६ महिनादेखि राेकिएकाे स्वास्थ्य बिमा भोलिदेखि पुन: सञ्चालन गर्दै त्रिवि शिक्षण अस्पताल « Arthapath.com
१४ असार २०८३, आइतबार

६ महिनादेखि राेकिएकाे स्वास्थ्य बिमा भोलिदेखि पुन: सञ्चालन गर्दै त्रिवि शिक्षण अस्पताल



काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (महाराजगञ्ज) मा भोलि असार १५ गतेदेखि स्वास्थ्य बिमा सुविधा पुनः उपलब्ध हुने भएको छ। अस्पताल व्यवस्थापनले एक सार्वजनिक सूचना जारी गर्दै रोकिइरहेको बिमा कार्यक्रम अन्तर्गतको बहिरङ्ग अर्थात् ओपिडी सेवा मात्र तत्कालका लागि सुचारु गर्न लागिएको स्पष्ट पारेको हो।

नयाँ व्यवस्था अनुसार अस्पतालले बिमाको ओपिडी टिकट उपलब्ध गराउने समयतालिका समेत तोकेको छ। बिमा सुविधा लिन चाहने बिरामीहरूले बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २:३० बजेसम्म मात्र तोकिएको बिमा काउन्टरबाट ओपिडी टिकट लिन सक्नेछन्।

यस बिमा उपचार प्रकृयाका बारेमा बुझ्नुपर्ने भएमा वा उपचारका क्रममा कुनै अन्योल उत्पन्न भएमा अस्पताल परिसरभित्रै रहेको स्वास्थ्य बिमा तथा सामाजिक सुरक्षा शाखामा सोधपुछ गर्न अस्पतालले सर्वसाधारणलाई सूचित गरेको छ।

स्वास्थ्य बिमा बोर्डबाट शोधभर्ना बापतको रकम नपाएको भन्दै शिक्षण अस्पतालले गत माघ १ गतेदेखि बिमा सेवा पूर्ण रूपमा बन्द गरिदिएको थियो। अस्पताल र बोर्डबीचको विवादका कारण विगत ६ महिनादेखि बन्द रहेको यो सेवा भोलिदेखि ओपिडी सेवाका रूपमा मात्र आंशिक रूपमा सुचारु हुन लागेको हो।


प्रतिक्रिया दिनुहोस्