एक्सेल डेभलपमेन्ट बैंकको नाफा २२८ गुणा बढ्यो, सबै सूचकमा मार्यो छलाङ्ग
काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२को चौथो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि गरेको छ। खुद ब्याज आम्दानीमा सुधार हुनुका साथै इम्पेयरमेन्ट चार्ज रिभर्सलको प्रभावले बैंकको वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार देखिएको हो।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ३० करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकको खुद नाफा १३ लाख ५१२ रुपैयाँ मात्र रहेको थियो। यस आधारमा बैंकको नाफामा २२८.८४८ गुणा वृद्धि भएको देखिएको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। अघिल्लो वर्षको चौथो त्रैमाससम्म ५६ करोड ५५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष बढेर ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी पनि ८ करोड २९ लाख रुपैयाँबाट बढेर ९ करोड ५५ लाख रुपैयाँ पुगेको छ।
बैंकको वितरणयोग्य मुनाफा पनि उल्लेखनीय रूपमा सुधारिएको छ। अघिल्लो वर्ष १ करोड २६ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा यस वर्ष १७ करोड ९७ लाख रुपैयाँ धनात्मक भएको छ। चुक्ता पूँजीका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १४ रुपैयाँ ३८ पैसा कायम भएको छ, जसले शेयरधनीहरूका लागि आकर्षक लाभांशको बाटो खोलेको छ।
यस अवधिमा बैंकले १९ करोड ४२ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्सल गरेको छ, जसले नाफा वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ। साथै, बैंकको निष्क्रिय कर्जा (एनपीएल) पनि ६.६९ प्रतिशतबाट घटेर ४.५७ प्रतिशतमा झरेको छ।
बैंकको कस्ट अफ फण्ड समेत घटेको छ। अघिल्लो वर्ष ३.८७ प्रतिशत रहेको कस्ट अफ फण्ड समीक्षा अवधिमा २.८९ प्रतिशतमा सीमित भएको छ। हाल १ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७८ करोड ४१ लाख रुपैयाँ तथा रिटेन्ड अर्निङमा १७ करोड ९७ लाख रुपैयाँ रहेको छ।
प्रति सेयर सूचकहरूमा पनि सुधार देखिएको छ। समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ०.११ रुपैयाँबाट बढेर २४.७६ रुपैयाँ पुगेको छ। त्यसैगरी, प्रतिसेयर नेटवर्थ १७७.८५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १,७०६.७८ रुपैयाँ, मूल्य–आम्दानी अनुपात (पीई रेसियो) २२.६७ गुणा तथा तरलता अनुपात ३४.८४ प्रतिशत कायम भएको बैंकले जनाएको छ।













