२१ भदौ २०८३, आइतबार

मौलिक संस्कृतिभित्र लुकेका आर्थिक सम्भावना : सांस्कृतिक अर्थतन्त्रको बलियो आधार ‘देउडा’



काठमाडौँ। ‘सुदूरपश्चिम प्रदेश’ धेरैले साहित्यिक शैलीमा ‘सुन्दर पश्चिम’ भनेर चिनाउने यो भूगोल भाषा, कला, संस्कृति र प्राकृतिक विविधताका हिसाबले नेपालका अन्य क्षेत्रभन्दा फरक पहिचान बोकेको प्रदेश हो। हिमालदेखि पहाड र तराईसम्म फैलिएको सुदूरपश्चिमलाई पृथक बनाउने धेरै विशेषता छन्। तीमध्ये देउडा यहाँको सबैभन्दा बलियो मौलिक सांस्कृतिक पहिचानमध्ये एक हो।

सुदूरपश्चिमेली जनजीवन, चाडपर्व, मेलापात, कृषि कर्म, सामाजिक सम्बन्ध र धार्मिक आस्थासँग देउडा गहिरोसँग जोडिएको छ। विशेषगरी गौरा, जात्रा, विवाह, रोपाइँ–कटाइ, मेला तथा अन्य सामाजिक अवसरमा देउडा खेल र गीतले सामूहिक जमघटलाई जीवन्त बनाउने गरेको छ।

तर देउडाको महत्व सांस्कृतिक र सामाजिक पक्षमा मात्र सीमित छैन। बदलिँदो डिजिटल युगमा यसलाई व्यवस्थित रूपमा संरक्षण, प्रवर्द्धन र बजारसँग जोड्न सके देउडा सुदूरपश्चिमको सिर्जनात्मक अर्थतन्त्र, पर्यटन र स्थानीय रोजगारीको एउटा महत्वपूर्ण आधार बन्न सक्ने सम्भावना छ।

मेलापात र कृषि कर्मबाट विकसित देउडा

सुदूरपश्चिमका संस्कृतिविद्हरूका अनुसार देउडा शब्द ‘देव’ र ‘डाँडा’ शब्दबाट विकसित भएको मान्यता छ। प्राचीन समयमा देवस्थल र डाँडाकाँडामा सामूहिक रूपमा देउडा गाउने चलन रहेको बताइन्छ।

समयक्रममा देउडा मानिसको दैनिक जीवन र श्रमसँग जोडिँदै गयो। वनजंगलमा घाँस, दाउरा, पिरोल, पतेला तथा अन्य मेलापात गर्न जाँदा थकान कम गर्न गीत गाउने परम्परा विकास भयो। पछि यही अभ्यास सामूहिक रूपमा देउडा खेलका रूपमा विस्तार भयो।

असारमा रोपाइँका बेला काम गर्दागर्दै देउडा गाउने चलन पनि यसको श्रमसँगको सम्बन्धको उदाहरण हो। बैतडी लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा अहिले पनि रोपाइँका क्रममा देउडा गाउने परम्परा कतिपय ठाउँमा जीवित छ।

यसरी हेर्दा देउडा सुरुदेखि नै केवल मनोरञ्जन थिएन। श्रम, सामाजिक सम्बन्ध, सामूहिकता र सांस्कृतिक जीवनसँगै यसको विकास भएको थियो।

देउडाको अर्को महत्वपूर्ण विकास धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै भयो। देवस्थलमा मानिसहरू सामूहिक रूपमा भेला हुँदा देवीदेवतालाई प्रसन्न पार्ने तथा सामूहिक आस्था प्रकट गर्ने माध्यमका रूपमा पनि देउडा गाइन्थ्यो।

यसैक्रममा गौरा, जात्रा लगायतका स्थानीय धार्मिक तथा सांस्कृतिक पर्वमा देउडाले महत्वपूर्ण स्थान बनायो। देउडा गीत मात्र रहेन, ‘देउडा खेल’ का रूपमा स्थापित भयो। गोलो घेरा बनाएर पाइलामा पाइला मिलाउँदै खेलिने देउडामा महिला र पुरुष दुवैको सहभागिता हुन्छ। यसमा धार्मिक पहिचानसँगै सामाजिक र मनोरञ्जनात्मक पक्ष पनि जोडिएको छ।

सवाल–जवाफमा लुकेको लोकबौद्धिकता

देउडाको सबैभन्दा मौलिक विशेषता यसको सवाल–जवाफ शैली हो। देउडियाले तत्काल सवाल उठाउँछन् र अर्को पक्षले तत्कालै जवाफ दिन्छ। यसलाई ‘सवाल–जवाफ देउडा’ वा ‘दोहोरा’ पनि भनिन्छ। उदाहरणका रूपमा देउडामा यस्तो सवाल–जवाफ सुनिन्छ—

सवाल:
आकाशका तारा कति ? धर्तीका गाई कति ?
राम जी का चेला कती ? सीताका भाइ कति ?

