२८ भदौ २०८३, आइतबार

स्ट्रेट अफ हर्मुजदेखि लाल सागरसम्म: के तेल बजारले इरानसँगको अनन्त युद्ध धान्न सक्ला ?



काठमाडौँ। अमेरिका-इरान युद्ध धेरैको अनुमानभन्दा धेरै लम्बिएको छ। युद्ध सुरु भएको ६ महिना बितिसक्दा पनि कच्चा तेल जसरी भए पनि आफ्नो गन्तव्यमा पुगिरहेकै छ र विश्वव्यापी इन्धन बजारले अहिलेसम्म पूर्ण रूपमा घुँडा टेकेको भने छैन।

वैकल्पिक मार्गको प्रयोग, सञ्चित तेलको भण्डार र विश्वव्यापी रूपमा घटेको मागका कारण यो अस्थायी बन्दोबस्त टिकिरहेको भए पनि, यो ‘अनन्त युद्ध’ को रूपमा लम्बिरहँदा विश्व अर्थतन्त्रको हालत के होला भन्ने गम्भीर प्रश्न उब्जिएको छ।

बजारले इतिहासकै सबैभन्दा ठूलो आपूर्ति धक्काको सामना गरिरहँदा यसका पछाडि मुख्यतया तीनवटा विश्वव्यापी कारणहरू छन्। पहिलो, स्ट्रेट अफ हर्मुजको विकल्पमा साउदी अरेबियाले पाइपलाइन प्रयोग गरिरहेको छ भने अमेरिका, भेनेजुएला, ब्राजिल, गुयाना र क्यानडाले संयुक्त रूपमा आफ्नो उत्पादन दैनिक करिब २० लाख ब्यारेलले बढाएका छन्।

दोस्रो, विश्वका देशहरूले आपत्कालीन अवस्थाका लागि जोगाएको तेलको भण्डारलाई अझै पूर्ण रूपमा रित्तिएको छैन। तेस्रो, विश्वभर महँगी बढेपछि मानिसहरूले यात्रा कटौती गरेका छन्, विद्युतीय सवारी साधनतर्फ आकर्षण बढाएका छन् र चीनको आर्थिक सुस्तताले पनि मागलाई कृत्रिम रूपमा नियन्त्रणमा राखेको छ।

लाल सागरको नयाँ भूमरीले थपेको सङ्कट

यद्यपि बजारले अहिलेसम्म धानिरहेको छ, तर यसका कमजोर कडीहरू टुट्दै गएका छन्। स्ट्रेट अफ हर्मुजपछि लाल सागर क्षेत्रमा पनि युद्ध चर्किँदै गएपछि आपूर्ति अवरोधको गम्भीर चिन्ता उत्पन्न भएको छ।

अहिले लाल सागरमा इरान समर्थित हुथी समूहले महत्त्वपूर्ण टापु पेरिम कब्जा गरेको दाबी गरेको छ, जसले एसिया र युरोप जोड्ने बाबुएल-मन्देब जलघाँटीलाई विभाजन गर्छ।

हुथीले साउदी अरबका जहाजलाई निशाना बनाउने चेतावनी दिएको छ भने यता इराकबाट साउदी अरबको तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणपछि साउदीले आफ्नो मुख्य पाइपलाइन समेत बन्द गरेको छ। यसले साउदीको ऊर्जा पूर्वाधार र समग्र आपूर्तिमा गम्भीर दबाब सिर्जना गरेको छ।

अमेरिका, चीनजस्ता शक्तिशाली देशहरूसँग ठूलो तेल भण्डार भए पनि नेपालजस्ता साना र आयातमुखी अर्थतन्त्र भएका देशहरूसँग यस्तो सुरक्षा कवच छैन ।

यदि यी भण्डारहरू पूर्ण रूपमा रित्तिए र लाल सागरको यो अवरोध लम्बियो भने, आपूर्ति र मागको चरम असन्तुलनले नेपाललगायत विकासोन्मुख देशहरूमा महँगीको सुनामी ल्याउनेछ। ढुवानी खर्च र इन्धनको मूल्य बढ्दा नेपालमा दैनिक उपभोग्य वस्तुदेखि यातायात र उत्पादन लागतसम्म आकाशिन पुग्नेछ, जसले आम उपभोक्ताको जीवनयापन कष्टकर बनाउने निश्चित छ।

अबको विश्वव्यापी परिदृश्य कता जाँदैछ?

गत शुक्रबार मात्रै विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०८ डलर पुगेको थियाे । स्ट्रेट अफ हर्मुजपछि लाल सागर क्षेत्रमा पनि युद्ध चर्किँदै गएपछि आपूर्ति अवरोधको चिन्ताबीच तेलकाे मूल्य उच्च बढेकाे हाे र तर आज मूल्य केहि घट्दै ब्रेन्ट क्रुडको प्रतिब्यारेल १०४.६ र अमेरिकी कच्चा तेल (डब्लुटीआई) काे १००.५ अमेरिकी डलर आसपास कारोबार भइरहेको छ।

एस एन्ड पी ग्लोबल एनर्जीका अनुसार मध्यपूर्वको तेल उत्पादन अब छिट्टै पूर्ववत् अवस्थामा फर्कने सम्भावना छैन र विश्लेषकहरूले यसलाई ‘न्यु नर्मल’ मानेका छन्, जहाँ द्वन्द्व र समुद्री जोखिम स्थायीजस्तै बनेका छन्।

जेपी मोर्गनले यो युद्ध निरन्तर जारी रहेमा तेलको मूल्य आगामी दिनमा प्रतिब्यारेल करिब ८७ डलरको वरिपरि स्थिर हुने अनुमान गरेको छ भने, रापिडियन इनर्जी ग्रुपका अध्यक्ष बब म्याकनलीले यो द्वन्द्वले ऊर्जाको मूल्यमा दीर्घकालीन रूपमा आगो लगाउने कडा चेतावनी दिएका छन्।

समग्रमा, यो ‘अनन्त युद्ध’ को दीर्घकालीन छायाले विश्व अर्थतन्त्रलाई अनिश्चितताको कालो बादलले घेरेको छ र आगामी दिनमा इन्धन बजार थप अस्थिर बन्ने निश्चितप्रायः छ।