बचतको संस्कारमा सानिमा एसआईपीको हस्तक्षेप, सर्वसाधारणले कसरी लिने लाभ ? « Arthapath.com
१६ असार २०८३, मंगलबार

बचतको संस्कारमा सानिमा एसआईपीको हस्तक्षेप, सर्वसाधारणले कसरी लिने लाभ ?



काठमाडौँ । आजको आधुनिक, तर व्यस्त जीवनशैली । निरन्तर बढ्दै गएको महँगी, अनि हाम्रा असीमित आवस्यकताहरू । हरेक व्यक्तिले हर बखत देख्ने समृद्धिका सपना । सुखसयल र विन्दास जिन्दगी ।

तर हाम्रो अघिल्तिर छ– चुम्बकले फलाम तानेझैँ ह्वारह्वार्ति पैसा सोस्ने उपभोग बजार । आम्दानी र खर्चको यसै पनि असन्तुलित यो भूमरीकै बीच भविष्यका लागि बचत गर्नु एउटा ठूलो चुनौती बनेको छ।

राम्रै कमाई गरिरहेका व्यक्तिहरूमध्ये पनि धेरैजसोको साझा समस्या हुन्छ– महिनाको अन्त्यमा पारिश्रमिक वा आम्दानी त आउँछ, तर बाँकी बक्यौता र मासिक खर्च धान्दा सर्लक्कै रित्तिन्छ । अनि बचतको खाता भने सधैँ शून्य ।

‘अनिकालमा बीऊ जोगाउनू, हुलमुलमा जीऊ जोगाउनू’ भन्ने नेपाली उखानले पनि बचतलाई प्राथमिकता दिन उत्प्रेरित गर्छ । तर अहिले हाम्रो समाज ज्यादा उपभोगमूखि बन्दै गएको छ ।

सामान्यतया ‘पहिले मन खोलेर खर्च गारौँ, त्यसपछि बाँकी रहेको बचत गरौँला’ भन्ने सोच हाबी हुँदै गएको छ। यही सोचका कारण अधिकांश मानिसहरू आम्दानी हुँदाहुँदै पनि वित्तीय रूपमा सुरक्षित बन्न सकिरहेका हुँदैनन्।

बाध्यकारी भएका संस्थाका कर्मचारीले नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष वा सामाजिक सुरक्षा कोषमा बचत गरिरहेका छन् । कसैले बीमाको किस्ता तिरिरहेका होलान् । तर त्यसबाहेक थप व्यक्तिगत बचत शून्य प्राय: हुन्छ।

यही बुझाइ र परिपाटीलाई चिर्दै नेपाली लगानीकर्ताहरूमा एउटा बलियो वित्तीय अनुशासन कायम गराउने उद्देश्यका साथ सानिमा बैंकले गएको चैत महिनादेखि सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) अर्थात् प्रणालीगत लगानी योजना सुरु गरेको छ।

सानिमा क्यापिटलका अनुसार, बजारमा विभिन्न उतारचढाव आइरहे पनि दीर्घकालीन रूपमा सानो–सानो रकम नियमित लगानी गरेर ठूलो कोष निर्माण गर्न यो योजना निकै प्रभावकारी देखिएको छ।

के हो सानिमा एसआईपी ?

एसआईपीलाई सामान्य भाषामा बुझ्दा, हरेक महिना वा एउटा निश्चित समयको अन्तरालमा, नियमित रूपमा सानो–सानो रकम लगानी गर्दै भविष्यमा एउटा ठूलो आर्थिक कोष बनाउने आधुनिक र व्यावहारिक वित्तीय योजना हो।

सानिमा एसआईपी पनि यसैको एउटा उत्कृष्ट र परिष्कृत रूप हो, जसलाई सानिमा क्यापिटलले सर्वसाधारण लगानीकर्ताको हितका लागि बजारमा ल्याएको छ। मूल रुपमा सानिमा क्यापिटलद्वारा सञ्चालित खुलामुखी सामुहिक लगानी कोष अर्थात् ‘सानिमा फ्लेक्सी फन्ड’को एक प्रडक्टका रुपमा ‘सानिमा एसआईपी’ सञ्चालित छ ।

