२१ भदौ २०८३, आइतबार

भारतमा रोयल इनफिल्ड हिमालयन ४४० सार्वजनिक, १० वर्षपछि पुरानो डिजाइनको नयाँ अवतार



काठमाडौँ। अटो पारखीहरूका लागि एउटा खुसीको खबर आएको छ ! रोयल इनफिल्डले  आफ्नो बहुचर्चित एड्भेन्चर राइडरहरूको पहिलो रोजाइ ‘हिमालयन’ बाइक भारतीय बजारमा प्रवेश गरेको १० वर्ष पूरा भएको ऐतिहासिक सफलताको अवसरमा सार्वजनिक गरेको छ- ‘हिमालयन ४४०’।

भारतीय बजारमा यसको सुरुवाती मूल्य २ लाख २९ हजार भारु निर्धारण गर्दै कम्पनीले बुकिङसमेत खुला गरिसकेको छ। हाल बिक्रीमा रहेको हिमालयन ४५० भन्दा यो अझ सस्तो र किफायती विकल्पका रूपमा बजारमा आएको हो।

पहिलो पुस्ताको क्लासिक हिमालयनको झल्को दिने गरी बनाइएको यो नयाँ मोडलका सुरुवाती उत्पादन युनिटहरूमा  कम्पनीले १० वर्षको वार्षिकोत्सव झल्काउने विशेष ब्याज दिएको छ।

नयाँ हिमालयन ४४० मा ४४३ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कूल्ड, लङ्ग स्ट्रोक इन्जिन प्रयोग गरिएको छ। यसले २५.४ बीएचपी पावर र ३४ एनएम टर्क पैदा गर्छ।

सबैभन्दा महत्त्वपूर्ण परिवर्तन भनेको यसपटक इन्जिनलाई नयाँ ६-स्पिड गियरबक्ससँग जोडिएको छ, जसले लामो दूरी र हाइवेको यात्रालाई झनै सहज र आरामदायी बनाउने अपेक्षा गरिएको छ।

कच्ची बाटो र अप्ठ्यारा मोडहरूका लागि यसको बनावट निकै मजबुत छ। २२० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, अगाडि २१ इन्च र पछाडि १७ इन्चका स्पोक ह्विलले यसलाई साँचो अर्थमा जुनसुकै गन्तव्य जित्न सक्ने एड्भेन्चर बाइक बनाएको छ।

आधुनिकता र सुरक्षामा पनि रोयल इनफिल्डले कुनै सम्झौता गरेको छैन। यसमा एलईडी हेडलाइट, डिजिटल-एनालग क्लस्टर, ट्रिपर नेभिगेसन पोड र मोबाइल चार्जका लागि टाइप-सी यूएसबी पोर्ट दिइएको छ।

ब्रेकिङका लागि अगाडि ३०० एमएम र पछाडि २४० एमएम डिस्क ब्रेकका साथ ड्युअल च्यानल एबीएस छ। अफ-रोडिङ गर्दा पछाडिको एबीएस बन्द गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ।