आईपीओ निष्कासन अघि टाइम फर्मास्युटिकल्सद्वारा रोडशो कार्यक्रम सम्पन्न « Arthapath.com
२२ असार २०८३, सोमबार

आईपीओ निष्कासन अघि टाइम फर्मास्युटिकल्सद्वारा रोडशो कार्यक्रम सम्पन्न



काठमाडौं। नेपालको औषधि उत्पादन क्षेत्रमा करिब २९ वर्षदेखि सक्रिय टाइम फर्मास्युटिकल्स लिमिटेडले योग्य संस्थागत लगानीकर्ताका लागि आइतबार काठमाडौंस्थित होटल याक एण्ड यतिमा रोडशो कार्यक्रम सम्पन्न गरेको छ।

गैँडाकोट नगरपालिका–४ मा केन्द्रीय कार्यालय तथा गैँडाकोट–१०, भैँसाखोरीमा उत्पादन उद्योग रहेको कम्पनीले आयोजना गरेको कार्यक्रममा करिब १४५ भन्दा बढी योग्य संस्थागत लगानीकर्ताका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बुक बिल्डिङ प्रक्रियाअन्तर्गत आवश्यक आशयपत्र को फारम पनि वितरण गरिएको कम्पनीले जनाएको छ। उक्त फारम निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड तथा टाइम फर्मास्युटिकल्सबाट समेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

कम्पनी सचिव तथा अधिवक्ता सुदीप घिमिरेका अनुसार बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम २०८२ चैत २४ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) र टाइम फर्मास्युटिकल्सबीच शिलबन्दी बोलपत्रसम्बन्धी कार्य सञ्चालन सम्झौता भएको थियो। त्यसपछि सम्झौताअनुसार नेप्सेको संयोजकत्वमा नेप्से, कम्पनी तथा निष्कासन तथा बिक्री प्रबन्धकका प्रतिनिधि सम्मिलित समन्वय समिति गठन गरिएको थियो।

समितिको पहिलो बैठक २०८३ असार १ गते सम्पन्न भएको थियो। सोही बैठकको निर्णयअनुसार असार ११ गते राष्ट्रिय दैनिकमा असार १९ गते रोडशो आयोजना गरिने सूचना प्रकाशित गरिएको कम्पनीले जनाएको छ। त्यसपछि समन्वय समितिको दोस्रो बैठक असार १८ गते नेप्से कार्यालयमा सम्पन्न भएको थियो।

दोस्रो बैठकले योग्य संस्थागत लगानीकर्ताले असार २२ गतेदेखि २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्ने तथा असार २९ गते ती बोलपत्र खोलिने निर्णय गरेको जानकारी दिइएको छ।

कम्पनीले आफ्नो ५३ करोड रुपैयाँ जारी पुँजीको २०.५ प्रतिशत बराबर १० करोड ८६ लाख ५० हजार रुपैयाँ मूल्यबराबरका १० लाख ८६ हजार ५०० कित्ता साधारण शेयर (आईपीओ) बुक बिल्डिङ विधिमार्फत निष्कासन गर्न लागेको हो।

कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ भने बाँकी शेयर सर्वसाधारणका लागि निष्कासन गरिने निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड ले जनाएको छ।

कार्यक्रममा कम्पनीका अध्यक्ष डा. जी. नारायणबहादुर क्षेत्रीले कम्पनीले २९ वर्षअघि १ करोड रुपैयाँ पुँजी, २५ कर्मचारी र आठ प्रकारका औषधिको उत्पादनबाट यात्रा सुरु गरेको स्मरण गराउँदै हाल ६० करोड रुपैयाँ अधिकृत पुँजी, ३५० भन्दा बढी कर्मचारी र २०० भन्दा बढी प्रकारका औषधि उत्पादन तथा बजारीकरण गरिरहेको जानकारी दिए।

उनले कम्पनीले नेपालमै पहिलोपटक क्लिनिकल ट्रायल सुरु गरेको उल्लेख गर्दै त्यसको प्रतिवेदन पनि छिट्टै सार्वजनिक हुने बताए।

कम्पनीले विभिन्न मूल्याङ्कन विधिका आधारमा प्रति शेयर औसत मूल्य ६६६.७८ रुपैयाँ निर्धारण गरेको जनाएको छ। योग्य संस्थागत लगानीकर्ताका लागि भने प्रति शेयर ६०० रुपैयाँलाई आधार मूल्य प्रस्ताव गरिएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीको वित्तीय विवरण, प्रारम्भिक विवरणपत्र तथा मूल्याङ्कन प्रतिवेदन कम्पनी तथा निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्