इसेवामार्फत ‘सहारा हेल्थ इन्स्योरेन्स’ सेवा, एक हजार ३९९ रुपैयाँबाटै स्वास्थ्य बीमा « Arthapath.com
२९ असार २०८३, सोमबार

इसेवामार्फत ‘सहारा हेल्थ इन्स्योरेन्स’ सेवा, एक हजार ३९९ रुपैयाँबाटै स्वास्थ्य बीमा



काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले शिखर इन्स्योरेन्ससँगको साझेदारीमा ‘सहारा हेल्थ इन्स्योरेन्स’ सेवा उपलब्ध गराएको छ। न्यूनतम एक हजार ३९९ रुपैयाँ प्रिमियमबाट सुरु हुने यस योजनाअन्तर्गत स्वास्थ्य तथा दुर्घटना बीमामा अधिकतम ६ लाख रुपैयाँसम्मको सुरक्षा सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकले इसेवा एपमार्फत केही मिनेटमै बीमा खरिद वा नवीकरण गर्न सक्नेछन्। यसका लागि कागजी प्रक्रिया वा बीमा कम्पनीको कार्यालयमा पुग्नुपर्ने आवश्यकता नपर्ने बताइएको छ।

बीमायोजनाअन्तर्गत ग्राहकले आफ्नो आवश्यकता र उमेरअनुसार एक लाख, दुई लाख वा पाँच लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार खर्चको बीमा छनोट गर्न सक्नेछन्। योजनाले २४ घण्टा वा सोभन्दा बढी अस्पतालमा भर्ना भई उपचार गर्नुपरेको अवस्थामा उपचार खर्च, २५ भन्दा बढी नेटवर्क अस्पतालमा नगदरहित उपचार, करिब १५० प्रकारका डे–केयर उपचार तथा उपचारअघि र पछिका योग्य स्वास्थ्य खर्चसमेत समेट्ने कम्पनीले जनाएको छ।

यसका अतिरिक्त दुर्घटना उपचारका लागि अधिकतम एक लाख रुपैयाँसम्मको सुविधा पनि उपलब्ध हुनेछ। यो योजना पाँचदेखि ६५ वर्ष उमेर समूहका व्यक्तिका लागि लागू हुने जनाएको छ।

ग्राहकले इसेवा एपको ‘इन्स्योरेन्स’ खण्डमा गई आफूलाई आवश्यक बीमा योजना छनोट गरी विवरण भरेपछि इसेवा वालेटबाट भुक्तानी गर्न सक्नेछन्। भुक्तानी सम्पन्न भएपछि बीमापत्र डिजिटल रूपमा तत्काल उपलब्ध हुने कम्पनीले जनाएको छ।

इसेवाले आकस्मिक स्वास्थ्य समस्याका कारण पर्ने आर्थिक भार कम गर्न सहज, सुलभ र डिजिटल माध्यमबाट स्वास्थ्य बीमा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको जनाएको छ।

कम्पनीका अनुसार २०२५ सेप्टेम्बरमा सेवा सुरु भएयता १० हजारभन्दा बढी ग्राहकले ‘सहारा हेल्थ इन्स्योरेन्स’मार्फत स्वास्थ्य बीमा गरिसकेका छन्। आगामी दिनमा डिजिटल वित्तीय सेवाको दायरा विस्तार गर्दै बीमा सेवामा पनि पहुँच बढाउने कम्पनीको योजना रहेको छ।


प्रतिक्रिया दिनुहोस्