२९ श्रावण २०८३, शुक्रबार

नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्क १ अर्ब १२ करोड नाघ्यो, बीमा कोष र पुँजी बढ्दा अन्य सूचक कस्ता छन् ?



काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद बीमा शुल्क आर्जन र बीमा कोषमा उत्साहजनक प्रगति देखिएको छ।

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको मुख्य व्यवसाय अर्थात् खुद बीमा शुल्क आर्जन १८.१५ प्रतिशतले बढेर १ अर्ब १२ करोड ३० लाख रुपैयाँ पुगेको छ।

यसैगरी, कम्पनीको बीमा कोष २३.१८ प्रतिशतले वृद्धि भई २ अर्ब ४१ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने चुक्ता पुँजी ३४.७८ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ कायम भएको छ।

व्यवसाय र कोषको आकार बढे पनि कम्पनीको खुद नाफामा भने गिरावट आएको छ। अघिल्लो वर्षको असार मसान्तसम्म ४५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा समीक्षा अवधिमा ६०.७८ प्रतिशतले घटेर १७ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको कुल आम्दानी ६.०९ प्रतिशतले बढेर १ अर्ब ५५ करोड ७१ लाख रुपैयाँ पुगे तापनि कुल खर्च ३६.१२ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ पुगेका कारण नाफामा दबाब पर्न गएको हो।

समीक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी २९.२८ प्रतिशतले बढेर १ अर्ब २६ करोड ९१ लाख रुपैयाँ पुगेको छ। यता, लगानीबाट हुने आम्दानी २६.०५ प्रतिशतले घटेर २० करोड ७९ लाख रुपैयाँमा झरेको छ।

नाफा घटेसँगै कम्पनीको सञ्चित मुनाफा ६४.८१ प्रतिशतले घटेर ५ करोड ७३ लाख रुपैयाँमा सीमित भएको छ भने महाविपत्ति जगेडा ५.६९ प्रतिशतले बढेर ११ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

नाफामा आएको गिरावटका कारण कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) मा पनि प्रभाव परेको छ। अघिल्लो वर्ष १६.७४ रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा घटेर ५.०० रुपैयाँ कायम भएको छ।

यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १७६.८५ रुपैयाँ रहेको छ भने यस अवधिमा कम्पनीले कुल २ लाख २२ हजार ७४१ वटा बीमालेख जारी गरेको छ।