सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘क्लब अचिभर्स इभेन्ट २०८३’ भव्यताका साथ सम्पन्न गरेको छ। ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिप काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीको क्लब योजनामा उत्कृष्ट प्रदर्शन गर्ने बीमा सल्लाहकारलाई सम्मान तथा प्रोत्साहन गरिएको हो।
कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरतकुमार तोदी र केशवराज केसी तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेसहित उच्च व्यवस्थापन समूहको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केडियाले देशका विभिन्न स्थानबाट कार्यक्रममा सहभागी क्लब सदस्य तथा सफल बीमा सल्लाहकारलाई स्वागत गर्दै कम्पनीप्रति देखाएको विश्वास र व्यवसाय विस्तारमा पुर्याएको योगदानका लागि आभार व्यक्त गरे।
प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बीमा सल्लाहकारहरू कम्पनीको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको योगदानलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए।
त्यस्तै, कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले जीवन बीमा व्यवसायमा टिमको महत्वबारे चर्चा गर्दै सहकार्य र टिमवर्कमार्फत सफलता हासिल गर्न सकिने बताए।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नि क्लब, आकाश क्लब, ग्यालेक्सी क्लब र कस्मस क्लबका योजना सञ्चालन गरेको छ। यी क्लबमा सहभागी हुन व्यक्तिगत कोड तथा टिम व्यवसायअन्तर्गत तोकिएको न्यूनतम बीमाशुल्क संकलनको लक्ष्य पूरा गर्नुपर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।
तोकिएको लक्ष्य पूरा गर्ने बीमा सल्लाहकारलाई क्लब सदस्यता प्रदान गरी कार्यक्रममा सहभागी गराइएको थियो। कार्यक्रममा क्लबका सबै सहभागी तथा देशभरबाट व्यक्तिगत कोड र टिम व्यवसायअन्तर्गत उत्कृष्ट तीनमा पर्न सफल बीमा अभिकर्तालाई सम्मान गरिएको थियो।
कार्यक्रममा सन् २०१० की मिस नेपाल सदिक्षा श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन्। चर्चित गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी तथा हास्यकलाकार सुन्दर खनालले प्रस्तुति दिँदै कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए। कार्यक्रममा विभिन्न सांस्कृतिक तथा नृत्य प्रस्तुतिसमेत समावेश गरिएको थियो।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणालीको सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमा जोड दिँदै आएको जनाएको छ।
कम्पनीका अनुसार हाल उसले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गरिरहेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी तथा लगानी २७ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। कम्पनीमा १७ हजारभन्दा बढी बीमा अभिकर्ता सक्रिय रूपमा कार्यरत छन्।













