७९ वर्षको गौरवशाली यात्रा पूरा गर्दै नेपाल इन्स्योरेन्स ८० औं वर्षमा प्रवेश
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड आजदेखि ८०औं वर्षमा प्रवेश गरेको छ । लामो इतिहास बोकेको कम्पनीले आफ्नो ७९औं वार्षिकोत्सव पूरा गर्दै ८०औं वर्षमा प्रवेश गरेको हो ।
नेपाल बैंक लिमिटेडको स्वामित्वमा वि.सं. २००४ सालमा नेपाल माल चलानी र बीमा कम्पनी लिमिटेडको नाममा स्थापना भएको कम्पनीले उद्योग परिषद्बाट वि.सं. २००६ सालमा इजाजत प्राप्त गरेको थियो । त्यसपछि वि.सं. २०१६ सालमा नाम परिवर्तन भई नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड बनेको थियो ।
त्यसैगरी, वि.सं. २०४८ सालमा पुनः नाम परिवर्तन गरी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड कायम भएको हो । कम्पनीले बीमा ऐन २०७९, बीमा नियमावली २०८१ तथा कम्पनी ऐन २०६३ बमोजिम विगत ७९ वर्षदेखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।
८०औं वर्ष प्रवेशको अवसरमा कम्पनीले आफ्ना शेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारी, सर्वेयर, बीमा अभिकर्ता तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ । कम्पनीले आगामी दिनमा पनि सबैबाट थप सहयोग र सद्भाव प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।
हाल नेपाल इन्स्योरेन्समा २१८ कर्मचारी कार्यरत छन् भने ५४ वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन् । कम्पनीले प्रचलित ऐन, कानुन तथा नियामक निकायबाट जारी नीति–निर्देशनको पूर्ण पालना गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।















