बीमा तथ्याङ्कको गुणस्तर र एकरूपतामा जोड, बीमा प्राधिकरणद्वारा अन्तरक्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी अनुसन्धान तथा तथ्याङ्क व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले बीमक कम्पनीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा शुक्रबार आयोजित कार्यक्रममा बीमकबाट प्राप्त हुने दैनिक, मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक तथ्याङ्कमा एकरूपता र गुणस्तर सुनिश्चित गर्ने, आइआरएमआइएस (IRMIS) प्रणालीमा गरिएको डाटा रिपोर्टिङसम्बन्धी परिवर्तनबारे जानकारी दिने तथा रिपोर्टिङका क्रममा देखिएका समस्याको समाधान खोज्ने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको अध्ययन तथा अनुसन्धानका लागि तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै तथ्याङ्कमा शुद्धता, एकरूपता र विश्वसनीयता कायम गर्नुपर्नेमा जोड दिए।
प्राधिकरणका उपनिर्देशक पुष्पा कुँवरले तथ्याङ्क प्रणालीमा देखिएका समस्या समाधानका लागि प्राधिकरण सहकार्य र आवश्यक सहजीकरण गर्न तयार रहेको बताइन्।
कार्यक्रममा सहायक निर्देशक सुन्दरप्रसाद शर्माले बीमा क्षेत्रको अध्ययन तथा अनुसन्धानका क्रममा देखिएका समस्या, चुनौती र सम्भावनाबारे प्रस्तुति दिएका थिए। उनले अनुसन्धानका लागि आवश्यक तथ्याङ्क समयमै उपलब्ध गराउनुपर्ने, तथ्याङ्कमा एकरूपता कायम गर्नुपर्ने, बीमकहरूले अनुसन्धानसम्बन्धी सम्पर्क व्यक्ति तोक्नुपर्ने, अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने तथा आवश्यक स्रोत–साधन सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए।
त्यसैगरी, प्राधिकरणका तथ्याङ्कशास्त्री बसन्तप्रसाद बोहराले बीमकबाट सङ्कलन गरिने तथ्याङ्कका आधार, सङ्कलन प्रणालीमा गरिएका परिवर्तन तथा बीमकहरूले पेश गर्ने तथ्याङ्कप्रति प्राधिकरणको अपेक्षाबारे प्रस्तुति दिएका थिए।
अन्तरक्रियामा बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका तथ्याङ्क, अनुसन्धान र सूचना प्रविधि शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्राधिकरणकी सहायक प्रथम कमला घर्तीले गरेकी थिइन्।













