अमेरिकाका ठूला वित्तीय संस्था ह्याकरको निशानामा, निजी इक्विटी फर्महरूमा साइबर आक्रमण
फोनमार्फत हुने ठगी र प्रविधिको जालसाजी प्रयोग गरी फिरौती असुल गर्ने ह्याकरहरूको समूहले पछिल्लो महिना अमेरिकाका प्रतिष्ठित वित्तीय संस्थाहरूलाई मुख्य निशाना बनाएको छ।
काठमाडौँ । पछिल्लो समय अमेरिकाका ठूला निजी इक्विटी फर्म र वित्तीय संस्थाहरूमाथि साइबर आक्रमण तीव्र बनेको बनेको समाचार अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले सार्वजनिक गरेको छ ।
गुगल र इन्टरनेट इन्टेलिजेन्सबाट प्राप्त तथ्यांकको विश्लेषण गर्दा फिरौती असुल गर्ने उद्देश्यले ह्याकरहरूले फोन कलमार्फत कर्मचारीलाई प्रलोभनमा पार्दै विगत एक महिनाको अवधिमा दर्जनौँ प्रमुख वित्तीय संस्था तथा व्यापारिक प्रतिष्ठानहरूलाई निशाना बनाएको खुल्न आएको छ।
यसरी निशानामा पर्नेहरूमा ब्ल्याकस्टोन, ब्रिजवाटर एशोसिएट्स, अपोलो ग्लोबल म्यानेजमेन्ट, बाइन क्यापिटल, केकेआर, टीपीजी, सीएमई ग्रुप, क्लियरलेक क्यापिटल र मुडीजजस्ता ठूला वित्तीय कम्पनीहरू तथा अन्य विभिन्न व्यापारिक संस्थाहरू रहेका छन्।
यी कम्पनीका कर्मचारीहरूको पासवर्ड चोल्ने उद्देश्यले ह्याकरहरूले विशेष किसमका वेबसाइटहरू तयार पारेको उक्त तथ्यांकमा उल्लेख छ।
विभिन्न नाममा सक्रिय ह्याकर समूह
यस ह्याकिङ अभियानका बारेमा बिहीबार एक ब्लग पोस्ट सार्वजनिक गर्दै गुगलले यी ह्याकरहरू रेड्याक्ट, पिंक, फाल्कन र हेलिक्सजस्ता विभिन्न नाममा सक्रिय रहेको जनाएको छ। यद्यपि, आफूले उठाएका विषयहरूमा भने गुगलले कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेको रोयटर्सले लेखेको छ ।
गुगलको ब्लगमा केही अज्ञात कम्पनीहरूले ह्याकरहरूलाई फिरौती बुझाएको उल्लेख गरिएको भए पनि ह्याकरहरू कुन-कुन कम्पनीको प्रणालीमा सफल रूपमा प्रवेश गर्न सके भन्ने कुरा स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
विशेषज्ञहरूका अनुसार वित्तीय क्षेत्रलाई लक्षित गर्न ह्याकरहरूले फोन कलजस्ता एकदमै सामान्य मानिने तरिका अपनाएका छन्।
यसले अत्याधुनिक सुरक्षा प्रणाली र कृत्रिम बौद्धिकतामा आधारित जोखिमहरूका बावजुद सबैभन्दा पुराना तरिकाहरू अझै पनि कति प्रभावकारी छन् भन्ने स्पष्ट पारेको छ। यदि यी प्रयासहरू सफल भएमा यसले अमेरिकी अर्थव्यवस्थाका ठूला निजी इक्विटी फर्महरूको डेटा जोखिममा पार्न सक्नेछ, जसले अन्य कम्पनीहरूलाई समेत पूँजी उपलब्ध गराउँदै आएका छन्।
मानव कमजोरीको फाइदा
रिटेल एण्ड हस्पिटालिटी आईएसएसीका साइबर थ्रेट इन्टेलिजेन्स प्रोडक्सन म्यानेजर ली क्लार्कका अनुसार आज सुरक्षाका अग्ला र महँगा पर्खालहरू निर्माण गरिएका छन्, तर गार्ड आफैँलाई ढोका खोल्न बहकाउनु पर्ने अवस्था छ।
यही मानवीय कमजोरीकै कारण यो समस्या यसरी फैलिएको उनको ठहर छ। यस विषयमा केकेआर, बाइन क्यापिटल, क्लियरलेक क्यापिटल, सीएमई, टीपीजी र अपोलोले कुनै पनि प्रतिक्रिया दिन मानेनन् भने ब्ल्याकस्टोन, ब्रिजवाटर एशोसिएट्स र मुडीजले पनि तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
अल्फाबेट अन्तर्गतको कम्पनी गुगलले आफ्नो ब्लग पोस्टमा ह्याकरहरूले हालै मात्र आफ्नो ध्यान निजी इक्विटी, कानुनी फर्म र वित्तीय रेटिङ एजेन्सीहरूतर्फ मोडेको बताएको छ। गुगलको थ्रेट इन्टेलिजेन्स ग्रुपका प्रिन्सिपल थ्रेट एनालिस्ट अस्टिन लार्सेनका अनुसार ह्याकरहरूले प्रायः वित्तीय लाभको सम्भावनालाई हेरेरै उद्योगहरूलाई लक्षित गर्ने गरेका छन् र उनीहरू यसमा सफल पनि हुने गरेका छन्।