जवाफ:
आकाशका तारा जति, धर्तीका गाई नाई
राम जी का लव–कुश, सीताका भाइ नाई

देउडाका गीत तत्कालै सिर्जना हुने भएकाले यसलाई मौखिक साहित्यको महत्वपूर्ण अंग मानिन्छ। सरल शब्दभित्र गहिरो अर्थ, व्यङ्ग्य, भावना र तत्कालीन परिस्थितिलाई समेट्ने क्षमता देउडाको विशेषता हो। धर्म र संस्कृतिदेखि प्रेम, विछोड, प्रकृति, राजनीति, गरिबी, सामाजिक विकृति, वैदेशिक रोजगारी र समसामयिक घटनासम्मका विषय देउडामा सहजै प्रवेश गर्छन्।

यही कारण देउडाको सवाल–जवाफ निश्चित विषय वा सीमाभित्र बाँधिँदैन। एउटा सवालबाट सुरु भएको गीत अर्को विषयमा पुग्न सक्छ। विषय जहाँ पुगे पनि त्यसलाई तत्काल सिर्जना र प्रस्तुत गर्ने क्षमता देउडियाको बौद्धिक कौशल मानिन्छ।

विशेषगरी गौरा पर्वमा देउडा व्यापक रूपमा खेलिन्छ। गौराका अवसरमा गाउँ–गाउँ र टोल–टोलमा मानिसहरू जम्मा भएर रातिसम्म देउडा खेल्ने परम्परा अहिले पनि कतिपय ठाउँमा देखिन्छ। त्यसैगरी दशैँ–तिहार, स्थानीय देवीदेवताका जात्रा, विवाह, व्रतबन्ध, रोपाइँ–कटाइ तथा विभिन्न स्थानीय मेलामा पनि देउडा गाउने र खेल्ने गरिन्छ।

यी सांस्कृतिक जमघटले सामाजिक सम्बन्धलाई बलियो बनाउने मात्र होइन, स्थानीय स्तरमा आर्थिक गतिविधि सिर्जना गर्ने सम्भावना पनि बोकेका हुन्छन्।

देउडा र स्थानीय अर्थतन्त्रको सम्बन्ध

देउडा कार्यक्रमलाई केवल सांस्कृतिक गतिविधिका रूपमा हेर्दा यसको आर्थिक पक्ष ओझेलमा पर्छ। तर एउटा देउडा कार्यक्रम वरिपरि हुने खर्च र कारोबारलाई हेर्ने हो भने यसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्न सक्छ। कार्यक्रममा बाहिरबाट मानिस आउँदा होटल, रेस्टुरेन्ट, यातायात, स्थानीय पसल, खानाका परिकार र हस्तकलासम्मको कारोबार बढ्छ। त्यसले स्थानीय अर्थतन्त्रका विभिन्न तहमा कारोबार सिर्जना गर्छ। यही पक्षलाई व्यवस्थित गर्न सके देउडा सांस्कृतिक पर्यटनको आधार बन्न सक्छ।

सुदूरपश्चिम प्राकृतिक सौन्दर्यका दृष्टिले पनि समृद्ध छ। खप्तड, शुक्लाफाँटा, अपी–नाम्पा संरक्षण क्षेत्र, विभिन्न धार्मिक स्थल तथा ऐतिहासिक क्षेत्र प्रदेशका पर्यटनका आधार हुन्। तर पर्यटकलाई कुनै ठाउँतर्फ आकर्षित गर्न प्राकृतिक दृश्य मात्र पर्याप्त हुँदैन। स्थानीय संस्कृति, खानपान, संगीत, नृत्य र जीवनशैली पनि पर्यटन अनुभवको महत्वपूर्ण हिस्सा हुन्।

