३० श्रावण २०८३, शनिबार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ३३ करोड ७८ लाख , व्यवसायमा १८ प्रतिशतले वृद्धि



काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरणअनुसार कम्पनीको बीमा व्यवसाय विस्तार भए पनि खुद नाफामा भने उल्लेख्य गिरावट आएको छ। कम्पनीले समीक्षा अवधिमा ३३ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ५३ करोड २३ लाख रुपैयाँको तुलनामा ३६.५३ प्रतिशत कम हो।

नाफामा कमी आए पनि कम्पनीको बीमा व्यवसायको आकार भने बढेको छ। समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो बीमाशुल्क ४ अर्ब ९ करोड ५२ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कुल बीमाशुल्क आर्जन १८.३४ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन ९.७४ प्रतिशतले बढेर २ अर्ब २१ करोड ७९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २ अर्ब २ करोड १० लाख रुपैयाँ रहेको थियो।

कम्पनीको बीमा कोषको आकार पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बीमा कोष १६.१० प्रतिशतले वृद्धि भई ४ अर्ब ४७ करोड ५७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको अन्त्यमा यस्तो कोष ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा स्पेसल रिजर्भमा २ अर्ब ८ करोड २१ लाख, महाविपत्ति कोषमा ९ करोड ९० लाख, रिटेन्ड अर्निङमा २७ करोड ४७ लाख तथा अन्य इक्विटीमा ३९ करोड २६ लाख रुपैयाँ रहेको छ।

नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। अघिल्लो वर्ष २१.२९ रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा १३.५१ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २१३.९४ रुपैयाँ रहेको छ भने पीई रेसियो ३८.४८९ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।