पुँजी बजारका दक्ष र अनुभवी विज्ञहरूले यो फन्डको व्यवस्थापन गर्ने भएकाले, सेयर बजारको उतारचढाव र प्राविधिक ज्ञान नभएका सामान्य नागरिकले पनि यस फण्डमा ढुक्कसँग लगानी गर्न सक्छन्।

सर्वसाधारणले बुझ्नुपर्ने मुख्य कुरा के हो भने, एसआईपी र म्युचुअल फण्ड भनेको बैंकमा पैसा जम्मा गर्ने परम्परागत मुद्दती खाता जस्तो होइन। यसले बजारको जोखिमलाई व्यवस्थापन गर्दै दीर्घकालमा बैंकको साधारण ब्याजभन्दा निकै आकर्षक प्रतिफल दिन र लगानीकर्ताको पुँजी बढाउन मद्दत गर्छ।

किन रोज्ने यो योजना?

धेरैलाई लाग्न सक्छ, लगानी गर्नका लागि खल्तीमा लाखौँ रुपैयाँ हुनुपर्छ। तर सानिमा एसआईपीले यो परम्परागत मान्यतालाई पूर्ण रूपमा बदलिदिएको छ। यस योजनाको सबैभन्दा आकर्षक पक्ष के हो भने, यहाँ लगानी यात्रा सुरु गर्न कुनै ठूलो आर्थिक भार बोक्नु पर्दैन।

विद्यार्थीले आफ्नो खाजा खर्चबाट, गृहणीले घर खर्चबाट बचाएर वा साना व्यवसायी र जागिरेले आफ्नो मासिक आम्दानीबाट कम्तीमा १ हजार रूपैयाँ वा यस्तै थोरै–थोरै रकम छुट्ट्याएर पनि एसआईपीमा नियमित जोडिन सक्छन्।
लगानीको यो लचकताले गर्दा नै सानिमा एसआईपी हरेक वर्गका नागरिकका लागि एउटा भरपर्दो सहयात्री बन्न सक्छ।

यो योजनाको अर्को ठूलो विशेषता भनेको यसमा लगानीकर्तालाई रकम जम्मा गर्न र झिक्न पाइने स्वतन्त्र अधिकार हो । परम्परागत बचत वा बीमा योजनाहरूमा जस्तो यसमा निश्चित अवधि नपुगेसम्म पैसा निकाल्दा शुल्क लाग्ने वा रकम नै रोकिने कठोर नियमहरु हुँदैनन् ।

तर, जम्मा गर्न थालेको दुई वर्ष पनि नपुग्दै पैसा निकाल्न खोजियो भने चाहीँ ‘अग्रीम भुक्तानी शुल्क’ का रुपमा थोरै पैसा काटिन्छ । दुई वर्ष नाघेपछि बिना–शुल्क पुरा पैसा निकाल्न पाइन्छ ।

एकातिर लगानीकर्ताले आफ्नो आवस्यकता अनुसार जुनसुकै बेला आफ्नो लगानी फिर्ता लिन (झिक्न) सक्छन् भने अर्कोतिर आफ्नो इच्छाअनुसार ‘असीमित’ समयका लागि अगाडि बढाइरहन पनि सक्छन्।

जबसम्म लगानीकर्ता आफैँले यसलाई बन्द गर्दैनन्, तबसम्म यो योजना चलिरहन्छ, भलै यसमा कयौँ वर्ष बितोस् ।

यस योजनाको अर्को सबैभन्दा सुन्दर पक्ष के हो भने, यसमा लगानीकर्ताको आर्थिक सहजताका लागि रकम थपघट गर्न मिल्ने विशेष लचकता हुन्छ। यसमा हरेक महिना वा सधैँभरी बराबर पैसा तिरिराख्नु पर्छ भन्ने कुनै बाध्यता हुँदैन।