त्यसैले देउडालाई पर्यटनसँग जोड्न सकिने ठूलो सम्भावना छ। पर्यटन गन्तव्यमा नियमित देउडा प्रस्तुति, सांस्कृतिक साँझ, देउडा महोत्सव, स्थानीय खानाको प्रदर्शनी तथा हस्तकलासँग जोडिएका कार्यक्रम सञ्चालन गर्न सके पर्यटकको बसाइ अवधि र स्थानीय खर्च दुवै बढाउन सकिन्छ। यसले कलाकारलाई आम्दानी दिने मात्र होइन, होटल व्यवसायी, यातायात व्यवसायी, स्थानीय उत्पादक, खाद्य व्यवसायी र साना उद्यमीलाई समेत लाभ पुर्‍याउन सक्छ।

देउडा केन्द्रित ठूला सांस्कृतिक कार्यक्रम र महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सके ती स्थानीय अर्थतन्त्र चलायमान बनाउने माध्यम बन्न सक्छन्। महोत्सवमा स्थानीय कलाकारको प्रस्तुति मात्र नभई स्थानीय उत्पादन, परिकार, हस्तकला, कृषि उपज तथा पर्यटन गन्तव्यको प्रचार गर्न सकिन्छ। बाहिरबाट आउने दर्शक तथा पर्यटकका कारण होटल र यातायात व्यवसायमा कारोबार बढ्न सक्छ। स्थानीय युवाले इभेन्ट म्यानेजमेन्ट, हस्पिटालिटी, फोटोग्राफी, भिडियोग्राफी लगायतका क्षेत्रमा काम पाउन सक्छन्। यसरी एउटा सांस्कृतिक कार्यक्रमले सिर्जनात्मक अर्थतन्त्रदेखि स्थानीय सेवा क्षेत्रसम्म रोजगारी र कारोबारको शृंखला निर्माण गर्न सक्छ।

देउडालाई बजारसँग जोड्ने कुरा गर्दा यसको मौलिकता जोगाउने चुनौती पनि उत्तिकै महत्वपूर्ण छ। लोकसंस्कृतिको व्यवसायीकरण हुँदै गर्दा नयाँ प्रयोग हुनु स्वाभाविक हो। तर लोकप्रिय बनाउने नाममा देउडाको मौलिक भाषा, लय, सवाल–जवाफ शैली र सांस्कृतिक सन्दर्भ कमजोर हुँदै गएमा आर्थिक लाभसँगै सांस्कृतिक क्षति पनि हुन सक्छ। त्यसैले देउडाको व्यवसायीकरणको उद्देश्य यसको मौलिक स्वरूप परिवर्तन गर्नु नभई मौलिकतालाई नयाँ पुस्ता र नयाँ बजारसम्म पुर्‍याउनु हुनुपर्छ।

डिजिटल प्लेटफर्मले खोल्दैछ नयाँ बजार

केही वर्षअघिसम्म देउडाको मुख्य दर्शक सुदूरपश्चिममै सीमित थिए। अहिले मोबाइल र इन्टरनेटको पहुँच विस्तार भएसँगै अवस्था परिवर्तन भएको छ। युट्युब, फेसबुक, टिकटक लगायतका डिजिटल प्लेटफर्ममार्फत देउडा गीत र प्रस्तुति सुदूरपश्चिमबाहिर मात्र होइन, देश–विदेशमा रहेका नेपालीसम्म पुग्न थालेका छन्।

वैदेशिक रोजगारी, अध्ययन तथा अन्य कारणले विदेशमा रहेका सुदूरपश्चिमेलीका लागि देउडा आफ्नो जन्मभूमि र पहिचानसँग जोडिने माध्यम पनि बनेको छ। यसले देउडाका लागि नयाँ डिजिटल बजार सिर्जना गरेको छ। देउडाबाट नै करिअर बनाएका सुदुरपश्चिमका देउडिया युवा जेआर भट्ट, भानुभक्त जोशी लगायतलाई यसको प्रत्यक्ष उदाहरणका रुपमा लिन सकिन्छ।

गुणस्तरीय गीत, म्युजिक भिडियो, वृत्तचित्र, डिजिटल कार्यक्रम तथा प्रत्यक्ष प्रसारणमार्फत देउडालाई व्यवस्थित सामग्रीका रूपमा विकास गर्न सकिए विज्ञापन, स्पोन्सरसिप, स्ट्रिमिङ तथा कार्यक्रममार्फत आम्दानीको सम्भावना बढाउन सकिन्छ।

देउडाको संरक्षणको कुरा गर्दा कलाकारको आर्थिक अवस्थालाई पनि केन्द्रमा राख्नुपर्ने देखिन्छ। वर्षौँदेखि देउडा गाउँदै आएका कलाकारले संस्कृति जोगाउने काम गरिरहेका छन्। तर धेरै अवस्थामा उनीहरूको सिर्जना र श्रमले पर्याप्त आर्थिक प्रतिफल पाउन सकेको छैन।

