कर्णाली विकास बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ
काठमाडौं। कर्णाली विकास बैंकसँग जोडिएको आर्थिक अनियमितता तथा बैंकिङ कसुरको अनुसन्धानका क्रममा तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा बैंकका पूर्वसीईओ शाह, उनकी श्रीमती शुभेक्षा श्रेष्ठ र कर्णाली विकास बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन्। उनीहरूलाई नेपालगन्जबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बैंकसँग सम्बन्धित आर्थिक अनियमितता तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । बैंकको कर्जा हिनामना भएको तथा अपचलन भएपछि बैंक संकटमा परेको थियो । जसको कारण नेपाल राष्ट्र बैंकले समस्याग्रस्त समेत घोषणा गरेको छ । साथै अहिले नेपाल राष्ट्र बैंकले नै व्यवस्थापन गरिरहेको छ ।













