९ आश्विन २०८३, शुक्रबार

युएईमा रहेका नेपालीले आफू बस्ने ठाउँमै पासपोर्ट डेलिभरी पाउने, दूतावास धाउनु नपर्ने



काठमाडाैं । युएईमा रहेका नेपालीले अब पासपोर्टका लागि दूतावास धाउनु पर्ने झन्झट अन्त्य भएको छ।

युएईस्थित नेपाली महावाणिज्यदूतावास, दुबैले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै नयाँ बनेर आएको राहदानी (पासपोर्ट) हुलाक सेवा मार्फत सिधै आवेदकको ठेगानामा पुर्‍याउने व्यवस्था मिलाएको हाे ।

नयाँ पासपोर्ट लिनकै लागि मात्र महावाणिज्यदूतावाससम्म धाउनुपर्दा कामबाट छुट्टी नमिल्ने, अनावश्यक समय खर्च हुने र यात्रा खर्च समेत धेरै हुने भन्दै कैयौँ सेवाग्राहीहरूले हुलाक मार्फत घरमै राहदानी डेलिभरी गराइदिन अनुरोध गर्दै आएका थिए।

सेवाग्राहीको सोही माग र समस्यालाई सम्बोधन गर्दै महावाणिज्यदूतावासले युएईको सरकारी हुलाक सेवा ‘इमिरेट्स पोस्ट’ सँग समन्वय गरी यो सुविधा सञ्चालनमा ल्याएको हो।

यो सेवा लिनका लागि राहदानी आवेदनका क्रममा बायोमेट्रिक दिने समयमै महावाणिज्यदूतावासमा डेलिभरी फाराम भरेर छाड्नुपर्नेछ। नेपालबाट नयाँ राहदानी बनेर आएपछि महावाणिज्यदूतावासले सो राहदानी डेलिभरीका लागि इमिरेट्स पोस्टलाई हस्तान्तरण गर्नेछ। त्यसपछि इमिरेट्स पोस्टले सम्बन्धित आवेदकको ठेगानामा राहदानी पुर्‍याइदिनेछ।

राहदानी डेलिभरी हुने समयमा सम्बन्धित सेवाग्राहीले इमिरेट्स पोस्टलाई डेलिभरी शुल्कबापत १५.७५ दिराम बुझाउनुपर्नेछ। महावाणिज्यदूतावासका अनुसार यो सेवा पूर्ण रूपमा ऐच्छिक हो। आवश्यक पर्ने सेवाग्राहीले मात्र यसको उपयोग गर्न सक्नेछन्।

यस नयाँ व्यवस्थासँगै युएईका विभिन्न टाढा-टाढाका क्षेत्रमा कार्यरत हजारौँ नेपाली श्रमिकहरूलाई ठूलो राहत मिल्ने विश्वास लिइएको छ।