नेपाली बजारमा पोकोका दुई नयाँ ५जी स्मार्टफोन सार्वजनिक
काठमाडौं। टेलिटकले नेपाली बजारमा पोको एम८एस ५जी र पोको एम८ प्रो ५जी स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीका अनुसार उत्कृष्ट कार्यसम्पादन, सहज फाइभ–जी अनुभव र प्रतिस्पर्धी मूल्यलाई ध्यानमा राखेर यी दुवै स्मार्टफोन नेपाली बजारमा ल्याइएको हो।
पोको एम८एस ५जीमा ७,००० एमएएच क्षमताको ब्याट्री, ३३ वाट टर्बो चार्जिङ र १८ वाट रिभर्स चार्जिङ सुविधा उपलब्ध छ। यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ। ६.९ इन्चको फुल एचडी प्लस डिस्प्ले र १४४ हर्जसम्मको रिफ्रेस रेटले उत्कृष्ट दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। यो स्मार्टफोन स्न्यापड्रागन ६एस जेन ३ प्रोसेसर, अक्टा–कोर सीपीयू र एड्रेनो जीपीयूबाट सञ्चालित छ।
त्यस्तै, पोको एम८ प्रो ५जीमा ६.८३ इन्चको क्रिस्टलरेज एमोलेड डिस्प्ले, १.५के रिजोलुसन, १२० हर्ज रिफ्रेस रेट तथा ३,२०० निट्ससम्मको पिक ब्राइटनेस उपलब्ध छ। यसमा ५० मेगापिक्सेल मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा र ३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ। फोनमा ६,५०० एमएएच ब्याट्री, १०० वाट हाइपरचार्ज तथा २२.५ वाट रिभर्स चार्जिङ सुविधा समावेश गरिएको छ। ४ नानोमिटर प्रविधिमा आधारित स्न्यापड्रागन ७एस जेन ४ प्रोसेसरले २.७ गिगाहर्जसम्मको गति प्रदान गर्ने कम्पनीले जनाएको छ।
धूलो र पानी प्रतिरोधका हिसाबले पोको एम८एस ५जीमा आईपी६४ र पोको एम८ प्रो ५जीमा आईपी६९के रेटिङ उपलब्ध रहेको छ।
टेलिटकका कार्यकारी निर्देशक प्रतिक जालानले नयाँ स्मार्टफोनहरूले उच्च कार्यसम्पादन, किफायती मूल्य र सहज फाइभ–जी अनुभवलाई एकैसाथ समेटेको बताए। दैनिक प्रयोगलाई लक्षित गरी आवश्यक सुविधासहितका यी उपकरणले प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय प्रविधि उपलब्ध गराउने पोकोको प्रतिबद्धतालाई थप बलियो बनाएको उनले बताए।
पोको एम८एस ५जीको ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ३७ हजार ९९९ रुपैयाँ तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४४ हजार ९९९ रुपैयाँ तोकिएको छ। यो स्मार्टफोन कालो र सेतो रंगमा उपलब्ध छ।
त्यस्तै, पोको एम८ प्रो ५जीको ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५६ हजार ९९९ रुपैयाँ रहेको छ। यो मोडेल कालो, हरियो र सिल्भर रंगमा उपलब्ध छ।
कम्पनीले सबै मोडेलमा एक वर्षको आधिकारिक वारेन्टी तथा नौ महिनासम्मको किस्ता सुविधासमेत उपलब्ध गराएको जनाएको छ। यी दुवै स्मार्टफोन टेलिटकका आधिकारिक शोरुम, विभिन्न खुद्रा विक्रेता तथा दराजमार्फत खरिद गर्न सकिनेछ।













