नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, यस्ता छन् माग
काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन भइरहेका बेला चन्द्रागिरि नगरपालिकाका प्रभावित स्थानीयवासीले आफ्ना विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका छन्। नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिको अगुवाइमा आयोजित प्रदर्शनमा स्थानीयले सुरुङ निर्माणका कारण क्षेत्रका खानेपानीका मुहान सुक्दै गएको दाबी गर्दै त्यसको स्थायी समाधानको माग गरेका हुन्।
उनीहरूले आयोजनाले वैकल्पिक रूपमा आजीवन स्वच्छ खानेपानी उपलब्ध गराउनुपर्ने र सुरुङबाट निस्कने पानी स्थानीय उपयोगमा ल्याउने व्यवस्था गर्नुपर्ने बताएका छन्। स्थानीयवासीले आयोजना प्रभावित क्षेत्रमा सुरक्षाका लागि आकाशे पुल निर्माण, सडक पेटी विस्तार, पैदलयात्रीको सहज आवागमनका लागि पर्याप्त जेब्रा क्रसिङ र ट्राफिक बत्ती जडान गर्नुपर्ने माग पनि अघि सारेका छन्।
परियोजनाबाट प्रभावित बासिन्दालाई रोजगारीमा प्राथमिकता दिनुपर्ने पनि उनीहरूको भनाइ छ। त्यसैगरी, फ्लाइओभर निर्माणको काम शीघ्र अघि बढाएर त्यसको नाम ‘किसिपिडी फ्लाइओभर’ राख्नुपर्ने मागसमेत प्रदर्शनकारीले गरेका छन्।
सुरुङमार्ग उद्घाटन कार्यक्रममा सहभागी हुन पुगेका भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको उपस्थितिमा स्थानीयले प्लेकार्डसहित विरोध जनाएका थिए। प्रदर्शनपछि मन्त्री लम्सालले संघर्ष समितिका प्रतिनिधिसँग छलफल गर्दै उनीहरूको माग सम्बोधनका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन्।













