युवालाई रोजगारीसँग जोड्न इटहरीमा सीप तथा रोजगार मेला सुरु
काठमाडौँ । सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ ।
इटहरीस्थित होटल सोल्टीमा ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ नारासहित आयोजना गरिएको मेलाले कोशी प्रदेशका युवालाई रोजगारीसँग जोड्ने लक्ष्य राखेको छ । रोजगारदाता र रोजगारी खोजिरहेका युवाबीच प्रत्यक्ष सम्पर्क गराउने तथा सीप विकास र तालिमबारे आवश्यक परामर्श दिने मेलाको उद्देश्य छ ।
सात दिनसम्म चल्ने मेलामा विभिन्न उद्योग, व्यापारिक प्रतिष्ठान तथा रोजगारदाताका ६५ वटा स्टल राखिएका छन् । रोजगारीको खोजीमा रहेका युवाले मेलास्थलमै पुगेर अवसर र सीपसम्बन्धी जानकारी लिन सक्नेछन् ।