उदाहरणका लागि, आम्दानी राम्रो भएको बेला तपाईंले महिनाको ५ हजारका दरले जम्मा गर्नुभएको छ भने पछि आम्दानी घट्दा पनि ५ हजार खोजेर ल्याउनै पर्ने बाध्यता यसमा हुँदैन ।

भोलि पैसाको अलिकति संकट पर्दा लगानीको आकारलाई घटाएर २ हजार वा ३ हजार रुपैयाँमा झार्न पनि सकिन्छ। त्यसैगरी, कुनै महिना अतिरिक्त आम्दानी वा नाफा भएर खल्तीमा पैसा धेरै हुँदा यसलाई बढाएर ८ हजार, १० हजार वा आफ्नो क्षमता अनुसार अझ बढी बनाएर थप लगानी गर्न पनि सकिन्छ।

यसका साथै, ‘रुपिज् कस्ट एभरेजिङ’ को सिद्धान्तमा काम गर्ने हुनाले बजार घट्दा धेरै एकाइ र बढ्दा कम एकाइ खरिद भई लगानीको लागत आफैँ सन्तुलित हुन्छ।

वित्तीय अनुशासनका लागि एसआईपी ?

धितोपत्र बजार वा पुँजी बजारमा सफल हुनका लागि धेरै ठूलो बौद्धिकता, चतुरता वा असाधारण ज्ञान र गोप्य सूचनामा पहूँच भन्दा पनि ‘वित्तीय अनुशासन’ बढी जरुरी हुन्छ।

जतिसुकै जान्ने बुझ्ने लगानीकर्ता भए पनि यदि उसले लगानीमा अनुशासन मेन्टेन गर्न सकेन भने बजारबाट लाभ लिन वा विजय हासिल गर्न गाह्रो हुन्छ।

यो वित्तीय उपकरणले मानिसहरुको नियमित बचतलाई पनि प्रोत्साहन गर्छ । महिनाको अन्त्यमा खर्च मात्रै धेरै हुने परिपाटीलाई सुधार्न एसआईपीले एउटा माध्यमको रूपमा काम गर्छ।

पहिले आफ्नो कमाइबाट एसआईपीका लागि निश्चित रकम लगानी गर्ने र बाँकी रहेको रकम मात्र खर्च गर्ने बानी बसाल्न सके यसले जीवनमा ठूलो सकारात्मक परिवर्तन ल्याउँछ।

हरेक महिना थोरै–थोरै पैसा बचाउँदै जाँदा ५ वा १० वर्षपछि यसले मानिसलाई पूर्ण वित्तीय स्वतन्त्रता दिलाउन सक्छ ।

उदाहरणका लागि, आज कुनै स्कूल वा कलेज पढ्ने विद्यार्थीले एसआईपी सुरु गरेमा, आगामी ५ वर्षपछि उसलाई आफ्नो उच्च शिक्षा पढ्न, सवारी साधन किन्न वा अन्य व्यक्तिगत आवश्यकताका लागि परिवार एवम् अरू कसैको अगाडि हात फैलाउनु पर्ने बाध्यता रहँदैन ।

उसले आफ्नो आवश्यकता अनुसार पैसा जम्मा गरिसकेको हुन्छ। यसरी यो योजना पारिवारिक र सामाजिक जीवनमा आर्थिक स्वतन्त्रताको मुख्य आधार बन्न सक्छ।

दुई मिनेटमै कसरी सुरु गर्ने लगानी?

सानिमाको एसआईपीमा जोडिनका लागि कुनै लामो, पट्यारलाग्दो र झन्झटिलो प्रक्रिया पुरा गर्नै पर्दैन । यो त एकदम सरल र सहज छ । यसका लागि व्यक्ति स्वयम् भौतिक रूपमा क्यापिटलको कार्यालय धाइरहनु पनि पर्दैन।

लगानीकर्ताले घरमै बसेर अनलाइनबाटै सानिमा क्यापिटलको आधिकारिक एसआईपी पोर्टल sip.sanimacapital.com मा गएर आफ्नो केवाइसी दर्ता गर्न सक्छन् । यसरी डिजिटल रूपमै एसआईपी रजिस्टर हुन्छ ।

