वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा बढ्यो, कुन बैंकको अवस्था कस्तो छ?
काठमाडौँ। बैंकिङ क्षेत्रको वासलातमा चम्किने नाफाका अङ्कहरूले बाहिरबाट बजारको सुन्दर चित्र देखाइरहेका बेला त्यो चम्किलो आवरणभित्र नेपाली वित्तीय क्षेत्रले भने एउटा गहिरो चुनौतीको सामना गरिरहेको छ। विगत केही वर्षयता सुस्ताएको देशको समग्र अर्थतन्त्र, खुम्चिएको व्यापार व्यवसाय र बजारको घट्दो मागका कारण बैंकहरूले लगानी गरेको साँवा ब्याज समयमै फिर्ता आउन छाडेको छ।
व्यापार बढेपछि ऋण तिरौँला भनेर आशामा बसेका ऋणीहरू बैंकको किस्ता तिर्न नसक्ने अवस्थामा पुगेका छन् भने बैंकहरूले राखेको धितो लिलामी गर्न खोज्दा पनि बजारमा खरिदकर्ता नहुँदा ती सम्पत्तिहरू अचल बनेर थन्किएका छन्। पैसा थुप्रिएर बैंकका भल्टहरू भरिभराउ छन्, तर बजारमा नयाँ सुरक्षित लगानीको वातावरण नहुँदा त्यो तरलता पनि बैंकहरूका लागि बोझजस्तै बनेको छ।
अझ एकातिर नयाँ कर्जाको माग ठप्प हुनु र अर्कोतिर विगतमा आक्रामक रूपमा विस्तार गरिएको कर्जा असुल हुन नसक्नुले बैंकिङ प्रणालीभित्रको जोखिमलाई झन् बढाएको छ।
लिलामीका सूचनाहरू दैनिक पत्रपत्रिकामा भरिए पनि धितो सस्तोमा समेत नबिक्नुले बैंकहरूलाई आफ्नै सम्पत्ति जोगाउन सकस परेको छ। यही दोहोरो मारका कारण कागजी रूपमा बैंकहरू नाफामै देखिए पनि उनीहरूको वास्तविक सम्पत्तिको गुणस्तर भने द्रुत गतिमा खस्कँदै गएको छ।
यसैको प्रत्यक्ष असरस्वरूप अहिले वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल)को ग्राफ निरन्तर उकालो लागिरहेको छ। विगतमा १-२ प्रतिशतको सुरक्षित घेराभित्र सीमित रहने निष्क्रिय कर्जा अहिले औसतमै ५ प्रतिशतको जोखिमपूर्ण विन्दु नाघ्न पुगेको छ।
यस्तो छ बैंकहरुको कर्जा जोखिमको अवस्था
वाणिज्य बैंकहरुले पछिल्लो समय सार्वजनिक गरेका विवरणहरुमा बैंकहरूको नाफामा सुधार देखिए पनि कर्जा असुलीमा आएको सुस्ती र धितो बिक्रीमा देखिएको कठिनाइले बैंकिङ क्षेत्रमा खराब कर्जाको दबाब बढ्दै गएको छ।
बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार अधिकांश वाणिज्य बैंकको निष्क्रिय कर्जा अनुपात अघिल्लो वर्षको तुलनामा बढेको छ। २० वटा वाणिज्य बैंकको तथ्यांकअनुसार निष्क्रिय कर्जाको औसत अनुपात ५.४४ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा औसत ४.६० प्रतिशत थियो।
निष्क्रिय कर्जाको अनुपात सबैभन्दा उच्च प्रभु बैंकमा देखिएको छ। बैंकको एनपीएल २०८३ असारसम्म १५.५५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ७.०१ प्रतिशतभन्दा उल्लेख्य बढी हो।
एनआईसी एशिया बैंकको एनपीएल ९.२६ प्रतिशत पुगेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.६६ प्रतिशत र हिमालयन बैंकको ७.९६ प्रतिशत पुगेको छ। कुमारी बैंकको एनपीएल पनि ७.४६ प्रतिशत पुगेको छ।
त्यस्तै, प्राइम कमर्सियल बैंकको एनपीएल ६.६९ प्रतिशत रहेको छ। सिटिजन्स बैंकको ५.८८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.२३ प्रतिशत र ग्लोबल आईएमई बैंकको ४.९६ प्रतिशत पुगेको छ। एनएमबी बैंकको एनपीएल ४.८९ प्रतिशत रहेको छ।
नबिल बैंकको ४.२० प्रतिशत, नेपाल बैंकको ४.१८ प्रतिशत र कृषि विकास बैंकको ४.०७ प्रतिशत एनपीएल रहेको छ। माछापुच्छ्रे बैंकको ३.९८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.९५ प्रतिशत र सिद्धार्थ बैंकको ३.५३ प्रतिशत रहेको छ।
केही बैंकले भने अघिल्लो आर्थिक वर्षको तुलनामा एनपीएल घटाएका छन्। नेपाल एसबीआई बैंकको एनपीएल ३.३५ प्रतिशतबाट घटेर २.९२ प्रतिशतमा आएको छ। सानिमा बैंकको ३.०१ प्रतिशतबाट २.८७ प्रतिशतमा झरेको छ। नबिल बैंकको ४.४८ प्रतिशतबाट ४.२० प्रतिशत र नेपाल बैंकको ४.५६ प्रतिशतबाट ४.१८ प्रतिशतमा आएको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको एनपीएल २.०३ प्रतिशत रहेको छ।
बैंकहरूको वित्तीय विवरणअनुसार २०८३ असारसम्म सबैभन्दा कम एनपीएल एभरेस्ट बैंकको रहेको छ। बैंकको एनपीएल अनुपात ०.४९ प्रतिशत छ।
कुन बैंकको जोखिम कति ?

यी तथ्यांकहरु हेर्दा केही बैंकहरूमा खराब कर्जा दोहोरो अङ्कको नजिक वा सोभन्दा माथि पुगेकाले निष्क्रिय कर्जा व्यवस्थापनमा अब ढिला गर्न नहुने स्पष्ट संकेत गरिसकेको छ। वित्तीय विवरणहरूमा नाफाको आँकडा सकारात्मक देखिए पनि खराब कर्जाको यो वृद्धिले नेपाली बैंकिङ क्षेत्रभित्र रहेको गहिरो वित्तीय जोखिम र ऋणीहरूको कमजोर बनिसकेको भुक्तानी क्षमतालाई प्रस्ट पारिदिएको छ।













