हिमालयन रि-इन्स्योरेन्स २ अर्ब ३३ करोड घाटामा, खुद बीमाशुल्क आर्जन र ईपीएस दुवै घट्यो
काठमाडाैं । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब रुपैयाँभन्दा बढीको वित्तीय घाटा व्यहोरेको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा वर्षमा कम्पनी २ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ घाटामा गएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने कम्पनीले १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको कुल बीमाशुल्क आर्जनमा समेत संकुचन आएको देखिन्छ। गत वर्ष कम्पनीले ६ अर्ब ३६ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको ६ अर्ब ८६ करोड २३ लाख रुपैयाँको तुलनामा ७.१८ प्रतिशतले कम हो।
त्यसैगरी कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ५.६९ प्रतिशतले घटेर ६ अर्ब १ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो आर्जन ६ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ रहेको थियो।
१० अर्ब ८६ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको स्पेसल रिजर्भ १ अर्ब ४३ करोड ५ लाख रुपैयाँ र महाविपत्ति कोष १४ करोड ४४ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष स्पेसल रिजर्भमा १ अर्ब ९६ करोड ६८ लाख रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड ८० लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ३ अर्ब २८ करोड ६ लाख रुपैयाँले ऋणात्मक बनेको छ, जबकि अघिल्लो वर्ष यो ८२ करोड ७६ लाख रुपैयाँ धनात्मक थियो।
यस्तै शेयर प्रिमियम शीर्षकमा ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ सञ्चित रहेको छ । अन्य इक्विटी भने अघिल्लो वर्ष १८ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेकोमा समीक्षा वर्षमा २७ करोड ६६ लाख रुपैयाँ पुगेको छ।
कम्पनी ठूलो रकम घाटामा गएसँगै यसको प्रतिशेयर आम्दानी (ईपीएस) मा भारी गिरावट आएको छ। अघिल्लो वर्ष १२.७९ रुपैयाँ धनात्मक रहेको ईपीएस समीक्षा वर्षमा २१.५० रुपैयाँ ऋणात्मक बनेको छ। त्यसैगरी असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११५.५८ रुपैयाँ कायम रहेको छ।