यदी तपाइँ इन्टरनेटको पहूँचमा हुनुहुन्न वा अनलाइनबाट जोडिन असहज ठान्नुहुन्छ भने चाहीँ आफ्नो सबैभन्दा पायक पर्ने नजिकैको सानिमा बैंकको कुनै पनि शाखामा सम्पर्क गरेर वा काठमाडौँको नक्सालस्थित सानिमा क्यापिटलको काउण्टरमा गएर यो योजना सुरु गर्न सक्नुहुन्छ ।

दर्ता प्रक्रिया पूरा भएपछि कनेक्ट आईपीएस, ईसेवा वा अन्य डिजिटल वालेटहरू मार्फत सजिलै फन्ड ट्रान्सफर गर्न सकिन्छ । त्यसैले यो प्रक्रिया पुरा गरेर तपाइँले एसआईपीमा लगानीको थालनी गर्न तपाइँको जिन्दगीको जम्मा २ मिनेटमात्रै खर्च हुन्छ ।

अबको बाटो : ‘अटो डेबिट’ सिस्टम

सानिमा क्यापिटलले यो अनलाइन आवेदन प्रणाली सुरु गरेपछि एसआईपीमा जोडिनेहरुको ठूलो लहर आएको छ । अचेल थुप्रै लगानीकर्ताले अनलाइनमार्फत् एकदमै सजिलोसँग एसआईपी दर्ता गरेर मासिक रुपमा पैसा जम्मा गरिरहेका छन्।

अहिलेको प्रारम्भिक चरणमा लगानीकर्ताले पहिलो किस्ता अनलाइन तिरेपछि अर्को महिनाको किस्ता पनि आफैँले सम्झिएर अनलाइन पोर्टलमा गई तिर्नुपर्ने व्यवस्था छ।

तर, आजको डिजिटल युगमा मानिसहरू आफ्नो काममा व्यस्त हुने भएकाले उनीहरूलाई कुन मितिमा पैसा तिर्ने भन्ने कुरा सधैँ सम्झिरहन मुश्किल हुन्छ । त्यसैले कतिपय ग्राहकहरूले ‘खाताबाटै स्वत: पैसा काट्ने’ (अटो–डेबिट) सहज माध्यम खोजिरहेका हुन्छन्।

ग्राहकको यही आवश्यकतालाई मध्यनजर गर्दै सानिमा क्यापिटलले एसआईपी योजना नै पूर्ण रूपमा अटोमेसन प्रणालीमा लैजाने काम तीव्र रूपमा अघि बढाएको छ।

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँगको सहकार्यमा अघि बढेको यो ‘अटोमेशन’को काम टुंगिएपछि आगामी दिनमा लगानीकर्ताले तोकेको निश्चित तारिखमा बैंक खाताबाट आफैँ पैसा कट्टा हुने ‘स्केड्युअल पेमेन्ट’ (स्ट्यान्डिङ इन्स्ट्रक्सन) सुविधा प्राप्त हुने छ । अहिले यो प्रणाली विकासको अन्तिम चरणमा पुगिसकेको छ।

यो प्रणाली लागू भएपछि ग्राहकले हरेक महिना पैसा तिर्ने झन्झट र समय भुल्ने डरबाट पूर्ण रूपमा मुक्ति पाउनेछन्। कनेक्ट आईपीएस र सानिमा बैंकको मोबाईल बैंकिङ एपबाट तोकिएको समयमा अटोमेटिक रूपमा रकम कट्टा भई एसआईपी फन्डमा जम्मा हुनेछ। यसका लागि लगानीकर्ताले सुरुमै आफ्नो अनुकूलको मिति र निश्चित किस्ता रकम सेट गरेर छोडिदिए पुग्छ।

सानिमाको आगामी योजना

नेपालमा कुल जनसंख्याको करिब २५ प्रतिशतभन्दा बढी हिस्सा कुनै न कुनै रूपमा धितोपत्र बजार (डिम्याट खाता) मा जोडिएका छन् । तर पुँजी बजारको वास्तविक गहिराइ र म्युचुअल फन्डको महत्व बुझ्ने वा यसलाई राम्रोसँग छुट्याएर हेर्नसक्ने मानिसहरुको संख्या अझै निकै न्यून छ।

