२८ भदौ २०८३, आइतबार

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा गौशाला प्रहरी बिटको हिरासत भवन नेपाल प्रहरीलाई हस्तान्तरण



काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त गौशाला प्रहरी बिट परिसरमा निर्माण गरिएको प्रहरी हिरासत भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

आज आयोजित एक कार्यक्रममा कम्पनीले उक्त भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो । आन्दोलनका क्रममा क्षति पुगेको संरचनाको पुनर्निर्माणका लागि नेपाल प्रहरीबाट प्राप्त अनुरोधपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले भवन निर्माण अघि बढाएको थियो ।

कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले भवन निर्माणलाई समुदाय, सार्वजनिक सुरक्षा र राज्यको सेवा प्रवाहमा निजी क्षेत्रको जिम्मेवार योगदानका रूपमा लिएको बताइन् । उनले बीमाको मूल उद्देश्य जोखिम न्यूनीकरण, सुरक्षा र भविष्यप्रतिको भरोसा निर्माण गर्नु भएकाले आगामी दिनमा पनि सुरक्षा, स्वास्थ्य, शिक्षा तथा विपद् व्यवस्थापन जस्ता सामाजिक आवश्यकताका क्षेत्रमा कम्पनीले योगदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् ।

भवन हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ, सहायक प्रमुख कार्यकारी अधिकृत सुदर्शन श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजकुमार खड्का लगायत कम्पनी तथा नेपाल प्रहरीका अधिकारीहरूको उपस्थिति थियो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पुनर्निर्मित भवनले प्रहरीलाई आफ्नो दैनिक जिम्मेवारी अझ व्यवस्थित र प्रभावकारी रूपमा निर्वाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। कम्पनीले सार्वजनिक सुरक्षा तथा समुदायको आवश्यकतासँग जोडिएका क्षेत्रमा आगामी दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत योगदान गर्दै जाने जनाएको छ ।