कलाकारको सिर्जनालाई पेशा बनाउन सक्ने वातावरण निर्माण नगरेसम्म नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न कठिन हुन सक्छ। त्यसका लागि कलाकारको पारिश्रमिकको सम्मान, कपिराइट संरक्षण, डिजिटल आम्दानीको उचित व्यवस्थापन, कार्यक्रमको व्यावसायिकता र नयाँ प्रतिभालाई प्रशिक्षण आवश्यक हुन्छ।

संस्कृति बचाउन कलाकार बचाउनुपर्छ, र कलाकार बचाउन उनीहरूको श्रमलाई आर्थिक मूल्य दिनुपर्छ।

स्थानीय सरकारदेखि निजी क्षेत्रसम्मको लगानी आवश्यक

देउडाको आर्थिक सम्भावनालाई वास्तविकतामा बदल्न स्थानीय सरकार, प्रदेश सरकार, निजी क्षेत्र र कलाकारबीच सहकार्य आवश्यक छ। स्थानीय तहले देउडालाई पर्यटन तथा सांस्कृतिक योजनासँग जोड्न सक्छन्। नियमित सांस्कृतिक कार्यक्रम, देउडा महोत्सव, कलाकार अभिलेखीकरण, प्रशिक्षण र डिजिटल अभिलेख निर्माण गर्न सकिन्छ।

निजी क्षेत्रले स्पोन्सरसिप, इभेन्ट म्यानेजमेन्ट, डिजिटल कन्टेन्ट प्रोडक्सन र पर्यटन प्याकेजमार्फत लगानी गर्न सक्छ। त्यस्तै कलाकारलाई डिजिटल मार्केटिङ, कपिराइट, ब्रान्डिङ तथा व्यवसाय व्यवस्थापनसम्बन्धी ज्ञान दिन सके उनीहरूले आफ्नो सिर्जनाबाट दीर्घकालीन आम्दानी लिन सक्ने अवस्था बन्न सक्छ।

देउडा आजसम्म मुख्यतः समुदायले आफ्नै बलमा जोगाउँदै आएको संस्कृति हो। तर अब यसलाई संरक्षणसँगै आर्थिक सम्भावनाका रूपमा हेर्ने समय आएको छ। यसको अर्थ देउडालाई केवल पैसा कमाउने साधन बनाउनु होइन। बरु कलाकारको श्रमलाई मूल्य दिने, स्थानीय रोजगारी सिर्जना गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, स्थानीय उत्पादनको बजार विस्तार गर्ने र मौलिक संस्कृति नयाँ पुस्तासम्म पुर्‍याउने आर्थिक संरचना निर्माण गर्नु हो।

सुदूरपश्चिममा पर्यटनको ठूलो सम्भावना हुँदाहुँदै पनि त्यसबाट स्थानीय समुदायले अपेक्षित आर्थिक लाभ लिन नसकेको बहस भइरहन्छ। यस्तो अवस्थामा देउडाजस्तो स्थानीय सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्न सक्नु नयाँ अवसर हुन सक्छ। देउडा सुदूरपश्चिमको शान र आत्मा हो। यो गीत र खेलमा मात्र सीमित छैन; यसमा यहाँको भाषा, इतिहास, श्रम, प्रेम, पीडा, संघर्ष, धार्मिक आस्था र सामाजिक चेतना समेटिएको छ। अब यसको अर्को पक्ष पनि खोजिनुपर्छ, यसले अर्थतन्त्रमा कति योगदान गर्न सक्छ?

कलाकारको आय, सांस्कृतिक कार्यक्रम, पर्यटन, होटल तथा रेस्टुरेन्ट, यातायात, स्थानीय उत्पादन, हस्तकला, डिजिटल सामग्री र रोजगारीलाई एउटै शृंखलामा जोड्न सके देउडा सुदूरपश्चिमको सांस्कृतिक अर्थतन्त्रको बलियो आधार बन्न सक्छ। त्यसैले देउडालाई जोगाउनु भनेको केवल एउटा लोकसंस्कृति जोगाउनु होइन। यसलाई सही ढंगले विकास गर्न सके सुदूरपश्चिमको पहिचान जोगाउँदै स्थानीय आम्दानी र रोजगारी सिर्जना गर्ने अवसर पनि जोगाउनु हो।