छिमेकी देश भारतको उदाहरण हेर्ने हो भने त्यहाँ कुल जनसंख्याको जम्मा २ प्रतिशत मानिसहरुमात्रै सिधै सेयर बजारमा कारोबार गर्छन् । दोस्रो बजारमा सोझै पसेर लाभ उठाउन नसक्ने बहुसंख्यक मानिसहरु सामूहिक लगानी कोष इत्यादीको बाटो खोज्छन् । त्यसैले भारतको समग्र बजार पुँजीकरणमा म्युचुअल फन्डको हिस्सा करिब २३ प्रतिशत छ।

नेपालमा भने कुल बजार पुँजीकरणमा म्युचुअल फन्डको हिस्सा करिब १.५ प्रतिशत जति मात्रै छ। हाल नेपालभरिका सबै खुलामुखी म्युचुअल फन्डहरूमा एसआईपी गर्ने कुल ग्राहक संख्या अझै पनि २० लाख पुग्न सकेको छैन।

यसको मुख्य कारण आम नागरिकमा अझै पनि म्युचुअल फन्ड र एसआईपीबारे पर्याप्त सचेतना नहुनु नै हो।

कतिपय मानिसहरू हल्ला र लहैलहैमा लागेर सेयर बजारमा लगानी गरी नोक्सानी व्यहोरिरहेका हुन्छन्। उनीहरुमध्ये धेरैलाई सुरक्षित लगानीको बाटो पनि छ र त्यो ज्यादा भरपर्दो छ भन्ने जानकारी नै छैन ।

यस्तो बेला सानिमा क्यापिटलले सर्वसाधारणलाई ‘कुन सेयर किन्ने वा बेच्ने’ भन्ने सल्लाह दिँदैन । तर सुरक्षित रूपमा लगानी कसरी गर्ने र कम्पनी छनोट गर्दा कस्ता वित्तीय सूचकहरू हेर्नुपर्छ भनेर सिकाउने काम उसले अहिले पनि गर्दै आएको छ ।

पोर्टफोलियो म्यानेमेन्ट सर्भिस (पीएमएस)मार्फत् क्यापिटलले ग्राहकको पैसाको व्यवस्थापन र लगानी पनि गरिदिन्छ । यसका लागि तपाइँले आफ्नो पैसा सानिमा क्यापिटललाई सुम्पिएपछि कम्पनीका विज्ञहरुले तपाइँको तर्फबाट आफैँ निर्णय गरेर शेयरको खरिद–विक्री गरिदिन्छन् ।

फण्ड साइज

सानिमा क्यापिटलको ‘सानिमा फ्लेक्सी फन्ड’ को हालको फन्ड साइज करिब ५८ करोड रुपैयाँ रहेको छ । यसले बजारमा भर्खरै पाइला टेकेकाले विस्तारै परिपक्व र ठूलो बन्दै जाने क्रममा छ।

अहिले यो सेवा काठमाडौँ उपत्यका र केही मुख्य सहरी क्षेत्रमा मात्र बढी बुझिएको देखिएकाले आगामी वर्षहरूमा सानिमा क्यापिटलले देशैभरिका विभिन्न कलेज, स्कुल र संघ–संस्थाहरूमा आफैँ समय मागेर पुँजी बजार र एसआईपी सम्बन्धी विशेष साक्षरता कार्यक्रमहरू लैजाने वृहत् योजना कम्पनीले अघि सारेको छ।

धितोपत्र बोर्ड (सेबोन) को समन्वयमा हरेक वर्ष आयोजना हुने ‘ग्लोबल मनि विक’ का साथै अन्य मञ्चहरू मार्फत पनि बजारका जोखिम र नियमित बचतको शक्तिबारे सर्वसाधारणलाई बुझाउने कार्यलाई क्यापिटलले निरन्तरता दिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्