स्वास्थ्य बीमा ऐन संशोधन विधेयक कानुन मन्त्रालयमा, विपन्नको उपचार खर्च राज्यले बेहोर्ने
काठमाडौँ।स्वास्थ्य बीमा ऐन संशोधन विधेयक कानुन मन्त्रालयमा पुगेको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी तथा आर्थिक रूपमा दीर्घकालीन बनाउन तयार गरिएको ऐन संशोधन विधेयक स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको हो।
आवश्यक कानुनी प्रक्रिया टुंग्याएपछि उक्त विधेयकलाई छिट्टै संघीय संसद्मा दर्ता गर्ने मन्त्रालयको तयारी छ। प्रस्तावित मस्यौदामा बीमाको योगदान रकम संकलन गर्ने प्रक्रिया र अस्पतालहरूलाई उपचार सेवाबापत दिइने भुक्तानी संयन्त्रलाई थप व्यवस्थित बनाउने विषयलाई मुख्य प्राथमिकता दिइएको छ।
यसअन्तर्गत निजामती तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगारकर्मी र आम नागरिकलाई अनिवार्य रूपमा बीमाको दायरामा समेट्ने तथा आर्थिक रूपमा योगदान गर्न नसक्ने विपन्न वर्गको उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिने व्यवस्था समेटिएको छ।
अनुचित दाबीलाई कडाइका साथ नियन्त्रण गरिने
त्यसैगरी, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायतका निकायबाट प्रवाह हुने स्वास्थ्य उपचार सुविधाहरूलाई एकीकृत गरी समन्वय कायम गर्ने अवधारणासमेत अघि सारिएको छ।
सेवाग्राहीका लागि प्रक्रिया सरल बनाउने, सेवाप्रदायक स्वास्थ्य संस्थाको संख्या विस्तार गर्ने र उपचारका नाममा हुने अनावश्यक परीक्षण तथा अनुचित दाबीलाई कडाइका साथ नियन्त्रण गर्ने प्रावधानहरू पनि विधेयकमा समावेश छन्।
संशोधनको गृहकार्यकै सिलसिलामा बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको अध्यक्षतामा सरोकारवाला निकायका प्रतिनिधिसँग मन्त्रालयमा थप परामर्श भएको छ। स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोषका प्रतिनिधि सहभागी उक्त बैठकअघि पनि मन्त्री मेहताले विभिन्न चरणमा सरोकारवालाहरूसँग छलफल गर्दै आएकी थिइन्।
छलफलका क्रममा मन्त्री मेहताले स्वास्थ्य बीमालाई केवल उपचार खर्च व्यवस्थापन गर्ने माध्यमका रूपमा मात्र सीमित नराखी प्रत्येक नागरिकको समग्र स्वास्थ्य सुरक्षासँग जोड्ने उद्देश्यले सुधार थालिएको स्पष्ट पारिन्।
आर्थिक अभावकै कारण कुनै पनि नागरिक आधारभूत तथा आवश्यक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने सुनिश्चितता गर्नु नै यो कानुनी तथा नीतिगत परिमार्जनको मुख्य ध्येय रहेको उनको भनाइ छ।















