३० श्रावण २०८३, शनिबार

राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापारमा सामान्य वृद्धि तर खुद नाफा ऋणात्मक, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । गत आर्थिक वर्ष राष्ट्रिय जीवन बीमा कम्पनीकाे जीवन बीमा कोषको आकार १४.९३ प्रतिशतले बढेको छ।

शनिबार प्रकाशित गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण अनुसार असमर मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा ७१ अर्ब ४७ करोड ९५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ६२ अर्ब १९ करोड २७ लाख रुपैयाँ थियो।

यस्तै कम्पनीको कुल बीमाशुल्क आर्जन १.४० प्रतिशतले बढेर ९ अर्ब ७७ करोड ३१ लाख रुपैयाँ पुगेकाे छ। अघिल्लो वर्षमा कम्पनीले ९ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १.५८ प्रतिशतले बढेको छ।कम्पनीले गत आर्थिक वर्षमा ९ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ९ अर्ब ५६ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यता गत आर्थिक वर्षमा कम्पनीले २ करोड ३८ लाख घाटा व्यवहोरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कम्पनीले २ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। शेयरपुँजी १८ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १३.१५ रुपैयाँले ऋणात्मक रहेको छ।

समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ४ करोड १ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ३ अर्ब ६८ करोड ८१ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष महाविपत्ति कोषमा ३ करोड १४ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ३८ करोड ३६ लाख रुपैयाँ थियो।