वैकल्पिक मार्गबाट जोडियो धादिङबेसीको सडक सम्पर्क
बाढीले फुर्केखोला पुल बगाएपछि ठप्प बनेको धादिङ सदरमुकामको यातायात सम्पर्क वैकल्पिक मार्गको प्रयोगसँगै पुनस् सञ्चालनमा आएको छ।
काठमाडाैँ । त्रिशूली नदीकाे बाढीले पृथ्वी राजमार्गसँग धादिङको सदरमुकाम धादिङबेसी जोड्ने फुर्केखोला पुल बगाएपछि पूर्ण रूपमा टुटेको यातायात सम्पर्क अब वैकल्पिक सडकबाट जोडिएको छ।
पुलको नामोनिसानै नरहने गरी आएको बाढीले जिल्ला सदरमुकामसँगको सडक सम्बन्ध विच्छेद गराएपछि स्थानीय प्रशासन र सडक विभागले तत्कालै वैकल्पिक मार्गको खोजी गरेका थिए। जसअनुसार मासटारबाट क्युरिनटार हुँदै त्रिशूली नदीको दायाँ किनारबाट धादिङबेसी छिर्ने नयाँ सडक मार्ग तयार पारिएको हो।
सङ्घीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौंका प्रमुख सञ्जय नेपालले दिएको जानकारी अनुसार बाढीले पुल ‘वास आउट’ गरेपछि उत्पन्न असहज परिस्थिति छिचोल्न मासटार–क्युरिनटार खण्डको विकल्प रोजिएको हो।
त्रिशूली नदीमा रहेको पुलको प्रयोग गरेर नदीको दायाँ किनारतर्फबाट धादिङबेसी जोड्ने मार्गलाई अहिले यातायातका लागि खुलाइएको छ। शुक्रबारदेखि नै दुईवटा विशेष मेसिन र सडक डिभिजन नुवाकोटका प्राविधिकहरूको टोलीलाई युद्धस्तरमा खटाएर यो सडक सञ्चालनमा ल्याइएको हो।
साना सवारीको आवागमन सुरु
नयाँ वैकल्पिक मार्ग सञ्चालनमा आएलगत्तै अहिले धादिङबेसीसम्म साना सवारीसाधनहरू चल्न थालेका छन्। बाढीले थुपारेको लेदो, हिलो र बिग्रिएका सडक खण्डहरूमा ढुङ्गा बिछ्याएर तथा आवश्यक ठाउँमा ग्राभेल राखेर गाडी गुड्ने वातावरण बनाइएको छ। खोला र खोल्सीहरूमा पानी नरोकिने गरी ढुंगा मिलाएर अस्थायी रूपमा गाडी तार्ने व्यवस्था मिलाइएको छ।
हाललाई साना सवारी साधनहरूको आवागमन सहज भए पनि ठूला र भारी गाडीहरूका लागि यो बाटो अझै पूर्ण सहज भइसकेको छैन। बाढीले पूर्ण रूपमा क्षति पुर्याएका र हिलो भरिएका केही अप्ठ्यारा खण्डहरूमा सुधारको काम अझै जारी छ।
सडकका विभिन्न खण्डमा ग्राभेलको आवश्यकता देखिएकाले नजिकैका स्रोतहरू पहिचान गरेर हिलो पन्छाउने र सतह बलियो बनाउने काम भइरहेको छ। प्राविधिक टोलीले निरन्तर श्रम र मेसिनको प्रयोग गरी सडकलाई थप मजबुत र सुरक्षित बनाउने प्रयास गरिरहेको छ।













