१३ आश्विन २०८३, मंगलबार

हाथवे इन्भेष्टमेन्टको नाममा नक्कली पत्र प्रसारण, यस्तो छ कम्पनीको स्पष्टीकरण



काठमाडौं। हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो नाम, लेटरहेड, छाप तथा कम्पनी सचिवको हस्ताक्षर दुरुपयोग गरी नक्कली पत्र तयार पारेर सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा प्रकाशन गरिएको भन्दै आपत्ति जनाएको छ।

कम्पनीका अनुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) लाई सम्बोधन गरिएको, चलानी नं. ३५/८३/८४ र मिति २०८३/०६/११ उल्लेख भएको “शेयर बिक्री गर्ने सम्बन्धमा” शीर्षकको पत्र कम्पनीले जारी गरेको होइन।

प्रसारित उक्त पत्रमा कम्पनीका शेयरधनी अम्बिका प्रसाद पौडेलले आगामी तीन महिनाभित्र १५ लाख कित्ता शेयर बिक्री गर्ने मनसायबारे कम्पनीलाई जानकारी गराएको उल्लेख गरिएको थियो। तर कम्पनीले उक्त दाबी अस्वीकार गर्दै आफ्नो जानकारी तथा स्वीकृतिबिना लेटरहेड, छाप, चलानी नम्बर र हस्ताक्षरको जालसाजीपूर्ण प्रयोग गरिएको जनाएको छ।

कम्पनीले जारी गरेको स्पष्टीकरणअनुसार, उक्त विज्ञप्ति जारी हुँदासम्म पौडेलबाट नेपाल धितोपत्र बोर्डको २०८३/०५/०९ को निर्देशनबमोजिम शेयर बिक्री गर्ने मनसायसहित कुनै निवेदन, सूचना वा जानकारी कम्पनीमा प्राप्त भएको छैन।

कम्पनीले भविष्यमा शेयर बिक्रीसम्बन्धी वास्तविक सूचना प्राप्त भएमा नेप्सेको आधिकारिक सूचना प्रणाली तथा कम्पनीको आधिकारिक वेबसाइटमार्फत मात्र सार्वजनिक गरिने स्पष्ट पारेको छ। अन्य माध्यमबाट प्रकाशित सामग्रीलाई अप्रमाणित मान्न पनि कम्पनीले आग्रह गरेको छ।

कम्पनीले सञ्चारमाध्यमहरूलाई कम्पनीसम्बन्धी सूचना प्रकाशन गर्नुअघि कम्पनी सचिवालयबाट यकिन गर्न, नक्कली पत्र आफ्नो प्लेटफर्मबाट हटाउन तथा कम्पनीको स्पष्टीकरण समान प्राथमिकताका साथ प्रकाशित गर्न आग्रह गरेको छ।\