यी फर्महरूसँग निकै संवेदनशील तथ्यांक हुने र बाहिरिएला भन्ने डरले उनीहरूले फिरौती तिर्न सक्छन् भन्ने सोच ह्याकरहरूको रहेको छ।
गुगलले आफ्ना प्रतिवेदनमा कुनै पनि लक्षित कम्पनीहरूको नाम सार्वजनिक नगरे पनि उसले सूचीकृत गरेका ७२ वटा शंकास्पद वेबसाइटहरूलाई डोमेनटूल र युआरएलस्क्यान जस्ता वेब इन्टेलिजेन्स प्लेटफर्ममार्फत परीक्षण गरी ह्याकरहरूद्वारा प्रयोग गरिएका अनलाइन पासोहरूको पहिचान भएको छ।
लार्सेनका अनुसार यी सबडोमेनहरू अनधिकृत प्रवेशको प्रयासका लागि प्रयोग गरिएका भए पनि ती सबै सफल नै भएका थिए भन्ने छैन।
सामाजिक इन्जिनियरिङ र पासो
ह्याकरहरूले निकै चलाखीपूर्ण सामाजिक इन्जिनियरिङ रणनीति अपनाएको गुगलले जनाएको छ। उनीहरूले कर्मचारीहरूको व्यक्तिगत मोबाइल नम्बरमा फोन गरी कम्पनीको हेल्पडेक्सबाट बोलेको भन्दै झुक्याउने गरेका छन्। कतिपय अवस्थामा उनीहरूले सक्कली हेल्पडेक्सकै फोन नम्बर समेत देखाउने गरेको पाइएको छ।
पासकि वा मल्टिफ्याक्टर प्रमाणिकरण अपडेट गर्न आईटी विभागबाट जरुरी निर्देशन आएको भन्दै उनीहरूले कर्मचारीहरूलाई पासकी हेल्पडेक्स वा सेक्युर पासकीलगायतका डोमेन नाम भएका नक्कली वेबसाइटहरूतर्फ डोहोर्याउने गरेका थिए।
यदि कुनै कर्मचारीले निर्देशन पालना गरेर आफ्नो पासवर्ड प्रविष्ट गरे भने ह्याकरहरूले फोनमै लाइभ कुराकानी गर्दै टेक्स्ट वा एपमार्फत आउने सुरक्षा पासकोडसमेत हात पारेर कल सकिनु अगावै उनीहरूको अकाउन्ट आफ्नो नियन्त्रणमा लिने गर्दथे। लार्सेनले यो तरिकालाई अति उन्नत वा जटिल भन्नु गलत हुने बताउँदै यो केवल अत्यधिक प्रभावकारी रहेको बताए।
फेरिँदै नाम, फैलिँदो दायरा
कालोफाइल नामले समेत चिनिने रेड्याक्टले आफ्नो डार्कनेट वेबसाइटमा आफ्ना ह्याकरहरू राजनीतिक वा नैतिक रूपमा प्रेरित नरहेको र अहिले प्रेससँग कुनै कुरा गर्न नचाहेको उल्लेख गरेको छ। फाल्कनले पनि रेड्याक्टसँगको आवद्धता स्वीकार गरेको तर हेलिक्स वा पिंकसँग आफ्नो कुनै साइनो नरहेको दाबी गरेको छ।
लार्सेनका अनुसार यी ह्याकरहरू खासमा को हुन् र उनीहरूबीचको आपसी सम्बन्ध कस्तो छ भन्ने अझै स्पष्ट छैन। उनीहरूले फरक-फरक नाम प्रयोग गरे पनि उनीहरूको भौतिक संरचना भने एउटै रहेको देखिन्छ। ब्लुमबर्गले यसअघि केही प्रयासहरूको रिपोर्टिङ गरिसकेको छ भने यो घटनाले वाल स्ट्रिटमा हलचल ल्याएको छ।
यस विषयमा जानकारी राख्ने एक स्रोतका अनुसार पोइन्ट सेभेन्टु टु एसेट म्यानेजमेन्टले बुधबार आफ्ना लगानीकर्ताहरूलाई ह्याकरहरूको निशानामा परेको जानकारी गराएको थियो। साथै, रोयटर्सले समीक्षा गरेको तथ्यांकमा टु सिग्मा इन्भेस्टमेन्ट र सिटाडेलजस्ता अन्य हेज फन्डहरूलाई पनि लक्षित गर्ने प्रयास गरिएको पाइएको छ। यस सम्बन्धमा टु सिग्माले कुनै प्रतिक्रिया दिएको छैन भने सिटाडेल र पोइन्ट सेभेन्टु टुले टिप्पणी गर्न अस्वीकार गरेका छन्।
गुगलको ब्लग पोस्ट र तथ्यांक अनुसार वित्तीय संस्थाहरूतिर ध्यान मोड्नुअघि ह्याकरहरूको नजर अन्य थुप्रै कम्पनीहरूमाथि पनि थियो। पछिल्लो पाँच साताको अवधिमा मात्रै साइबर अपराधीहरूले राइड-हेलिङ कम्पनी उबर, अनलाइन ब्रोकर जिलो, जिन्स ब्राण्ड लेभाइ स्ट्राससहित पल हेस्टिंग्स र ग्रीनबर्ग ट्राउगिरजस्ता थुप्रै कानुनी फर्महरूसँग जोडिएका दुई सयभन्दा बढी कम्पनीहरूका लागि डिजिटल पासो थापेको तथ्यांकबाट देखिएको छ।
यस विषयमा उबर, जिलो, पल हेस्टिंग्स र लेभाइ स्ट्रासले कुनै प्रतिक्रिया दिएका छैनन् भने ग्रीनबर्ग ट्राउगिरले भने ग्राहकको डेटा र फर्मको सुरक्षाका लागि आफूहरूसँग कडा सुरक्षा प्रोटोकलहरू रहेकाले ‘डेटा ब्रिच’ नभएको स्पष्ट पारेको छ।













