२९ श्रावण २०८३, शुक्रबार

आईजीआई प्रुडेन्सियलको बीमा कोष ७ अर्ब नाघ्यो, प्रतिसेयर आम्दानी र अन्य वित्तीय सूचक कस्ता छन् ?



काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा आईसीआई प्रुडेंशियल इन्स्योरेन्स लिमिटेडको बीमा कोष र खुद बीमा शुल्क आर्जनमा उत्साहजनक प्रगति देखिएको छ।

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको मुख्य व्यवसाय अर्थात् खुद बीमा शुल्क आर्जन ६.६८ प्रतिशतले बढेर १ अर्ब ४५ करोड ३० लाख रुपैयाँ पुगेको छ।

यसैगरी, कम्पनीको बीमा कोषमा ८३.१६ प्रतिशतको विशाल उछाल आएर ७ अर्ब ८० करोड २२ लाख रुपैयाँ पुगेको छ।

व्यवसाय र कोषको आकार बढे पनि कम्पनीको खुद नाफामा भने भारी गिरावट आएको छ। अघिल्लो वर्षको असार मसान्तसम्म ३६ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा समीक्षा अवधिमा ९८.८९ प्रतिशतले खुम्चिएर ४० लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ।

कुल आम्दानी ३.६५ प्रतिशतले बढेर २ अर्ब २५ करोड ११ लाख रुपैयाँ पुगे तापनि कुल खर्च ३६.१८ प्रतिशतले बढेर २ अर्ब ३९ करोड़ ९२ लाख रुपैयाँ पुगेका कारण नाफामा ठूलो दबाब परेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ८.९४ प्रतिशतले घटेर २ अर्ब २४ करोड २९ लाख रुपैयाँमा झरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २९ लाख रुपैयाँ कायम रहेको छ। यता, नाफा घटेसँगै कम्पनीको सञ्चित मुनाफा ८८.०६ प्रतिशतले घटेर १ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ भने महाविपत्ति जगेडा २.०७ प्रतिशतले बढेर ९ करोड ७७ लाख रुपैयाँ पुगेको छ।

नाफामा आएको उच्च गिरावटका कारण कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) मा भारी गिरावट आएको छ। अघिल्लो वर्ष १२.०५ रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा घटेर मात्र ०.१३ रुपैयाँ कायम भएको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १७९.५३ रुपैयाँ रहेको छ भने यस अवधिमा कम्पनीले कुल २ लाख ३७ हजार ७०८ वटा बीमालेख जारी गरेको छ।