३० श्रावण २०८३, शनिबार

हिमालयन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष र व्यापारमा आकर्षक छलाङ, ३१ करोड ७७ लाखमा खुम्चियाे नाफा



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सकाे जीवन बीमा कोषको आकार १६.२१ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण अनुसार समिक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषमा ८९ अर्ब ४१ करोड ५० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ७६ अर्ब ९४ करोड १५ लाख रुपैयाँ थियो।

यसैगरी, समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ५.८४ प्रतिशतले बढेर १८ अर्ब ६९ करोड १६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले १७ अर्ब ६६ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। यस्तै, खुद बीमाशुल्क आर्जन पनि ६.१७ प्रतिशतले बढेर १८ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष १७ अर्ब २६ करोड रुपैयाँ रहेको थियो।

व्यापारमा वृद्धि देखिए पनि कम्पनीको खुद नाफामा भने गिरावट आएको छ। समीक्षा वर्षमा कम्पनीले ३१ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.९० प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ शेयर पुँजी रहेको यस कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (इपीएस) घटेर ३ रुपैयाँ ४८ पैसामा झरेको छ। अघिल्लो वर्ष यस्तो इपीएस ५ रुपैयाँ ९८ पैसा रहेको थियो। यसैगरी, ९२.५९ गुणा पीई रेसियो रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ३१ पैसा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा ४७ करोड २२ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड ६४ लाख रुपैयाँ सञ्चित रहेको छ भने अन्य इक्विटी २ अर्ब १३ करोड ७ लाख रुपैयाँले ऋणात्मक रहेको छ।