हाम्रो यातायात र औद्योगिक क्षेत्र अझै पूर्ण रूपमा जिवाश्म इन्धनमै निर्भर रहेको देखाउँछ ।
दोस्रो स्थानमा रहेको कच्चा भटमासको तेलको आयात पनि उस्तै उकालो लाग्दो देखिन्छ । यस अवधिमा १ खर्ब १९ अर्ब ६३ करोड २ लाख ७ हजार रुपैयाँ बराबरको ७२ करोड ६४ लाख ९९ हजार ९० लिटर कच्चा भटमासको तेल आयात भएको तथ्याङ्क छ ।
त्यस्तै, नेपालीको भान्छा चलाउने एलपीजी ग्यास आयातमा ५२ अर्ब २१ करोड ६६ लाख २२ हजार रुपैयाँ खर्च भएको छ। यो आँकडाले हाम्रो आफ्नै जलविद्युत् उत्पादन बढे पनि भान्छालाई ग्यासमुक्त बनाउने प्रयास अझै कछुवाको गतिमा रहेको स्पष्ट पार्छ ।
विकास निर्माणका मुख्य आधार मानिने फलामजन्य वस्तुको आयात ५३ अर्ब ६९ करोड ९ लाख ६७ हजार रुपैयाँ बराबरको भएको छ भने फ्ल्याट वा हट–रोल्ड फलाम र स्टिल आयातमा २६ अर्ब ४६ करोड ९१ लाख ७९ हजार रुपैयाँ बाहिरिएको छ । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य औषधिहरू आयात गर्न २६ अर्ब १० करोड २९ लाख ३४ हजार रुपैयाँ खर्च भएको छ ।
यस्तै, कृषिको मेरुदण्ड मानिने डीएपी रासायनिक मल आयातमा २४ अर्ब ८ करोड ७६ लाख १३ हजार रुपैयाँ खर्च भएको छ । यसमा रमाइलो पक्ष के छ भने २४ अर्बको मल आयात हुँदा सरकारले यसबाट जम्मा ६ हजार रुपैयाँ मात्र राजस्व उठाएको छ । जसले कृषि सामग्रीमा राज्यले दिएको भन्सार छुटलाई दर्शाउँछ ।
भन्सार विभागको यो ११ महिनाको तथ्याङ्कले मुलुकको अर्थतन्त्रको यथार्थ चरित्रलाई नाङ्गो रूपमा चित्रण गरिदिएको छ । विलासिताका स्मार्टफोनदेखि भान्छाको ग्यास र खेतको मलसम्मका लागि हामी पूर्ण रूपमा आयातमा आश्रित छौँ ।
जबसम्म आन्तरिक उत्पादन र आत्मनिर्भरताको नारा भाषणबाट ब्युँझिएर व्यावहारिक धरातलमा ओर्लिँदैन तबसम्म आयातको यो चक्रव्यूहबाट उम्किन निकै कठिन हुने देखिन्छ ।












